|

पूर्वी तराईको मध्यम परिवारमा जन्मेको एउटा बालक ६ वर्षको उमेरमा हजुरबुबासँगै वनारस पुग्छ। वनारसको वातावरणमा घुलमिल हुन केही समय लाग्छ। त्यहीँको विद्यालयमा भर्ना भएर पढ्न थाल्छ। हिन्दी, उर्दूभाषी साथीहरूसँगको सङ्गतले ५ कक्षामा पढ्दादेखि नै पुस्तकालय र वाचनालय जाने बानी पार्छ। यही बानीका कारण उसले किशोरावस्थामै हिन्दी, उर्दू र केही अन्य भाषाका साहित्य र दर्शनका पुस्तकहरू छिचोल्छ। बिस्तारै ऊ आफैँ साहित्यलेखनमा होमिन्छ, त्यहीँ हेलिन्छ र उत्रनै नसक्ने गरी डुब्छ- चुर्लुम्मै।

राणाकालीन समयमै हजुरबुबाले आफ्नो व्यावहारिक जिम्मेवारी आफ्ना छोराहरूका काँधमा हालिदिएर जनकपुर बस्न थाल्छन्, नातिलाई सँगै लिएर। जनकपुरका त्यसबेलाका प्रख्यात विद्वान् कुलचन्द्र गौतमको सल्लाहमा हजुरबा धर्म कमाउन वनारस जान्छन्। आफूसँगै ल्याएको नातिलाई पनि सँगै वनारस लैजान्छन्। तीन कक्षासम्म जनकपुरमै पढेपछि बाँकी वनारसमा पढ्छन्। पछि नेपाली भाषाको अध्ययन गर्ने इच्छाले पोखराको मल्टी पर्पस नेशनल हाई स्कुलमा भर्ना हुन्छन्।

ढोंगी सहरी सभ्याताप्रति उनलाई वितृष्णा छ । मान्छे जस्ताको भीड मात्र ठान्छन् सहरलाई । अथवा बुख्याँचा जस्तो, मुटु, मस्तिष्क, दया, माया, करुणा, विवेक नभएको ।

सुरुसुरुमा वनारसमै रहँदा हिन्दी, उर्दू साहित्यको अध्ययनको प्रभाव वा साथी सङ्गतको प्रभावका कारण हिन्दी भाषामा कविता, शायरी लेख्ने गरेका थिए उनले। पछि जानी नजानी गजल पनि लेख्न थाले। पान गोष्ठीहरूमा आफ्ना शायरी र गजल सुनाउन थाले। यो साहित्य लेखनको भोक झनझन बढ्दै गयो उनमा।

अचानक ११ वर्षको उमेरमा उनमा उटपट्याङ आयो- हजुरबुबाको खल्तीबाट भारु २० रुपियाँ निकालेर हिँडे। बिहारको पटना आए। त्यसपछि कता गए, केके गरे, त्यसको हिसाबकिताब निकै लामो हुन्छ। यहीँबाट उनको वास्तविक जीवनयात्रा सुरु हुन्छ- यायावर जीवन।

नेपाली साहित्यका विशेषगरी कथा र गजलका सशक्त र लोकप्रिय स्रष्टा मनु दाइ अर्थात् मनु ब्राजाकीको जीवन भोगाइ बडो विचित्रको छ। ११ वर्षको उमेरदेखि यायावर जीवन बाँचेका मनु उसबेलै भारतका प्रायः सबै क्षेत्रमा घुमे। कुनै निश्चित उद्देश्य नलिई विशुद्ध यायावरी शैलीमा हिँडेका उनको लेखनमा त्यही यायावरी जीवनका आरोह-अवरोह, त्यस जीवनमा उनले देखेको जीवन, भोगेका अनुभूति, परिवेश र पात्र पाइन्छ। वि. सं. २०६० सम्म नै उनको यस्तो यायावरी जीवन चलिरह्यो। २०६० मा 'ब्रेन स्ट्रोक' भएपछि उनको यायावरी जीवनमा केही कमी आयो भने पुनः दोस्रो पटकको स्ट्रोकपछि भने उनी हिँडडुल गर्न नसक्ने भए। यद्यपि, उनको लेखन भने निरन्तर छँदै छ।

