|

इलाम : आयोजक विरुद्ध कठिन जीत निकाल्दै मनाङ मस्र्याङदी क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

ठूलो टुँडिखेलमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मनाङले आयोजकको चुनौती १–० ले पन्छाएको हो। पहिलो हाफको ३७औँ मिनेटमा विदेशी खेलाडी काँचीले गरेको गोल नै निर्णायक बन्यो। हेमन गुरुङको फ्रिकिकलाई हेडमार्फत गोल गर्दै काँचीले मनाङलाई सेमिफाइन पुर्‍याउन सफल भए।

खेल अवधीमा पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा आयोजक क्वाटरफाइनलबाटै बाहिरिएको हो। पहिलो हाफको १९औँ मिनेटमा आयोजकका मनिस थापाले मनाङको डिफेन्स लाइन चिर्दै प्रहार गरेको बल मनाङका गोलरक्षक विशाल श्रेष्ठले बचाउ गरेका थिए। दोस्रो हाफमा मनाङका गोलरक्षक विट भएको अवस्थामा आयोजकका तीर्थ बस्नेत गोल गर्नबाट चुके। दास्रो हाफमै काउन्टरमा भएको बल आयोजकका खेलाडीले गोल पोस्टमा प्रहार गर्न सकेनन्। 

मनाङले पनि केही राम्रा अवसरहरुलाई गोलमा परिणत गर्न सकेन। खेलको तेस्रो मिनेटमा नै हेमन गुरुङको प्रहार गोलरक्षक सोजित गुरुङले बचाएका थिए। पहिलो हाफको २२औँ मिनेटमा सुवास गुरुङको प्रहार बारमा लागेर बाहिरिएको थियो। दोस्रो हाफमा हेमनको फ्रिकिकलाई काँचीले गरेको हेड देव्रे बार नजिकैबाट बाहिरिएको थियो। दास्रो हाफको ४२औँ मिनेटमा काँचीको प्रहारलाई सोजितले पन्च गर्दै बाहिर पठाएका थिए।  

मनाङ कप्तान विराज मर्हजनसहित छ जना नेपाली राष्ट्रिय टोलीका खेलाडीसहित मैदान उत्रिएको थियो भने आयोजक उमेर समूहका चार जना राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको थियो। खेलको म्यान अफ द म्याच आयोजकका तीर्थ बस्नेत घोषित भए। 

प्रतियोगिता अर्न्तगत मंगलबार दोस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झापा–११ र विभागीय टोली एपिएफ आमनेसामने हुँदैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.