|

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे गलत रुपमा व्याख्या भएको भन्दै आक्रोश पोखेका छन्।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले 'लम्पसारवाद शब्दको अर्थ नबुझेर प्रधानमन्त्री भारतमा लम्पसार परे भनेर टिप्पणी गरेको' भन्दै असन्तुष्टी पोखेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै विगतमा कसैले त्यस्तो व्यवहार देखाए होलान् तर त्यसको आधारमा आफ्नो भ्रमणलाई अर्थ्याउन नहुने ओलीको भनाइ थियो। 'मेरो भारत भ्रमणपछि एउटा नेताले केपी ओलीको भ्रमण लम्पसारवादी भनेर भने। कसैले भ्रमण गरेर लम्पसार गरेको सम्झे होलान् त्यसैले त्यसो भने', प्रधानमन्त्री ओलीले भने, 'अहिलेको प्रधानमन्त्रीको भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हाँस्छ भन्ने कुरा बुझेनछन्। कि त लम्पसारवाद शब्दको अर्थ बुझेनन्।'

ओली राजनितिक टिप्पणीकारहरूप्रति पनि असन्तुष्ट देखिए। उनले केही टिप्पणीकारले गलत टिप्पणी गरेर जिविका चलाइरहेको समेत आरोप लगाए। उनले समाजमा बुद्धिजीवी भनेर कहलिएकाहरूले त्यसरी बोल्दा र लेख्दा देशलाई नोक्सान हुने उनको भनाइ थियो। 'आज पनि एउटा बुद्धिजीवीले कान्तिपुरमा दाँतमा धार लगाएका छन्', उनी भन्छन् ' मुसाले दाँत धार लगाउँदा थाङ्ना कपडा काटे हुन्थ्यो नि! राम्रा कपडा काटिदिन्छ, बुद्धिजीवीले देशलाई नोक्सान हुनेगरी दाँतमा धार लगाए।'

सोही प्रसंगमा उनले अगाडि भने, 'रारा कसरी महेन्द्रिय?' उनले रारा तालको भ्रमणलाई पूर्व राजासँग जोडेर महेन्द्रिय भनेर लेखेकोमा दुःख व्यक्त गरे। रारा तालको उत्पति वर्षौं पहिले भएको कुरालाई भूल्न नहुने उनको धारणा थियो। उनले भने, 'रारा ताललाई महेन्द्रिय ताल भनिदिने? महेन्द्र जन्मनुभन्दा लाखौं-करोडौं वर्ष पहिले रारा थियो। म गएर बोले भन्दैमा रारालाई नै महेन्द्रिय भन्दिने?'

उनी यत्तिमै रोकिएनन्। उनले विकासको कुरा गर्दा महेन्द्रसँग जोडिदिने गरेको बताए। एमाले अरु जस्तो दमन गरेर काम नगर्ने बताउँदै उनले जनताको मन जितेर काम गर्न समेत निर्देशन गरे। जनताको मन जितेर काम गर्न आग्रह गर्दै उनले कम्युनिस्टले जिते भने अधिनायकवाद आउँछ भनेर केही कुर्लिनेहरू अहिले पनि अधिनायकवादको कुरा गरिरहेको उनको भनाइ थियो।

उनले आफू र एमाले कर्मी मौरीजस्तै भएको दावी गरे। मौरी दुई किसिमको हुने बताउँदै उनले एमाले मिहिनेत गर्ने कर्मी मौरी भएको बताए। ओलीले आफू काम गर्ने र दुःख गर्ने संकेत गर्दै भने, 'मौरी दुई किसिमको हुन्छ। कर्मी मौरी हुन्छ जसले मह बनाउँछ दुःख गर्छ। अर्को, रानी मौरी हुन्छ जसले ठुल्ल्ठूलो आवाज निकाल्छ, अरुले बनाएर ठिक्क पारेका महलाई खाइदिन्छ। हामी कर्मी मौरी हौं।'

ओलीले एमाले देशव्यापी भएको बताए। उनले भने, 'एमाले स्विमिङ पुल जस्तो साँघुरो नभएर प्रशान्त महासागर हो, यहाँ मन लागेअनुसार पौडी खेल्नुहोस्।' उनले एमाले नेपालको सामाजिक जीवनका सबै क्षेत्रमा पुगेको पार्टी भएको बताए। त्यस्तै, एमाले विश्वका सबै देशमा पुगेको उनको भनाइ थियो। एमालेका नीति महान र उद्येश्य सशक्त भएको उनको भनाइ थियो।

उनले एमालेका नीति राष्ट्रियताका सवालमा कुनै आवेग, उत्तेजना तथा अहंकार बिना जनताका लागि भएको बताए। उनले एमालेको गन्तव्य न्यायोचित गन्तव्यमा आधारित रहेको बताए।

एमाले कसैप्रति पूर्वाग्रहमा नजाने ओलीको भनाइ थियो। उनले नेपालका समस्याको सही ढंगले पहिचान गरी त्यसको समाधानका लागि काम गर्नसक्ने हैसियत राख्ने पार्टी एमाले भएको दावी गरे।

नेकपा एमालेमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य लिला भण्डारीको नेतृत्वमा १४६ जना एमाले प्रवेश गरेका हुन्। भण्डारीले सबै पार्टी, समूहलाई एक बनाएर लैजाने क्षमता एमालेको नेतृत्वमा रहेकाले आफू एमालेमा प्रवेश गरेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.