सात महिनादेखि सुत्केरी भत्ता रोकियो

|

बाँके : बाँकेमा स्थानीय तहका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्। 

नेपालगंज उपमहानगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र नरैनापुर गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका कर्मचारीले दुई महिनाको तलब भत्ता पाएका छैनन् भने राप्ती–सोनारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तीन महिनाको तलब नपाएको गुनासो गरेका छन्।  

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीका लागि पठाएको रकम अपुग भएपछि तलब भत्ता नपाएको नेपालगंज उपमहानगरपालिकाका स्वास्थ्य इन्चार्ज केशव गौतमले बताए। ‘स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई तलब खुवाउन उपमहानगरपालिकाको खातामा रकम छैन भन्ने कुरा आएको छ’, उनले भने । नेपालगंज उपमहानगरपालिकामा ११ वटा स्वास्थ्य चौकीमा पाँच दर्जन बढी कर्मचारी कार्यरत छन्।

गाउँपालिकाको खातामा रकम भए पनि नयाँ जनप्रतिनिधि आएपछि नयाँ खाता संचालन गर्नुपर्ने भएकोले स्वास्थ्यकर्मीले दुई महिनाको तलब भत्ता नपाएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोइन खाँ बताउँछन्। सबै कर्मचारीले खाता खोल्नासाथ तलब भत्ता खातामा हालिने तयारी भएको उनले जानकारी दिए। ‘दुई–तीन जनाले खाता खोल्न बाँकी भएकाले तलब भत्ता खुवाउन ढिलाइ भएको छ’, उनले भने ।  

स्वास्थ्य चौकीका कर्मचारीका लागि तोकेको बजेट नआएपछि राप्ती–सोनारी गाउँपालिकाअन्तर्गत रहेका स्वास्थ्यकर्मीले पनि तीन महिनादेखि तलब भत्ता पाउन नसकेको गाउँपालिका अध्यक्ष लाहुराम थारूले बताए। उनले गाउँपालिकाको अन्य शीर्षकबाट तलब खुवाउन नमिल्ने भएकोले अप्ठ्यारोमा परेको गुनासो गरे। ‘स्वास्थ्यकर्मीलाई तलब भत्ता खुवाउन नपाउँदा हामीलाई पनि नमजा लागेको छ’, उनले भने, ‘चाहँदा चाहँदै तलब खुवाउन सकिएन।’

तर डुडुवा गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीका कर्मचारीले भने चैत महिनासम्मको तलब पाएका छन्। गाउँपालिकाले चैत महिनासम्मको तलब र भत्ता खुवाइसकेको स्वास्थ्य चौकीका अहेव खड्गबहादुर रोकाले बताए। ‘दुई–तीन दिनअघि मात्र चैत महिनासम्मको तलब र भत्ता लियौँ’, उनले भने।

यता, खजुरा गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनका कर्मचारीले चैत महिनासम्मको तलब भत्ता खाएका छन्। तर त्यहाँ कार्यरत कर्मचारीले बैशाख महिनादेखि तलब भत्ता खान नपाउने भएका छन्। 

खातामा रकम सकिएकाले गाउँपालिकाले कर्मचारीलाई तलब भत्ता खुवाउन नसक्ने जानकारी दिएको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले जानकारी दिए। स्वास्थ्यकर्मीलाई तलब खुवाउने रकम नभएको जानकारी गाउँपालिकाले दिइसकेको उनले बताए। 

उनले गाउँपालिकाले आफ्नो बजेटबाट चैत महिनाको तलब स्वास्थ्यका कर्मचारीलाई प्रदान गरेको बताए। ‘बैशाख महिनाको तलब पनि पाउने अवस्था थिएन, झुक्किएर गाउँपालिकाले आफ्नो रकमबाट तलब खुवाएको देखियो’, उनले भने। 

डुडुवामा सात महिनादेखि सुत्केरी भत्ता रोकियो

डुडुवा गाउँपालिकाको मातहत रहेका स्वास्थ्य चौकीका कर्मचारीले तलब भत्ता पाए पनि सुत्केरीले पाउने भत्ता सात महिनादेखि रोकिएको छ। उक्त गाउँपालिकामा चारवटा बर्थिङ सेन्टर छन्। 

बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाले यातायातवापत ५०० र नियमित रूपमा चार पटक गर्भ जाँच गराएवापत ४०० रुपैयाँ पाउने व्यवस्था छ। तर असोजदेखि उक्त स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाले सरकारी सुविधाबाट पाएका छैनन्। 

सुत्केरी महिलालाई प्रदान गर्ने रकम अपुग भएका कारण वितरण गर्न ढिलाइ भएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। उनले रकम आउनासाथ सुत्केरी महिलाको घरमै गएर भत्ता वितरण गरिने स्पष्ट पारे। ‘सरकारले तोकेको सुविधाबाट सुत्केरी महिलालाई वञ्चित गरिनेछैन’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.