|

चितवन : केही वर्षअघि विभिन्न वस्तीमा पसेर १५ जना मान्छे मारेको चितवन निकुञ्जको ध्रुवे हात्ती फेरि सलबलाउन थालेको छ। केही दिनअघि चितवन निकुञ्जको सुकिभार पोस्टमा पोथी हात्ती जंगल लिएर गएको थियो।

त्यसपछि कसराको हात्तीसारमा देखिएको ध्रुवे अहिले भने वस्ती पस्न थालेको छ। गत राती यहाँका विभिन्न क्षेत्रमा घर भत्काएपछि मध्यवर्तीका वासिन्दा त्रसित भएका छन्। जंगली हात्ती ध्रुवेले गत राती पाँचवटा घर भत्काएको स्थानीयले बताए। 

स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आइतबार दिउँसो २ बजेबाट साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए।

त्यसैगरी घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार राती ११ बजेको समयमा हात्तीले घर भत्काएको हो।

भरतपुर महानगरपालिका- २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको नेपाल दरै उत्थान समाज, नगर समितिले जनाएको छ।

अर्यालका अनुसार राती हात्तीले घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो। उक्त हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो।

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो। दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो।

बँदेलको आक्रमणबाट घाइते

सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि उनी घाइते भएकी छन्। घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

जंगली जनावरले आक्रमण गरेको र क्षतिपूर्ति नपाएको भन्दै दराई उत्थान समाजको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन गरेका छन्।

निकुञ्जका सूचना अधिकारी अर्यालले भने घाइते अधिकारीलाई शनिबार नै क्षतिपूर्तिवापत ५० हजार रुपैयाँ दिइएको बताए। समाजले हात्तीका कारण पूर्ण रूपमा क्षति भएका घर र अन्न बालीको तत्काल उचित क्षतिपूर्ति दिलाउनुपर्ने माग गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सडक रोकिँदा यात्रुले दुःख पाएकाले भोलि बिहान ६ बजे छलफल हुने गरी हाललाई सडक नियमित गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.