|

कंचनपुर : शुक्लाफाँटा नगरपालिकाले अनुमतिविना आफूखुसी थप कक्षा संचालन गर्ने संस्थागत विद्यालयलाई कारवाही गर्ने भएको छ। अनुमतिविना नै चलाइएका थप कक्षा तत्काल बन्द गर्न नगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाएको छ।

नगरपालिकाको हालै बसेको बैठकले थप कक्षा र तहको स्वीकृति नदिने निर्णय गरेको छ। स्वीकृत कक्षाभन्दा माथिका कक्षा अनुमतिविनै संचालन गर्ने विद्यालयले संचालन गर्दै आएका कक्षा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाको शिक्षा शाखाका प्रमुख देवदत्त पन्तले बताए।

विद्यालय अनुगमन गरी स्वीकृत कक्षाभन्दा अरू कक्षा संचालन गरिएको पाइए प्रचलित कानुनअनुसार हदैसम्मको कारवाही हुने उनले बताए। उनका अनुसार नगरपालिकामा आधारभूत र माध्यमिक गरी २४ वटा संस्थागत विद्यालय दर्ता भई संचालनमा रहेका छन्। दर्ता भएकामध्ये छवटा विद्यालयले स्वीकृत कक्षाभन्दा थप कक्षा संचालन गर्दै आएको पाइएको छ।

पूर्व प्राथमिक कक्षाको पढाइ संचालन गर्ने संस्थागत विद्यालयले समेत कक्षा एकदेखि तीनसम्म अनुमतिविना नै कक्षा संचालन गरेका छन्। अनुमति नलिई नै कक्षा संचालन गर्ने विद्यालयको पहिचान गर्ने कार्यसमेत सुरु गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.