|

इलाम : माईभ्याली गोल्डकपमा विभागीय टिम एपीएफ र डिफेन्डिङ च्याम्पियन झापा–११ तेस्रोपटक आमने सामने हुँदैछन्।

दुई टोली दोस्रो संस्करणको प्रतियोगिताको उपाधिका लागि भिडेका थिए। खेलमा २–० ले बाजी मार्दै झापाले उपाधि उचालेको थियो। तेस्रो संस्करणको फाइनल प्रवेशका लागिसमेत झापाले एपीएफलाई १–० ले हराएको थियो। 

पछिल्लो पटक यी दुई टोली तेस्रो मदन भण्डारी गोल्डकपको प्री– क्वार्टरफाइनलमा भेट भएका थिए। जसमा ४–२ गोल अन्तरले झापालाई हराउँदै एपीएफ क्वार्टरफाइनल प्रवेश गरेको थियो। पछिल्लो पटक उदयपुरमा सम्पन्न चौथो कटारी मेयर गोल्डकपमा संकटा क्लबलाई ट्राइबेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको थियो। एपीएफले नारायणघाटमा सम्पन्न १३ औ विकास रनिङ शिल्डमा रुस्लान थ्रीस्टारलाई १–० ले हराउँदै उपाधि उचालेको थियो। 

घरेलु मैदानमा सम्पन्न तेस्रो रमपम झापा गोल्डकपको उपविजेता हुँदा झापा सडनडेथमा त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने एपीएफ दोस्रो खप्तड गोल्डकपमा आर्मीसँग टाईब्रेकरमा ५–४ ले पराजित भएको थियो। झापा उपाधिमाथी ह्याट्रिक गर्ने उद्देश्यले मैदान उत्रिने तयारी गरेको छ भने एपीएफ झापासँग पराजयको बदला लिने लक्ष्यका साथ मैदान उत्रिँदैछ। 

झापाका तर्फबाट कर्ण लिम्बु, दिलेन लोक्ताम, देवेन्द्र तामाङ, विशाल राई ए, किरण चेम्जोङ लगायतका खेलाडीहरू सहभागी छन् भने एपीएफको तर्फबाट रञ्जन बिष्ट, रूपबहादुर लामा, नविन लामा, आदित्य चौधरी, युवराज खडका लगायतका खेलाडी सहभागी छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.