होटलमा काम : सबैभन्दा छिटो र सजिलो

मनुले ११ वर्षकै उमेरमा हजुरबाको साथ छाडेर एक्लो घुमन्ते जीवन बिताउन थालेपछि उनका जीवनमा अनेक समस्या आए। एकातिर हजुरबाको खल्तीबाट निकालेको २० रुपियाँ भारु केही दिनमै सकियो, अर्कातर्फ भन्नेबित्तिकै काम पाइहाल्न पनि गाह्रो। अझ नयाँ ठाउँमा नचिनेका ठाउँमा कसले दया गर्छ ? यस्तो बेलामा उनले निर्णय गरे, जे काम पाइन्छ, त्यही गरिन्छ। हो, मनुले पनि भेटेजति काम गरे, काममा कुनै विभेद गरेनन् उनले। उनको अनुभवमा सबैभन्दा छिटो पाइने र सजिलो काम भनेको होटलमा भाँडा माझ्नु हो। 'होटलमा भाँडा माझ्न जहाँ पनि पाइने', आफ्नै विगतलाई व्यङ्ग्य गरेझैँ गरी मुस्कुराउँदै भने, 'पेटभरि खान र आनन्दले सुत्न पाइने।' उनले निकै समय यसरी होटलमा भाँडा माझेर बिताए।

मनु जीवनलाई सङ्घर्ष, सङ्घर्ष र फेरि पनि सङ्घर्ष मात्र ठान्छन्। निरन्तरको सङ्घर्ष अथवा सङ्घर्षको निरन्तरता नै जीवन हो भन्ने लाग्छ उनलाई। 'यद्यपि, मान्छेको परिस्थितिअनुसार सङ्घर्षका रूप फरक हुन सक्छन्', मनु भन्छन्। उनका अनुसार जीवनलाई जिउँदो छ भनेर देखाउन वा बाँचेको छु भन्ने सावित गर्न पनि सङ्घर्ष अनिवार्य हुन्छ। यस्तो सङ्घर्ष व्यक्ति स्वयंप्रतिको, समाजप्रतिको र परिवेशप्रतिको हुने उनको बुझाइ छ। र, सङ्घर्षले नै मानिसलाई अघि बढ्न वा केही नयाँ गर्नका निम्ति ऊर्जा र गति दिने उनको धारणा छ।

जीवन गाउँमा छ

मनुले आफ्नो यायावरी जीवनमा देखेको सत्य हो- जीवन गाउँमा छ। उनले जे जति ठाउँमा घुमे, त्यहाँको जीवनलाई सूक्ष्म रूपले हेरे। जीवनको समग्र पक्षको सूक्ष्म अवलोकन गरे। निष्कर्षमा वास्तविक जीवन त गाउँमा मात्र भेटे। सहर उनका लागि ढोँगी, स्वार्थी र खोक्रो छ। गाउँको जीवनमा करुणा छ, हार्दिकता छ, दुख र सुखको अनुभूति छ, सद्भाव र आत्मीयता छ, यी यावत् कुरा सहरमा उनले कहिल्यै पाएनन्। यसर्थ उनले सहर भन्दा ग्रामीण दुःखका वस्तीमा घुम्ने र त्यहाँको जीवन अध्ययन गर्ने निर्णय गरे। त्यहीँबाट अनेक कथा र गजल जन्माए।

जीवनको समग्रताभित्र यौन

मनुले आफ्ना कथामा विशेष सूक्ष्म रूपले यौनलाई उद्‍घाटन गरेका हुन्छन्। तर गजलमा भने यौनलाई उति महत्त्व दिएका छैनन् । भन्छन्, 'कथामा जीवनलाई समग्रतामा समेट्नुपर्ने हुन्छ, र जीवनको समग्रतामा यौन अनिवार्य हुन्छ।' उनका विचारमा गजलमा चाहिँ जीवनको आंशिक पक्ष मात्र प्रस्तुत गरिन्छ।

