|

नीलम कार्की 'निहारिका' (२०३१), लामो समयदेखि अमेरिकामा रहेर नेपाली साहित्य सृजनामा क्रियाशील छन्।उनका 'नीलम कार्की निहारिकाका कविता', 'ब्रेन फिभर' लामो कविता, 'हवन', 'कागजमा दस्तखत', 'बेली' कथा संग्रह, 'मौन जीवन', 'नियतिको खेल', 'अर्की आइमाई', 'चीरहरण' उपन्यास प्रकाशित छन्। निहारिका राष्ट्रिय कविता महोत्सव, २०५७, कविता महोत्सब हिम्सफा, २०५७, सर्वोत्कृष्ट डायस्पोरिक पुरस्कार, २०७२, दीप गोविन्द पुरस्कार र पद्मश्री, २०७२ (चीरहरणको निम्ति) प्राप्त गरिसकेकी छन्। 

पद्मश्री पुरस्कार प्राप्त गर्नुभएकामा हार्दिक बधाई!

धेरैधेरै धन्यबाद!

नेपाली साहित्य लेखन अहिले कस्तो देख्नुहुन्छ?

आशालाग्दो छ तर म जब 'सुम्निमा' र 'शिरीषको फूल' जस्ता कृति पढ्छु, त्यसरी लेख्न किन सकिएको छैन होला जस्तो लाग्छ।

साहित्यमा सम्मान र पुरस्कारलाई नेपालको सन्दर्भमा कसरी हेर्नुहुन्छ?

उत्तर- सम्मान हुन्छन्, स्वागतयोग्य कुरा हो। कृति पुरस्कृत हुन्छन्। पुरस्कारको स्थापना समयमा शुद्ध मन र सेवाको भावनाले स्थापना भएका हुनुपर्छ भन्ने लाग्छ। वास्तवमा अहिलेसम्म हाम्रो साहित्य जगतमा नै प्रदान गरिने पुरस्कार मात्र कति छन् भन्ने यकिन नभएको अबस्था हो। छरपस्ट छन्। पुरस्कारको उद्देश्य र त्यसको नामकरण भएर कतै दर्ता भएमा अलि ब्यबस्थित हुने थियो कि! अनि झोलाबाट माला र खाम निकालेर पहिर्‍याउने र हात-हातमा बाँड्ने प्रवृत्ति बन्द हुने थियो।

“पुरस्कार” शब्द अपमानित नभई सम्मानित हुने थियो भन्ने लाग्छ। रह्यो कुरा स्थापित हामी सबैलाई थाहा भएको लामो इतिहास बोकेका पुरस्कारहरूको। यो सत्य हो, कुनै समय पुरस्कारले लुकेका प्रतिभा र अवसरबाट बञ्चितहरूलाई पाठक सामु ल्याएर उभ्याइदिने, अर्थात पुरस्कारले नै उहाँहरूको परिचय बनाउने काम पनि गरेको छ। कहिले पुरस्कार नै दुर्घटित हुनु परेको अबस्था नभएको होइन। यसैले भनिएको होला, पुरस्कारले व्यक्ति र कृतिलाई मात्र पुरस्कृत गर्दैन, ब्यक्ति या कृतिले पुरस्कारलाई पनि पुरस्कृत गर्ने गर्छ।

कतिपयले त सम्मान र पुरस्कार लिनुमा भन्दा नलिनुमा गर्व लाग्छ भन्छन् नि,  किन होला?

उत्तर- हो, त्यो मैले पनि सुनेको छु। ग्रहण गरिसकेपश्चात  पछुताएको पनि देखेकी छु। फेरि उही कुरा आउँछ। कुनै समय प्राप्त गर्नेले धान्न नसक्दा र कुनै समय प्रदान गर्नेले आफ्नो उचाइ कायम राख्न नसक्दा इतिहास नै बिग्रिन्छ । अनि जसको इतिहास बदनाम छ, बर्तमानमा त्यसको भागिदार बन्न नचाहेको अबस्थामा यसो भएको हुन सक्छ।

नेपालमा सम्मान पुरस्कारका लागि निवेदन आफैँले हाल्नुपर्ने, आफ्ना लागि पुरस्कार पाउन सिफारिस आफैँले जुटाउनुपर्ने बाध्यता छ रे नि, तपाईंलाई यस्तो पर्‍यो कि परेन?

