|

हेटौँडा : राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा कटान भएको काठ नेपाली सेनाले सोमबार हेटौँडा फुर्केचौरमा हस्तान्तरण गरेको छ। सेनाले सडकको ट्र्याक फराकिलो पार्ने क्रममा १०० मिटर क्षेत्रमा कटान भएको काठ सम्बन्धित सामुदायिक वन समूहलाई हस्तान्तरण गरेको हो।

माघबाट रूख कटानको काम गरिरहेको सेनाले चैतसम्ममा छ किलोमिटर क्षेत्रभित्र पर्ने पाँच हजार ४२८ वटा रूख कटान गरेको नेपाली सेनाका सहायक रथी भरतबहादुर खड्काले बताए। सेनाले माघ १५ गतेबाट कटानको काम सुरु गरेको बताउँदै खड्काले चैत २९ गतेसम्म अहिलेको परिमाणको काठ कटानको काम सम्पन्न भएको जानकारी दिए। ‘सडकको एलाइनमेन्ट ५०/५० मिटरभित्र पर्ने काठ कटान गरिएको छ भने कटानका क्रममा अन्य रूखमा असर नपरोस् भन्ने कुरामा पनि ख्याल गरिएको छ’, उनले भने। 

कटान गरेको काठ हेटौँडा उपमहागरपालिका- १८ का दुई र बकैया गाउँपालिकाको एक सामुदायिक वनका पदाधिकारीलाई हस्तान्तरण गरिएको छ। सेनाले हेटौँडा १८ को पञ्चकन्या सामुदायिक वनमा तीन हजार ७७०, गोरक्षनाथ सामुदायिक वनमा १७४ र बकैया- ५ को दुर्गामाई सामुादायिक वनमा एक हजार ४८४ वटा रूख कटान गरेको छ। 

मकवानपुरमा फाष्ट ट्र्याकमा रहेका १४ वटा सामुदायिक वनमा रहेको रूख कटान गर्नुपर्ने जनाइएको छ। सडक विस्तारका क्रममा मकवानपुरमा कुनै पनि अवरोध नरहेको समेत सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.