मनुले आफ्ना सिर्जनामा काल्पनिकता कमै मात्र प्रस्तुत गरेको दावी गर्छन्। जीवन कल्पनामा होइन, यथार्थमा भोगिने कुरा हो भन्ने उनको मत छ। यही मतको उद्‍घाटन आफ्ना सिर्जनामा गरेको उनको भनाइ छ। 'मेरा पात्र, परिवेश र घटना यथार्थ हुन्', मनु भन्छन्, 'यथार्थ घटना, परिवेश र पात्रलाई साहित्यिक रूप दिएको मात्र हुँ।'

उनले धार्मिक विषयमा भने सिर्जना गरेनन् रे! 'आफूलाई कहिल्यै भगवान् र देवीद्यौतामाथि विश्वास नै नलागेपछि धर्म (अहिले भनिँदै आएको) माथि विश्वास लागेन', मनु भन्छन्, 'धर्म भनेको मानवतासहित हुन्छ, मानवतारहित धर्म धर्म होइन।' यसर्थ उनले मानवका, मानवीय संवेदनाका, पीडा र दर्दका, असन्तुष्टि र अभावका कथा मात्र लेख्न चाहे। 'मलाई न स्वर्गमा विश्वास छ, न नर्क नै हुन्छ भन्ने लाग्छ', मनु भन्छन्, 'अनि के कल्पना गरौँ ? जे देखेँ, जे भोगेँ त्यही लेखेँ।' तर यसको अर्थ उनले धर्म वा धार्मिक आचरण नबुझेका भने होइनन्। वनारस, जहाँ धर्म कमाउन मानिसहरू पुग्ने गर्छन्, त्यहीँ हुर्किएका, पढेका मनुलाई धर्मको अभ्यन्तर थाहा छ। वास्तवमा धर्ममा बढेको वा धर्मका नाममा बढेको विकृति देखेपछि उनलाई धर्मप्रति नै वितृष्णा जागेको जस्तो लाग्दोरहेछ। 'ढुङ्गामा फूल चढाएर धर्म हुन्छ र ?', मनुको जिज्ञासा।

जीवन नभोग्नेले जीवनका सिर्जना गर्दैन

जीवन नभोगी जीवनका सिर्जना गर्न नसकिने मनुको बुझाइ छ। जीवन बुझ्न हरेक ठाउँ, बस्ती र मानिससँग घुलमिल हुनुपर्ने र समाजका सबै प्रकारका पात्र, परिस्थिति र सुखदुःखको अवलोकन गर्नुपर्ने बताउँछन् मनु। 'जीवनका सिर्जना गर्न वास्तविक जीवन बाँचिरहेका मानिससम्म पुग्नुपर्छ, उनीहरूका दुःख, सुख, अभाव, हाँसो, खुसी, पीडा, असन्तुष्टि बुझ्नुपर्छ', मनुको भनाइ छ, 'अनि मात्र सिर्जनामा जीवन्तता आउँछ, साहित्यमा जीवन आउँछ।' यसैका लागि भौँतारिए मनु झन्डै ५ दशक, यायावर बनेर।

आफ्नो बाल्यकाल, किशोरकाल र युवाकाल लगभग सबै समय भारतमै बिताए मनुले। उनले नपुगेका भारतका स्थान कमै होलान्। र, भारतका मान्छेका अभाव र दुःखसँग उनी प्रत्यक्ष रूपमा जोडिए, अथवा भनौँ न उनीहरूसँगै खाए, बसे, काम गरे, दुखे, रमाए, रोए। नेपाल र भारतका अधिकांश परिवेश र दुःख उनले लगभग समान पाए। समान विचार, समान परिवेश, समान जीवन भोगाइलाई कथामा उने मनुले। त्यसो त नेपालका पनि अधिकांश भेगमा उनी घुमेका छन्। भन्छन्, 'वास्तविक नेपाल हेर्न ग्रामीण वस्तीमा जानुपर्छ।' ढोंगी सहरी सभ्यताप्रति उनलाई वितृष्णा छ। मान्छे जस्ताको भीड मात्र ठान्छन् सहरलाई। अथवा बुख्याँचा जस्तो, मुटु, मस्तिष्क, दया, माया, करुणा, विवेक नभएको। उनले सभ्यता, संस्कृति र आफ्नोपन गाउँमै मात्र रहेको बुझेका छन्। यसर्थ उनका सिर्जना पनि बढीजसो गाउँकेन्द्रित नै हुन खोज्छन्।

