|

डोटी : डोटीका मुक्त हलियाको जमिन खरिद गर्दा आर्थिक अनियमितता भएको भेटिएको छ। भौतिक पूर्वाधार नभएका ठाउँमा महँगो मूल्यमा जमिन खरिद गराएर आर्थिक अनियमितता गरेको पाइएको हो।

मुक्त हलियाका लागि यातायात, शिक्षा, विद्युत्, स्वास्थ्य, रोजगारी र अन्य आय-आर्जनका अवसरहरुको पहुँच भएको ठाउँमा जमिन किन्नुपर्ने मुक्त हलिया पुनर्स्‍थापना जिल्ला कार्यदलले निर्णय गरेको थियो। गाउँको हकमा मुक्त हलियाको कम्तीमा एक रोपनी जग्गा हुनुपर्ने निर्णयमा उल्लेख छ।

तर, यहाँका १८ जना मुक्त हलियाले पूर्वाधार नै नभएको ठाउँमा मापदण्डले तोकेभन्दा धेरै कम जमिन खरिद गरेको भेटिएको छ। मालपोत कार्यालय डोटीको तथ्यांकअनुसार साविकको बगलेक गाविस-४ मा रहेको जग्गामा बसोवास गर्ने भनी १८ मुक्त हलिया परिवारले १२ आनाका दरले जमिन खरिद गरेका हुन्। उनीहरूले घर निर्माणका लागि पहिलो किस्ताबापतको ७० प्रतिशत रकमसमेत बुझिसकेका छन्। 

मुक्त हलिया पुनःर्स्थापना तथा वृत्ति विकास कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार मुक्त हलियाहरुले रोजेको ठाउँ बसोवासका लागि उपयुक्त भए-नभएको कुरा मालपोल कार्यालयले स्थलगत निरीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ। 

मुक्त हलियाहरूले रोजेको ठाउँमा जग्गा खरिद गर्न दिनुपर्ने व्यवस्था भएअनुसार उनीहरूले रोजेकै ठाउँमा खरिद गर्ने अनुमति दिइएको मुक्त हलिया पुनःर्स्थापना जिल्ला समितिका संयोजक डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। 

‘मैले पनि मुक्त हलियाहरुसँग भेटेरै कुरा गरेको थिएँ, उहाँहरुले हामी त्यसै ठाउँमा बस्छौँ भनेर मलाईसमेत निवेदन दिएपछि मैले पनि ठीकै छ भनेको हुँ,’ खत्री भन्छन्, ‘यसमा कुनै अनियमितता भएको जस्तो त लाग्दैन, तर पनि कुनै त्यस्तो प्रमाण पाए म कारबाही गर्न तयार छु।’

प्रारम्भिक विद्यालय, स्वास्थ्य चौकी, खानेपानीलगायतका अतिआवश्यक पूर्वाधारको व्यवस्था राम्रो नभएको ठाउँमा जमिन खरिद भएको छ। प्रारम्भिक विद्यालय, स्वास्थ्य सेवा र बजारका लागि झन्‍डै दुई घण्टाको बाटो हिँड्नुपर्ने समस्या छ भने खानेपानीको व्यवस्था पनि राम्रो छैन। साथै, रोजगारी र अन्य आयआर्जनका अवसर पनि देखिँदैनन्।

पूर्वाधार नभएको ठाउँमा नबस्नु भनेर आफूहरूले सम्झाउँदा पनि नमानेको बताउँछन् समितिका सदस्य सचिव तथा मालपोत कार्यालय डोटीका प्रमुख सुनिलसागर जोशी। उनी भन्छन्, ‘हामीलाई सोही ठाउँ उपयुक्त हुन्छ भनेर जिद्धी गरेपछि कार्यविधिअनुसार हामीले मान्नैपर्ने भयो।’

तर, मुक्त हलियालाई जंगलको बास बनाएर राउटे बनाउन खोजेको आरोप लगाउँछन्, डोटीमा मुक्त हलियाको अभियानका सुरुवातकर्ता गोरखबहादुर सार्की। सायल गाउँपालिका-३ का वडाध्यक्षसमेत रहेका सार्कीले भने, ‘पुनःर्स्थापना गर्ने नाममा सोझासाझा मुक्त हलियाहरुलाई अनेक प्रलोभन देखाएर जग्गा खरिद गर्न लगाइएको छ, यो दुर्भाग्य हो ।’ मुक्त हलियाका बालबालिकाहरुलाई शिक्षाबाट समेत वञ्चित गराउने षड्यन्त्र भएको उनको भनाइ छ।

