|

काठमाडौं : युरोपेली लगानी बैंकले नेपालको वैकल्पिक ऊर्जा तथा ग्रामीण सडक विस्तार योजनामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ। 

नेपालको साताव्यापी भ्रमणमा रहेकी उक्त बैंककी एसिया–प्रशान्त विभाग प्रमुख एन्जिला मार्कारिनोले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख केवल भण्डारीसँग आज भएको भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। 

बैंककी विभागीय प्रमुख उनले जलविद्युत्, वैकल्पिक ऊर्जा तथा ग्रामीण सडक निर्माण जस्ता पूर्वाधार विकासका आयोजनामा बैंकले लगानी गर्न सक्ने आशय व्यक्त गरेको महाशाखा प्रमुख भण्डारीले जानकारी दिए। 

यसैबीच बैंककी विभागीय प्रमुख मार्कारिनोको सम्मानमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइतबार अपराह्न एक स्वागत समारोह आयोजना गरे। 

त्यस अवसरमा उनले चिलिमे–त्रिशूली २२० किलोभोल्ट प्रसारण लाइन, त्रिशूली थ्री बी हव सब स्टेशन परियोजना, मर्स्याङ्दी करिडोर २२० किलोभोल्ट प्रसारण लाइन परियोजना, समुद्रटार–त्रिशूली थ्री बी हव १३२ केभी प्रसारण लाइन परियोजना, १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् परियोजना, रसुवा–नुवाकोट प्रसारण परियोजना पुनर्निर्माण तथा स्तरोन्नति आयोजना, लेखनाथ–दमौली २२० किलोभोल्ट प्रसारण लाइन परियोजनाका निम्ति उक्त बैंकले २० अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराएको जानकारी दिए। 

ती परियोजनमा युरोपेली संघ, अन्तर्राष्ट्रिय सहयोगका लागि जापानी सहयोग नियोग (जाइका), एसियाली विकास बैंक, यहाँस्थित संघीय गणतन्त्र जर्मनीको राजदूतावासलगायतले आर्थिक सहायता प्रदान गरेका छन्। 

उनले युरोपेली संघ तथा जर्मन सहायता नियोगको आर्थिक सहयोग संस्था केएफडब्ल्यु विकास बैंकमार्फत् परियोजनाका निम्ति पाँच अर्ब ८० करोड रुपैयाँ अनुदान सहयोग प्राप्त भएको जनाउँदै निर्धारित समयमा ती सबै परियोजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन्। 

नेपाललाई भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सघाउन पाउनु युरोपेली संघका लागि गर्वको विषय भएको बताउँदै यहाँस्थित युरोपेली प्रतिनिधिमण्डलका विकास सहायता प्रमुख अन्ड्रेज रोटगरले नेपालको विकासका साझेदारसँग मिलेर काम गर्न पाएकामा खुसी प्रकट गर्दै नेपालको चौतर्फी विकासका लागि ऊर्जा, सडक संजालजस्ता भौतिक पूर्वाधार नेपालका निम्ति अपरिहार्य रहेकाे बताए। 

उनले नेपाल सरकारले निर्धारण गरेका सामाजिक–आर्थिक विकासका प्राथमिकताप्राप्त परियोजनामा युरोपेली संघले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.