जीवन सङ्घर्ष मात्र हो

मनु जीवनलाई सङ्घर्ष, सङ्घर्ष र फेरि पनि सङ्घर्ष मात्र ठान्छन्। निरन्तरको सङ्घर्ष अथवा सङ्घर्षको निरन्तरता नै जीवन हो भन्ने लाग्छ उनलाई। 'यद्यपि, मान्छेको परिस्थितिअनुसार सङ्घर्षका रूप फरक हुन सक्छन्', मनु भन्छन्। उनका अनुसार जीवनलाई जिउँदो छ भनेर देखाउन वा बाँचेको छु भन्ने सावित गर्न पनि सङ्घर्ष अनिवार्य हुन्छ। यस्तो सङ्घर्ष व्यक्ति स्वयंप्रतिको, समाजप्रतिको र परिवेशप्रतिको हुने उनको बुझाइ छ। र, सङ्घर्षले नै मानिसलाई अघि बढ्न वा केही नयाँ गर्नका निम्ति ऊर्जा र गति दिने उनको धारणा छ।

लेख्नका निम्ति रक्सी खाएँ, रक्सी खाएर लेखिनँ

मनु ब्राजाकी भन्नेवित्तिकै उनलाई चिन्ने र उनका बारेमा सुन्नेहरूका मस्तिष्कमा एउटा चित्र नाचिहाल्छ, रक्सी खाएर खुट्टा ठेगानमा नटेकी हिँड्ने, केही रुपियाँ पैसा मागिहाल्ने स्रष्टाको। हो पनि उनले हिजोका दिनमा कति पिए, पिए रक्सी। भन्छन्, 'रक्सी त कति खाएँ, खाएँ तर मात्नका लागि होइन।' केका लागि त ?

'चिन्तनका लागि', मनु भन्छन्, 'लेख्नका निम्ति चिन्तन जरुरी छ, चिन्तनका लागि एकाग्रता आवश्यक हुन्छ।' यही एकाग्रताका लागि रक्सी पिएका हुन् रे उनले! रक्सी पिएपछि एक प्रकारको ऊर्जा उत्पन्न हुन्छ रे! र त्यो ऊर्जाका कारण उनी पटक पटक सडकमा राखिएका बिजुलीका पोल र जनावरसँग ठोक्किएका छन् रे! 'तर मान्छेसँग अनावश्यक झगडा रक्सी खाएर कहिल्यै गरिनँ', उनको भनाइ छ।

त्यसो त उनले रक्सीलाई ऊर्जा र चिन्तनको स्रोतका रूपमा मात्र प्रयोग गरे रे! भन्छन्, 'लेख्नका लागि रक्सी खाएँ तर रक्सी खाएर कहिल्यै लेखिनँ।'

भर्खरै उनको एउटा चर्चित कथासङ्ग्रह, जुन साझा प्रकाशनबाट छापिएको थियो, प्रकाशनका लागि एउटा निजी प्रकाशन गृहले ५० हजार रुपियाँ लिएर आएपछि उनी तीनछक परे रे! 'मैले आजसम्म यति पैसा कुनै प्रकाशकले दिएको देखेको नै थिएन', मनु भन्छन्, 'सपना हो कि विपना भयो।' पछि साझासँगको सम्झौता तोडेर सो पुस्तक प्रकाशनाधिकार निजी प्रकाशनलाई दिएछन् ।