जंगलमा बस्दैनौँ

गत वर्ष ३७ मुक्त हलिया परिवारका लागि सोही जमिन खरिद गरी नमुना मुक्त हलिया बस्ती बसाउने जिल्ला समितिको योजना थियो। जग्गा खरिद गर्ने प्रक्रिया सुरु भई मालपोत कार्यालयले जग्गाको स्वामित्व रहेको हनुमान हर्टिकल्चरको नाममा ७८ लाख रुपैयाँको चेकसमेत तयार गरिसकेको थियो। यद्यपि, मुक्त हलियाले आफूहरू जंगलमा नबस्ने भन्दै विरोध गरेपछि जमिन खरिद प्रक्रिया रोकिएको थियो।

तर, गत चैत्रमा सोही जमिन खरिद गर्न गत वर्ष विरोध जनाउनेमध्ये १८ जनाले लिखितम् निवेदन दिए। जग्गाधनीले अनेक हत्कण्डा अपनाएर आफूहरूलाई उक्त जमिन किन्न बाध्य बनाएको एक खरिदकर्ताले बताए। नाम उल्लेख नगर्ने सर्तमा ती व्यक्तिले भने, ‘हाम्रा नाममा धेरै ठूलो खेल हुँदोरहेछ, त्यो खेलमा सरकारी कर्मचारीहरु, मुक्त हलियाका अगुवाहरुसमेत सहभागी हुँदारहेछन्।’

यसरी छलियो एक लाख ८० हजार कर 

कानुनअनुसार ३० लाखभन्दा माथि मूल्य रहेको जमिन एकमुष्ट बिक्री गर्दा पाँच प्रतिशत लाभान्स कर तिर्नुपर्ने व्यवस्था छ। तर, मुक्त हलियालाई ३६ लाख रुपैयाँको जग्गा बेच्दा पनि लाभान्स कर नलाग्ने बाटो खोजिएको छ। जंगलको बस्ती भनेर गत वर्ष विवादमा परेको हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको जमिन, यस वर्ष कर छल्नकै लागि टुक्रा बनाएर बिक्री गरिएको छ। 

मोहन बम प्रोप्राइटर रहेको हनुमान हर्टिकल्चरले फागुन १६ गते विमला बमलाई १२ रोपनी, ६ आना, एक पैसा, दुई दाम र सहदेव खातीलाई १४ रोपनी, तीन आना जग्गा बिक्री गरेको थियो। तर, खरिद गरेको तीन हप्ता नपुग्दै बमले चार रोपनी र खातीले १३ रोपनी जग्गा चैत्र ४ गते १८ मुक्त हलियालार्इ बिक्री गरेको छ जग्गाधनीलाई कर छल्ने बाटो सिकाउने मालपोतकै कर्मचारीहरु रहेको स्रोतको दाबी छ। कानुनभित्रै रहेर भ्रष्टाचार भएको स्रोत बताउँछ।

तीन हप्तामै जग्गाको अढाई गुना मूल्य बढ्यो 

मालपोत कार्यालय डोटीको अभिलेख अनुसार फागुन १६ गते हनुमान हर्टिकल्चरले विमला बम र सहदेव खातीलाई जग्गा बिक्री गर्दा एक लाख १० हजार रुपैयाँ प्रतिरोपनीका दरले बिक्री गरेको देखिन्छ । यस आधारमा प्रतिआनाको करिब ६ हजार आठ सय रुपैयाँ हुन्छ।

उक्त जमिन खरीद गरेको तीन हप्ता पनि नबित्दै बम र खातीले १२ आना जग्गाको दुई लाख रुपैयाँका दरले मुक्त हलियालाई बिक्री गरेका छन्। यस हिसाबले प्रतिआना जग्गाको १६ हजार ६ सय रुपैयाँ पर्न आउँछ। प्लटिङ र आवश्यक पूर्वाधार निर्माण नै नगरी हनुमान हर्टिकल्चरले मह‌ँगो मूल्यमा जग्गा बेचेको देखिन्छ।

सरकारी दरअनुसार त्यस क्षेत्रमा कच्ची सडकले छोएको जग्गाको प्रतिरोपनी एक लाख १० हजार, गोरेटो-घोडेटो बाटोले छोएको प्रतिरोपनी ८५ हजार रहेको छ। मालपोतको लिखत्अनुसार मुक्त हलियाले खरिद  गरेको जमिन भिर चाहार हो। भिर चाहारको सरकारी दर प्रतिरोपनी ३५ हजार रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.