उत्तर- मैले अहिलेसम्म बुझेअनुसार मदन पुरस्कार, मोती पुरस्कारको निम्ति निबेदन दिनुपर्ने या फर्म भर्नुपर्ने छ, या अरू पनि होलान्। अघिल्लो बर्षसम्म पद्मश्रीको निम्ति पनि आफू या प्रकाशकले बुझाउनुपर्ने थियो। यो बर्षदेखि प्रतिष्ठानले आफैँ छनोट गर्ने भयो, गर्‍यो। सबैले यो कदमको स्वागत पनि गरे।

तर आफैँ या प्रकाशकले बुझाउनुपर्नेमा केही सकारात्मक पक्ष पनि छन्। हामीलाई थाहा नै छ, दिनहुँजसो पुस्तक बिमोचन हुन्छन् अनि बर्षभरि छापिएका ती पुस्तकबाट पुरस्कृत गर्नुपर्दा अतिरिक्त भार पर्छ नै। हो, आफुले पुरस्कारको निम्ति आवेदन दिँदा मन अलि गरुंगो हुन्छ नै होला। मेरो पुस्तक प्रकाशित हुँदा म देशबाहिर नै भएको हुँदा प्रकाशकको तर्फबाट नै बुझाउन पठाइयो। त्यसैले त्यो अनुभव ममा रहेन।

प्रवासमा बसेर नेपाली साहित्य सिर्जना गर्दाका अनुभव बताइदिनुस् न! (सजिला, अप्ठ्यारा दुवै)

म पहिला राजधानीबाहिर बसेर लेखेँ अनि राजधानी काठमाडौँमा बसेर पनि लेखेँ। अहिले देशबाहिर बसेर लेखिरहेकी छु। मोफसलदेखिका अनुभव छन् मसँग। निरन्तर साहित्य सृजनासँग जोडिएकी छु। मेरो कर्म जहाँ बसेर पनि गरिरहेकी छु। यहाँ आएर 'बेली', 'अर्की आइमाई' र 'चीरहरण' लेखेँ। पुस्तकहरू सम्पादन गरी प्रकाशनमा भूमिका खेलेँ। साहित्यका संस्थासँग आबद्ध भएर काम पनि गरिरहेकी छु। तर कताकता दु:ख लाग्छ, अहिले आफू बाहिर हुँदा मलाई हेर्ने दृष्टिकोण नै भिन्न भएको छ । यो पटक नेपाल जाँदा एक पत्रकार मित्रले अगाडि नै भन्नुभयो, 'जब प्राथमिकताको कुरा आउँछ, तपाईं र यहाँ बसेर लेख्ने लेखकलाई चुन्नुपर्‍यो भने हामी यहीँ बसेर लेख्नेलाई चुन्ने छौँ।'

अर्को उदाहरण, जब मदन पुरस्कार गुठीले मनोनयनमा सात पुस्तक घोषणा गर्‍यो, केही पछि अग्रज राजेन्द्र थापाले भन्नुभयो, 'बहिनी तिमी पुरस्कारको आशा नगर, किनकि तिमी देशबाहिर छौ।' सोही कुरा हिजो मात्र आफ्नो स्टाटसमा पनि उहाँले राख्नुभएको थियो। आआफ्ना परिस्थितिले गर्दा हामी देशबाहिर छौँ तर नेपाली वाङ्मयसँग अविच्छिन्न जोडिएका छौँ भने यो भिन्नता किन?

अन्त्यमा केही भन्नु छ कि?

उत्तर- हामी नेपाली विभिन्न देशमा छरिएका छौँ। जन्मथलोबाट टाढा रहनुमा पक्कै हरेकका आ-आफ्ना बाध्यता छन्। म खाडी गएकी भए अलि कम गाली गरिन्थ्यो होला या अलिकति सहानुभूति पनि राखिन्थ्यो कि! म अमेरिकामा छु र अलि बढी दोषी भएकी छु, बढी गाली खाएकी छु, अलि बढी अराष्ट्रिय जस्ती भएकी छु। मेरो भन्नु तमाम बाध्यताले हामीलाई परिवारबाट, जन्मभूमिबाट टाढा जुन देश पुर्‍याए पनि हामी साहित्यप्रेमी कोही पनि आफ्नो कर्ममा चुकेका छैनौँ। हामी नेपाली भाषा साहित्यको विकासमा निरन्तर लागि रहनेछौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.