|

धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ। केही वर्षअघिसम्म गोठाला समेत जान डराउने सिम्सुवा खोलाको त्यो अनकन्टार ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्।

त्यो अनकान्टार ठाउँमा पर्यटकलाई तान्ने अरु केही नभई त्यहाँ रहेको नमस्ते झरना हो। करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा हेर्न आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ। झरना अवलोकल गर्न छिमेकी भारत र नेपालको विभिन्न स्थानबाट दैनिक करिब ४०० जना पर्यटक आउने गरेको झरना व्यवस्थापन तथा सरसफाई समितिका अध्यक्ष दिलिप लिम्बुले जानकारी दिए। उनका अनुसार शनिबार र बिदाका दिन करिब एक हजार ५०० पर्यटक आउने गरेका छन्। 

पूर्वको चर्चित पर्यटकीय केन्द्र भेंडेटारदेखि नजिकै रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्दै गएको छ । भेंडेटार घुम्न आएका विराटनगरका गोपाल नेपालले झरनामा नआएको भए भेंडेटारको यात्रा अधुरै रहने बताए। 

नमस्ते झरनामा किशोर–किशोरीदेखि उमेर ढल्किँदै गरेकाहरु पनि पुग्ने गरेको छन्। कोशी राजमार्ग नजिकै रहेकाले प्रेमिल जोडीहरुको पनि यहाँ घुइँचो लाग्ने गरेको छ। तराईमा गर्मी छल्न झरनामा पर्यटकको बाक्लो आगमन हुन गर्दछ। शैक्षिक भ्रमण, वनभोजजस्ता कार्यक्रम झरना छेउछाउमा हुने गरेका छन्।

तत्कालिन भेडेटार गाविस, जिल्ला विकास कार्यालय धनकुटा, पर्यटन कार्यालय, पूर्वी सहरी विकास डिभिजन कार्यालय धनकुटा र सिम नेपाल धरानको सहकार्यमा पर्यटक भित्र्याउने उद्देश्यले ०६७ बाट झरनालाई पर्यटकीय गन्तव्यका रुपमा सञ्चालनमा ल्याइएको हो। झरना सञ्चालनमा आएपछि स्थानीय स्तरमा उत्पादित सागसब्जी, फलफूललगायत कृषिजन्य वस्तु गाउँमै बिक्री हुन थालेको स्थानीयको भनाइ छ। 

झरनाको प्रवेशद्वार नजिकै साना ठूला गरी एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन्। झरनासम्म जाने बाटो फराकिलो छ। पर्यटन विकास कार्यालय र होटल एसोसियसन भेंडेटारले झरनाको प्रचारप्रसार र प्रवद्र्धन गरिरहेका छन्। पर्यटन विकास कार्यालयको सहयोगमा झरना नजिकै कपडा फेर्नका लागि ‘चेञ्जिङ रुम’ निर्माण गरिएको छ। नमस्ते झरना आम्दानीको स्रोत बनेको छ। झरना प्रवेश शुल्कबाट वार्षिक अढाई लाख रुपैयाँभन्दा बढस् राजस्व संकलन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.