त्यसो त अहिले मनु हिजो भन्दा धेरै भिन्न छन्। रक्सी पिउन छाडेको धेरै भएको छ, हिँडडुल गर्न पनि सहारा चाहिने अवस्था छ। आज भेटिने मनुले केही रुपियाँ माग्दैनन्, बरु उनले केही नयाँ गजल लेखेका छन्, त्यसलाई छापिदिने प्रकाशक खोजेका छन्।भन्छन्, 'रक्सी छाडिहालेँ, बाहिर हिँड्न सक्दिनँ, पैसा केका लागि चाहियो र?'

आग्रह/गुनासा/महत्त्वाकांक्षा

मनुले झन्डै दुई दशकअघि लेखेका कथाहरूको सँगालो निकाल्ने विचार गरेर तात्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा लगेर पाण्डुलिपि बुझाए- आमालाई बेच्नुहुन्न लाटा। तर आजसम्म सो पुस्तक छापिएन मात्र होइन, प्रतिष्ठानका जिम्मेवार अधिकारीसँग बुझ्न जाँदा पाण्डुलिपि पनि फेला परेन। यसमा मनुलाई साह्रै चित्त दुखेको छ। प्रतिष्ठान जस्तो जिम्मेवार निकायले एउटा स्रष्टाको पाण्डुलिपि यसरी हराउनु (लुकाउनु ?) सही काम होइन। उनले धेरै पटक सो पाण्डुलिपि प्राप्तिका लागि अनुनय गरिसके, तर अत्तोपत्तो पाइएन। अब त उनलाई शंका लाग्न थालेको छ, कतै आफ्नो शेषपछि कसैले उसको नाममा प्रकाशन गर्न लुकाएको छैन? (यो आशंका निवारण गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो।)

जीवनलाई सङ्घर्ष मात्र ठान्ने मनु बाँच्न वा बाँचेको अनुभव गर्न पनि केही न केही गरिरहनुपर्ने धारणा राख्छन्। यही भएर आफ्नो शारीरिक अस्वस्थताका बाबजुद पनि उनी अहिले पनि कथा, गजल लेखिरहेका छन्। दुई दुई पटकको मस्तिष्काघातपछि शरीर र हात पनि राम्ररी चल्दैन, मस्तिष्कले पनि धेरै कुरा सम्झन र लामो समय सम्झिरहन सक्दैन, तथापि उनको सिर्जना गर्ने ऊर्जा भने मरेको छैन। उनको एउटा इच्छा अझै जीवित छ- आत्मकथा लेख्ने। उनका समकालीन जगदीश घिमिरेलगायतका साथीभाइले आत्मकथा लेख्न पहिल्यै सल्लाह दिएका पनि हुन्। तर उनले त्यसबारेमा त्यति ध्यान दिएनन्। जीवनको यो उत्तरवर्ती कालमा आएर उनी आफैँलाई लागेको छ, एउटा आत्मकथा किन नलेखूँ! आफ्ना यायावरी जीवनका अनुभव र भोगाइलाई दस्तावेजीकरण गर्नका लागि पनि उनी आत्मकथा लेख्ने तयारीमा छन्। तर उनको आत्मकथा अहिले बजारमा आएका भन्दा भिन्न हुनेछ। भन्छन्, 'अहिलेको हामीकहाँ लेखिँदै आएको र विश्व साहित्यमा लेखिँदै आएको भन्दा भिन्न शैली र ढाँचामा लेख्ने कोसिस गरेको छु।'

अन्त्यमा, मैले जीवनलाई बेस्मारी गाली गरिदिनुस् न भनेको थिएँ। मनुले प्रत्युत्तरमा भने, 'साँच्चै भन्दा जीवनप्रति जति मोह राखे पनि जीवनका लागि जीवन केही होइन। मृत्यु नै जीवनको नियति भएकाले मृत्युपश्चात जीवन महत्त्वहीन हुन्छ।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.