|

उदयपुर : त्रियुगा नगरपालिकाको गाईघाटमा रहेको त्रियुगा हवाई मैदानको जग्गामा अवैध रूपमा स्थानीयले बनाएको घर टहरा जिल्ला प्रशासन कार्यालय उदयपुरले भत्काउने भएको छ। सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको टोलीले अनुगमन गरी भत्काउन लागेको जानकारी दिएको हो।
‘नगरपालिकामार्फत् हामीले ३५ दिने सूचना जारी गरी घर भत्काउन लगाउँछौँ वा सुरक्षाकर्मी लगाएर तत्कालै भत्काउन लगाउँछौँ’, प्रजिअ कार्कीले भने, ‘सरकारी जग्गामा बनेका घरहरू नभत्काईकन छाड्नेछैनौँ।’

अनुगमनको क्रममा घर बनाउँदै गरेकालाई समेत नबनाउन प्रजिअले निर्देशन दिएका छन्। ‘घर बनाउँदै गरेकालाई नबनाउन भनेका छौँ’, कार्कीले भने।
अनुगमनको क्रममा भेटिएका त्रियुगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले सरकारी जग्गामा बनेका घरहरू तत्काल भत्काउन तयारी थालेको बताए। ‘आज हामी अनुमगनको क्रममा छौँ’, अधिकृत लुइँटेलले भने, ‘केही प्रक्रिया पुर्‍याएर भत्काउनेछौँ।’

२०३१ सालतिर विमानस्थल निर्माण गर्ने भनेर हवाई फिल्ड नामकरण भएको चौरमा अहिले थरूहट रंगशाला निर्माण भएको छ। बजार विस्तार हुँदै गएपछि उत्तरपट्टिको भागमा तरकारी बजार छ। पूर्वी भागमा मदन भण्डारी अतिथि सदन भवन भन्दै छ। त्यही अतिथि सदन भवनको अगाडिको भागमा रहेको जग्गा अतिक्रण गरी घर टहरा निर्माण गरिएको थियो। 

विमानस्थलको नाममा रहेको सरकारी जग्गा स्थानीयको कब्जामा परेपछि विमानस्थल बनाउन अन्यत्र सारिएको थियो। नेपाल सरकारको नाममा रहेको जग्गा अहिले अतिक्रमणको चपेटा परेको छ। केही दिनअघि स्थानीय शिव गुरागाईंले सरकारी जग्गा अतिक्रमण पर्दा पनि स्थानीय सरकार मौन बसेको आरोप लगाएका थिए। ‘नगरपालिका प्रमुख र वडा अध्यक्षलाई जानकारी दिँदा पनि बेवास्ता गरेको देख्छु’, उनले भनेका थिए, ‘स्थानीय थारू समुदायले बनाएका घर टहरामा प्रमुख, उपप्रमुख र वडा अध्यक्षले समेतले बेवास्ता गरेका हुन्।’

त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले त्यो थारू समुदायको जग्गा भएकाले थारूले कब्जा गरेको आरोप लगाएका थिए। ‘त्यो एयरपोर्टको नाममा रहेको सरकारी जग्गा थारूको हो। त्यहाँ ४३ घर थारू छन्, उनीहरूले नै बनाएका हुन्’, उनले भने। थारू समुदायले रंगशाला, अतिथि सदन भवन र तरकारी बजारको लागि जग्गा दिएको र विभिन्न कारणले विमानस्थल बन्न नसकेपछि थारूले नै थारूको जग्गामा घर टहरा बनाएको दाबी केहीअघि थाहाखबरसँग कुराकानीका भनेका थिए।

स्थानीय भन्छन् : प्रअिज कार्कीमाथि शंका छ

प्रमुख जिल्ला अधिकारी कार्कीसहितको टोलीले अनुगमन गरेर गएपछि स्थानीयले शंका व्यक्त गरेका छन्। ‘सिडिओ सा'बले समेत अनुगमन गर्नुभयो’, एक स्थानीयले भने, ‘मैले सोचेको थिएँ आजै भत्काउने रहेछन् भनेर तर नभत्काईकन हेरेर हिँड्नुभयो।’

अर्का स्थानीय रामकुन्ताराज चौधरीले नगर प्रमुख बलदेव चौधरीले थारूको नाममा अतिक्रमण गरेको सरकारी जग्गा आजै खाली हुने भएकाले दुःख लागेको बताए। ‘हामीले नै भोट दिएर जिताएका नगर प्रमुखले जग्गा नै कब्जा गरे’, उनले भने, ‘यसैमा अब सिडिओ सा'बले पनि बार्गेनिङ त गर्ने होइन?’

उदयपुर अढाई महिना प्रमुख जिल्ला अधिकारीविहीन थियो। प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेपछि कार्कीले पहिलो पटक अतिक्रमणमा परेको सरकारी जग्गा खाली गर्ने आशा जगाएको सर्वसाधारणको भनाइ छ। अबका दिनमा प्रमुख जिल्ला अधिकारीले त्रियुगा हवाई मैदानको नाममा रहेको जग्गा कसरी खाली गर्छन् भन्ने पखाइमा सर्वसाधारण बसेको स्थानीय सुजाता कार्कीको भनाइ छ। ‘यहाँ विभिन्न राजनीतिक दलका नेतादेखि केही सरकारी कर्मचारीसमेतले जग्गा बेचबिखन गरिरहेको भन्ने सुनेको छु’, उनले भनिन्, ‘यसमा प्रमुख जिल्ला अधिकारीले के गर्छन् भनेर हेर्न बाँकी छ।’

हवाई मैदान अतिक्रमणमा परेपछि यसरी भएको थियो विरोध

गाईघाट बजारको मुटुमा रहेको त्रियुगा हवाई मैदनाको जग्गा नगर प्रमुख र वडा अध्यक्षलगायतको मिलेमतोमा अतिक्रमण भएको अरोप स्थानीयको छ। एमाले उदयपुरको केही दिनअघि बसेको जिल्ला समितिको बैठकमा समेत चर्चा चलेको थियो। एमालेबाट नगर प्रमुखमा निर्वाचित बलदेव चौधरी एमाले उदयपुरका इन्चार्जसमेत हुन्।

‘बैठकमा नगर प्रमुख निर्वाचित चौधरीले एमालेको बदनाम गर्दै सार्वजानिक जग्गा हचुवाको भरमा बाँडेको आरोप लागेको थियो’, एमाले उदयपुरका एक नेताले भने, ‘हामी जिल्ला कमिटीका साथीहरूले हस्ताक्षरसहित एमाले उदयपुरको बैठकमा छलफल चलाएका थियौँ।’ यता, नेत्रविक्रम चन्द विप्लवले समेत एक विज्ञप्ति निकालेर विरोध जनाएका थिए। गाईघाटको चिया पसल, चोकचोकमा समेत विरोधको लहर चलेको थियो। 

यी पनि पढौँ

उदयपुरमा २ बिगाह सरकारी जग्गा अतिक्रमण हुँदा पनि सम्बन्धित निकायलाई छैन चासो 


जनप्रतिनिधि आएसँगै उदयपुरमा सार्वजनिक जग्गा अतिक्रमण तीव्र 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.