२५ सय लिटरलाई ६ हजार रुपैयाँ

|
सुनकोशी गाउँपालिकाको बलखुमा खानेपानीका लागि लाइनमा बसेका स्थानीय

ओखलढुंगा : ओखलढुंगाका धेरैजसो स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ। एक मात्र नगरपालिका र सातवटै गाउँपालिकामा खानेपानीको समस्या बढ्दै गएको हो। 

सदरमुकामसहित जिल्लाका सबैजसो स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ। सिद्धिचरण नगरपालिकासहित मानेभञ्ज्याङ, सुनकोशी, चम्पादेवी, लिखु र मोलुङ गाउँपालिकाका अधिकांश वडामा खानेपानीको समस्या छ।

पानीको अभावले जिल्लामा पुनर्निर्माणको काम समेत प्रभावित भएको छ। खानेपानीको समस्या भइरहेको ठाउँका वासिन्दाले ट्रयाक्टरमा पानी बोकेर घर बनाउनुपर्ने बाध्यता छ।

सुनकोशीको भिरगाउँमा अहिले गाउँमा भूकम्प प्रतिरोधी घरहरु बनिरहेका छन्। सबै घर बनाउन करिब चार किलोमिटर टाढा रहेको पल्लो गाउँबाट पानी बोकेर ल्याउने गरिएको छ। पानी ओसार्दा र बालुवा किन्दा घर निर्माण महँगो भएको भूकम्प पीडितहरुको भनाइ छ। उनीहरुका अनुसार दुई कोठे घर बनाउन पाँच लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ।

२५ सय लिटरलाई छ हजार रुपैयाँ

चम्पादेवी गाउँपालिकाको वडा नम्बर १ र २ को पलापुमा पनि पानीको चरम अभाव छ। पलापुका स्थानीयहरु दुई हजार ५०० लिटर पानी पाँच हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको गुनासो पोख्छन्। खानेपानी अभाव भएकै कारण गाउँमा गाईवस्तु समेत पाल्न छाडेको चम्पादेवी गाउँपालिका–१ की शोभा पौडेल बरालले बताइन्। ‘दुई हजार ५०० लिटर पानीका लागि छ हजार ट्रयाक्टर भाडा तिर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘सुख्खा ग्रस्त क्षेत्रमा पानीको स्रोत नभएकाले पशु बचाउन समस्या भएको छ।’ वनजंगलको विनासले पानीको मुहान सुक्न थालेको गाउँलेकोे बुझाइ छ।

०७२ को भूकम्पपछि पानीको मुहान सुकेको र भएका मुहानहरु पनि यस वर्ष लामो समयसम्म खडेरीले लागकोले धारामा पानी आउन छाडेको मोलुङ गाउँपालिकाको रामपुर बजारमा होटल व्यवसाय गर्दै आएकी मनिषा राईले बताइन्। एक गाग्री पानी भर्न घण्टौं लाइनमा बस्नुपर्ने मोलुङ गाउँपालिका–२ रामपुरका स्थानीयको बाध्यता छ। 

पानीको अभावबारे आफ्नो ध्यानाकर्षण भएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले बताए। चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले पनि पालिकाभित्रका सबै स्थानमा देखिएको खानेपानी समस्या समाधानमा स्थानीय सरकार गम्भीर बनेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.