|

मुगु : रारा कर्णाली पर्यटन वर्ष, २०७५ उद्घाटन समारोहस्थल रारा ताल छेउमा एक जना सेताजु‌ंगे व्यक्ति देखिए। कालो कोट, शिरमा ढाका टोपी। चिटिक्क परेका उनको उमेर ढल्किसकेकाे लाग्छ। चुरोट तानिरहेका उनलाई एक जना अधवैँसेले पच्छयाइरहेका थिए।

हाम्रा लागि अनौठो नै महसुस भयो। ती अधवैँसेले भने, ‘अकिल सा’ब अब जाऊँ है!’ हामीले पनि ती व्यक्तिका बारेमा सोच्यौँ। उनका बारेमा जान्न खोज्यौँ। के उनी वकिल नै होलान् त? सेताजुंगेले फेरि अर्काे चुरोट सल्काउँदै आफ्नो परिचय अाफैँ दिए। आफ्नाबारेमा उनले फटाफट भनिहाले, ‘मेरो नाम गगनबहादुर मल्ल हो। म वि.सं. २००० मा मुगुको छायानाथ रारा नगरपालिका- १ को छल्यालवाडामा जन्मिएको हुँ। मैले २०२२ सालमा एउटा बाह्मण गुरुबाट १२ खरी मात्रै पढेकाे छु।’ तर उनले गाउँकै स्कुलमा दुई पटक मास्टरी काम गरेर राजीनामा पनि दिइसकेका रहेछन्।

तिनै १२ खरी पढेका गगनबहादुर अहिले मुगुका अधिकांशका नामी 'वकिल' बनेका छन्। वकिलले गर्ने काम सबै उनलाई नै लागाइरहेका छन्। गाउँलेका मुद्दा मामिला पर्दा अदालतमा लेखापढी गरिदिने सबै उनैबाट हुने गरेको छ। उसो त उनले लेखापढी गर्न पाउने अधिकार गैरन्यायिक क्षेत्रमा हो। तर मुगुमा कानुन व्यावसायी कम भएका कारणले उनले अदालतमा न्यायिक क्षेत्रमा लेखापढी गर्न पाएका हुन्। 

दुई पटक गाउँमा नै शिक्षक भएका मल्लले जिल्ला अदालत मुगुबाट २०४० सालमा लेखापढीको मान्यता लिए। उनले अदालतमा आउने मुद्दा मामिलाको लेखापढीको काम सुरु गरे। लेखापढीको कामकै कारण उनलाई जिल्लाका सर्वसाधारणले अहिले वकिल पद दिएका छन्। वकिल पद पाएका मल्लले बुढ्यौलीको जोस निकाल्दै भने, ‘त्यो जमानामा १२ खरी पढेको मानिस पनि स्कुलको मास्टर हुन्थ्यो। मैले पनि १२ खरी मात्र पढेको छु। त्यसबेला मास्टरी गरेँ तर अहिले वकिल छु।’

मल्लले कयौँ पटक सरकारी वकिलसँग विपक्षी भएर बहस पनि गरेका छन्। दुर्गम गाउँमा वकिल पढेका कोही छैनन्। सामान्य लेखापढी गर्नेले मान्यताप्राप्त वकिलले गर्ने काम गर्ने पाउँदैन। ‘तर वकिल नभएका बेला आफैँले बहस गर्ने गरेको छु। कयौँ पटक अदालतमा बहस पैरवी गर्ने गरेको छु’, उनले भने, ‘हाम्रो मुगु जिल्लामा वकिल पढेका कोही थिएनन्। अहिले पनि कोही छैनन्। एक जना वकिल पढेका शाही थिए। उनले अहिले मास्टरी गरिरहेका छन्।’ अदालतबाट लेखापढी गर्नेलाई नै मुगुमा वकिल भन्ने चलन छ। 

मल्लले आफूले अदालतमा बहस र पैरवी गरेर आफ्नै पक्षमा फैसला भएको एउटा मुद्दा अहिले पनि सम्झिन्छन्। अदालतमा त्यति बेला न्यायाधीश थिए- प्रेमबहादुर केसी। गाउँले वकिल मल्लले भने, ‘कुरा २०४७ सालको हो। जिल्ला विकास समिति मुगुले स्थानीय विकास अधिकारी (एलडिअो)लाई घुस ख्वाएर गाविस सचिव नियुक्त गर्‍यो।

एलडिअोविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भयो। एलडिअोले पनि सदरमुकामबाट घुमगाउँ आउँदै गर्दा गाउँकै चौतारामा लुटिएको आरोप लगाएर अदालतमा मुद्दा दायर गरेका थिए। ‘त्यो मुद्दामा मैले नै अदालतमा बहस गरेँ। जिल्ला अदालत मुगुले एलडिअोको विपक्षमा फैसला गर्‍यो। एलडिअो पुनरावेदन अदालत जुम्ला पुगे। त्यहाँ पनि एलडिअोको विपक्षमा फैसला भयो। एलडिअो सर्वोच्च अदालत काठमाडौं गए। त्यहाँ पनि एलडिअोकाे विपक्षमा फैसला भयो।’ 

पहिला पहिला गाउँमा पढेका मानिस थिएनन्। त्यसबेला कहिलेकाहीँ वादी र प्रतिवादी दुवै मुद्दा आफूले नै लेखिदिनुपर्ने अवस्था रहेको मल्लले बताए। ‘पहिला पहिला गाउँमा वकिल पढेका मानिस कमै हुन्थे’, उनले भने, ‘कहिलेकाहीँ त वादी र प्रतिवादीका दुवै मुद्दा आफूले नै लेखिदिनुपर्छ।’ बुढ्यौलीले छोएका मल्ल अहिले पनि अदालती मुद्दामा लेखापढी गरिरहेका छन्। 

मल्लले लेखापढी व्यावसायमा लागेर नाम र दाम दुवै कमाए। छोराछोरीलाई राम्रै स्कुलमा पढाए। अहिले दुई छोरामध्ये एउटा छोरा स्कुलमा शिक्षक, एउटा छोरा कानुन व्यावसायी र एउटी छोरी अहिले गाउँपालिकाकी उपाध्यक्ष छन्। मुगुका गाउँलेले अहिले पनि मल्ललाई 'वकिल साहेब' भनेर पुकार्ने गरेको पत्रकार कविराज कार्कीले बताए। ‘उनी अहिले पनि लेखापढीको काम गरिरहेका छन्’, उनले भने, ‘गाउँले सबैले उनलाई वकिल साहेब भनेर बोलाउँछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.