|

उदयपुर : माटाका भाँडावर्तन र देवी देवताका मूर्तिहरू निर्माण गर्ने पुर्ख्याैली पेसा भएका कुम्भकार पण्डित परिवारमा जन्मिएका हुन्, रामचन्द्र पण्डित। उदयपुरको त्रियुगा नगरपालिका- ६ का ३४ वर्षीय तिनै पण्डितको मूर्तिकला घतलाग्दो छ। नेपाली इतिहासमा मूर्तिकलाको क्षेत्रमा चर्चित कलाकार अरनिकोको स्वर्ण अक्षरमा नाम अंकित छ।

पण्डित यतिबेला २१अौँ शताब्दीकै सबैभन्दा ठूलो बुद्धमूर्ति अन्य तीन नेपाली कलाकारहरूका साथ जापानको एक पहरामा खोप्दै छन्। उनी बुबा, आमा, बाजेले घरमै माटोका भगवानका मूर्तिहरू बनाउँदा सिकेको सीप नै अहिले जापानमा प्रयोग गर्दै छन्। ‘कति धेरै मिहिनेतले बनाइएको मूर्तिकला फालेर नष्ट गर्नुपर्दा साह्रै मन दुख्थ्यो’, उनले भने, ‘माटोबाट बनाइएकाले नटिक्ने भएकाले फाल्नै पर्ने हुन्थ्यो, त्यहीँबाट मूर्ति बनाउने लत बस्यो।’

उनी माटोका मूर्तिबाट कसरी ढुंगा, सिमेन्ट, फाइवरमा परिणत गर्न सकिन्छ भनेर कल्पना गर्थे। त्यसै सिलसिलामा उनले विभिन्न अग्रजहरूको कार्यकक्षमै धाएर थप ज्ञान लिए। देवी देवताको मूर्ति परम्परागत कच्चा सामग्री प्रयोग गरेर बनाइरहेका पण्डित चितवनका सूर्य केसी, सिलगुडीका बंगाली, काठमाडौं र थाइल्याण्डका मूर्तिकारहरूसँग पुगेर थप सीप सिकेको बताउँछन्।

पहिलो पटक उदयपुरका पुराना स्रष्टा कवि गम्भीरबहादुर थापाको मूर्ति जस्ताको तस्तै उतारेका पण्डितले दाङमा पहिलो जनआन्दोलनका शहीद उमेशचन्द्र थापा, विपी कोइराला, गणेशमान सिंह, भूपी शेरचन, मनमोहन अधिकारी, पारिजात जस्ता नेपालका ऐतिहासिक व्यक्तिहरूको मूर्ति बनाइसकेको बताउँछन्। ‘भुटानका पहिलो राजाको मेटलमा मोडलसमेत सफल रूपमा उतारेकाे छु। यिनै प्रतिभा र क्षमताका कारण जापानमा बुद्धमूर्ति बनाउने काम पाएको छु’, पण्डितले भने। 

२०७३ सालमा ललितकला क्याम्पसमा प्राध्यापकसमेत रहेका मूर्तिकार सूर्य केसीको नेतृत्वमा जापान पुगेका थिए। केही समयपछि स्वास्थ्य स्थितिका कारण केसी फर्किए। तर उदयपुरका पण्डित, मोरङका मञ्जुल मितेरी, काभ्रेका सानुभाइ विश्वकर्मालगायत जापानमै बसे। बिदामा घर आएका बेला भेटिएका कलाकार पण्डितले कला, प्रतिभाको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा गएर नेपाल र नेपालीको नाम राख्न साथीहरूसँग मिलेर गौतम बुद्धको मूर्ति बनाउन लागेको बताए।शान्तिदूत बुद्धको मूर्ति, त्यो पनि उन्नाइसाैँ, बीसौँ र एक्काइसौँ शताब्दीको भन्दा ठूलो निर्माण गर्न जापान जुटेको उनले बताए।

