|

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ झतडाकी लक्ष्मीदेवि ऐरलाई दुई घण्टाको बाटो हिँडेर पानी बोक्न गाह्रो हुन्थ्यो।

भीरालो बाटोमा पानी बोक्नु पथ्र्यो । विहानभरी पानी बोकेर बालबच्चालाई स्कुल जान तयार पार्नुपथ्र्यो।
विहानै उठेर पानी ल्याउन खोला झर्थिन्। खोलाको फोहोर पानी पिएर परिवारका सदस्यहरू विरामी भइरहन्थे।
‘आजभोलि त गाउँमै पानी आएको छ,’ उनले भनिन्, ‘मान्छेलाई मात्र होइन तरकारीलाई पनि पानी पुगेको छ।’

डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ झतडाका स्थानीय बासिन्दाले वर्षौंदेखि खानेपालीको समस्या भोगिरहेका थिए।
अहिले गाउँलेलाई निकै सजिलो भएको छ। गाउँमा १३ धारा जडान भएका छन्। धारा जडान भएपछि उनीहरुको खुसीको सिमा नै छैन।
‘अहिले बच्चाबच्चीलाई बेलैमा स्कुल पठाउन सकिएको छ,’ स्थानीय लक्ष्मीदेवि ऐरले भनिन्, ‘पानी ल्याउने समयको बचत हुँदा धाराकै पानीले बारीमा तरकारी फलाउन सजिलो भएको छ।’ 

ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आर भि.डव्ल्यु.आर.एम.पि)को सहयोगमा निर्मित गगांनौला खानेपानी तथा सरसफाई योजना समपन्न भएपछि गाँउको खानेपानी समस्या सुल्झिएको छ। 
गाउँमा आजभोली २४ घण्टा प्रयाप्त खानेपानीको सुविधा पुगेको छ। परियोजनाको खानेपानीसँगै जिविकोपार्जन, तरकारी खेती सम्बन्धी तालिम तथा सरसफाइ कार्यक्रमबाट झतडाबासीले लाभ लिएका छन्। 

त्यस्तै दुर्गादेवी ऐर सफा पानी पिउन पाँउदा हर्षित भएकी छिन् । ‘सफा पानीको फाइदा भयो, साग तरकारीको फाइदा भयो,’ उनले भनिन्, ‘खोलाबाट जर्कीनमा बोकेर पानी ल्याउँथे तर  गाँउमा धारा जडान भएपछि तरकारी खेतीपनि गर्न थालेका छौं।’ 

साथै तरकारी खेती गरेपछि दैनिक आवश्यक बस्तु जस्तै तेल नुन तथा मसला, केटाकेटीको कापी किताब त्यसैबाट आएको आम्दानी बाट किन्ने गरेको उनको भनाई छ। घाटीमा लगाएको गहना देखाउँदै उनले भनिन्, ‘यो पनि तरकारी बेचेर जोडेको हुँ,’ बच्चाको स्कुलको शुल्क तिर्न तरकारी बेचेरै पुग्छ।’ तरकारी बेचेर धेरै महिलाले सुनको गहना बनाएको उनले सुनाइन्।

खानेपानी आयोजना सम्पन्न भएसंगै उक्त ठाउँमा ३७ घरधुरी लाभान्वित भएको वडा सचिव सन्तोष भट्टले बताए। खानेपानी योजना निर्माण कार्य शुरु भएको १ वर्षमा सम्पन्न भएको उनले बताए।
अहिले गाउँमा १३ सार्वजनिक धारा, तीन हजार आठ सय ५० मिटर पाइपलाईन सम्पन्न भइसकेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाकी फिल्ड संयोजक सिन्धु बोहोरा अवस्थीले जानकारी दिइन्। अहिले १३ वटै धारामा पानी प्रवाह भएको उनले बताइन् । 

गगांनौला खानेपानी तथा सरसफाई योजना खानेपानी योजना कुल १८ लाख ३५ हजार ९ सय ४६ रुपैयाको लागतमा सम्पन्न भएको याजनाको उपभोक्ता समितीका अध्यक्ष दिलबहादुर खातीले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.