पहराको ढुंगा फुटाएर बुद्ध आकृति निकाल्नु आफैँमा कठिन र चूनौतीपूर्ण भएको तर देशको गौरवका लागि एउटा गतिलो अवसरको रूपमा ग्रहण गरेर काम गरिरहेको पण्डितको भनाइ छ। आफ्नाे कलाबाट नै देशलाई चिनाउने सपना बोकेका पण्डित ऊर्जाशील छन्। ‘कलाकार बाचुन्जेलभन्दा पनि मृत्युपश्चात नाम निशाना मेटिने गरेको छ’, उनले भने, ‘त्यसलाई युगयुगसम्म जीवन्त राख्न पहरामा गौतम बुद्धमूर्ति निर्माणमा साथीहरूसँग जुटेको छु।’ सरकारले जापानकै जस्तो साथ सहयोग दिए। नेपाली पहरामा मूर्ति बनाएर सरकारलाई उपहार दिने योजना रहेको पनि बताए। पण्डितले भने, ‘जापनबाट फर्केपछि आफ्नै देशका डाँडाकाँडा, पहराहरूमा पनि जापानकै जस्तो प्रविधि प्रयोग गरेर मूर्ति निर्माण गर्ने योजना छ।’

पण्डितका अनुसार चितवनका विद्यार्थी दिलीप लामिछानेलगायतका नेपालीहरू जापानमा इन्जिनियरिङ विषय पढ्दै थिए। उनीहरूबाटै जापानका होटल व्यावसायी तथा समाजसेवी ओसिमा सिजुकीले कलाकार मञ्जुलका बारेमा जानकारी पाएछन्। जापानको कुमामोतो जिल्लाको खामी आमाकुसा नगरपालिकामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाड छ। त्यही चट्टानमा उनीहरूले छिनो र ह्याम्मर बोकेर मूर्ति बनाइरहेका छन्। नेपालमा जन्मिएका विश्व शान्तिका अग्रदूत बुद्धको स्वरूप कुँदिरहेका छन् उनीहरू। 

होटल व्यावसायी ओसिमाले नै निर्माण गरेको ‘ओसिमा सेकिबुचुयामा’ नामको संस्थाले शहरभन्दा ८० किलोमिटरको दूरीमा रहेको ग्रामीण अनकन्टार पहाडमा एउटै ढुंगामा गौतम बुद्ध र बुद्धका सहायक देवी देवताका गरी सातवटा पूर्ण कदका मूर्ति निर्माण योजनामा पण्डितसहित चार नेपाली युवा जुटिरहेका हुन्। तोकिएको समयमै सबै काम सक्ने आत्मविश्वास रहेका सृजनशील कलाकार मञ्जुल र उनको टिममा पण्डित छन्। ‘मैले घरमा माटोका मूर्ति बनाउँदा जापानमा आएर यसरी मूर्ति बनाउँछु भन्ने सोचेको थिइनँ’, उनले फेसबुकको म्यासेन्जरमा भने, ‘संघर्षले दौडाएर यहाँ ल्याइपुर्‍याइदियो।’

नेपाली कलाकारले विश्वकै अग्लो (६५ फिट) लामो बृद्धसँगै स्थानीय देवी देवताका गरी जम्मा सातवटा ठूलाठूला मूर्ति बनाउने काम गरिरहेका छन्। ‘सात वर्षमा पूरा गरिसक्ने सम्झौता छ’, पण्डितले भने, ‘डेढ वर्षमा ३० प्रतिशत काम सकिएको छ। अग्लो बुद्ध र ४५ फिट अग्लो सहायक देवताको पनि मुहार तयार भइसकेको छ।’ पण्डितले भने, ‘सन् २०१६ को सेप्टेम्बरबाट सुरु गरेको विशाल मूर्ति ६० फिटको एउटा, ५० फुटका दुईवटा र ३० फुटका चारवटा मूर्ति आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२२ सम्ममा निर्माण गर्न लागेका छौँ।’ 

मूर्तिकार काभ्रेका विश्वकर्मा, उदयपुरका पण्डित र मिक्लाजुङका गणेश राई चट्टानमा भगवान गौतम बुद्ध निर्माण गरिरहेका छन्। ‘गौतम बुद्धको जन्मबारे जुन भ्रम छ’, उनले भने, ‘त्यसलाई चिर्दै बुद्ध नेपालमा जन्मेका हुन् भन्ने प्रमाण दिन पनि हामीले पहराको जोखिम उठाएका छौँ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.