समय तालिकाअनुसार काम भएको दाबी

|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी दिनमा गर्ने योजना र समापन गर्ने तालिका पुन: सार्वजनिक गरेको छ। प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत फेरिएसँगै कार्यतालिका परिवर्तन गरिँदै आएकोमा अहिले भने भूकम्पपछिको तीन वर्ष पूरा भएको सन्दर्भमा नयाँ प्रतिवद्धतासहित समस्याहरू प्राधिकरणले केलाएको छ।

मंगलबार प्राधिकरणले गरेको भेटघाटमा सचिव अर्जुन कार्कीले १५ दिनभित्र गर्ने र एक वर्ष गर्नेसमेत केही कामयका योजना सुनाएका हुन्। प्राधिकरणले आगामी १५ दिनभित्र धरहरा पुनर्निर्माणको ठेक्का प्रकिया अघपि बढाउने प्रतिवद्धता जनाएको छ।

'आजको १५ दिनभित्र धरहराको ठेक्कापट्टा प्रकिया अघि बढाइसक्ने गरी हामी सार्वजनिक प्रतिवद्धता जनाउन चाहन्छौँ', प्राधिकरणका सचिव अर्जुन कार्कीले भने, 'असार मसान्तभित्र धरहराको शिलान्यास गरिनेछ।' त्यस्तै, चालु आर्थिक वर्षभित्र प्राधिकरणले काठमाडौं उपत्यका सार्वजनिक भवनको सार्वजनिक खरिद प्रकिया सम्पन्न गर्ने जनाएको छ।

प्राधिकरणले अबको १२ महिनाभित्र देशभरका स्वास्थ्य भवनहरूको पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको छ। २०७६ असार मसान्तभित्र भने सबै निजी आवास निर्माण तथा पुनर्निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको रहेको छ।

तीन समस्या समधान गर्न सरकारलाई आग्रह

'निर्माण सरल प्रकिया हो, पुनर्निर्माण जटिल र भिन्न प्रक्रिया हो', प्राधिकरणका सचिव कार्कीले भने, 'निर्माणका लागि प्राधिकरण आवश्‍यक पर्दैनथ्यो तर पुनर्निर्माणका लागि गठन गरिएको प्राधिकरणको प्रक्रिया भने निर्माण प्रकिया जस्तै हो।'

प्राधिकरणले सरकारलाई तीनवटा काममा नियमावली संशोधन नै गरेर सहयोग गर्नका लागि आग्रह गरेको छ।

अन्य निकायसँग जोडिएका कामको जानकारी अन्य कामलाई जस्तै नगरी तीन दिनभित्र गराइसक्न मातहतका निकायलाई निर्देशन, पुनर्निर्माणसम्बन्धी काममा प्राधिकरण स्वयमले निर्णय गर्ने र मन्त्रिपरिषद्‌मा पठाउनुपर्ने निर्णय पनि प्राधिकरणबाट लैजानुपर्ने तथा अख्तियारी पाएको रकममा पुन: योजना स्वीकृतिसँगै अपडेट गराउनुपर्ने प्रकिया पूरा नगर्ने गरी निर्णय लिन सरकारलाई आग्रह गरेको छ।

यी विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराउने तयारीमा रहेको सचिव कार्कीले बताए। यी विषयमा जति सक्यो छिटो निर्णय लिनका लागि सरकारलाई आग्रह गरेका छन्।

समय तालिकाअनुसार काम

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले तोकिएको कार्यतालिकाअनुसार काम भएको दाबी गरेका छन्। 'झट्ट हेर्दा काम कम भएको छ भनेजस्तो पनि देखिएको छ तर अहिलेसम्म भएको कार्यप्रगति तोकिएको अनुसार नै रहेको छ', उनले पहिलो चरणको काम अलि जटिल भए तापनि अबको काम द्रुत गतिमा अघि बढ्नेसमेत बताएका छन्।

हालसम्म एक लाख ४१ हजार ६२६ घरहरूको निर्माण कार्यसम्पन्न भएको छ भने चार लाख ३६ हजार १८० घर निर्माणको क्रममा रहेका छन्।

लाभग्राहीमा रहेका सात लाख ६७ हजार ७०५ मध्ये तेस्रो किस्ताका लागि एक लाख १८ हजार ६६२ र दोस्रो किस्ताका लागि तीन लाख ७१ हजार ६९१ जनाको प्रमाणीकरण गरिएको छ। छ लाख ६९ हजार १९३ जनालाई पहिलो किस्ता वितरण भइसकेको छ।

शैक्षिक संस्था पुनर्निर्माण

  • पुनर्निर्माण लक्ष्य- सात हजार ५५३
  • पुनर्निर्माण सम्पन्न- तीन हजार १५७
  • पुनर्निर्माण हुँदै- दुई हजार ३५

साँस्कृतिक सम्पदा पुनर्निर्माण

  • पुनर्निर्माण लक्ष्य- ७५३
  • पुनर्निर्माण सम्पन्न- १००
  • पुनर्निर्माण हुँदै- ३२९

सुरक्षा निकाय भवन पुनर्निर्माण

  • पुनर्निर्माण लक्ष्य- ३८३
  • पुनर्निर्माण सम्पन्न- ७९
  • पुनर्निर्माण हुँदै- १२६

खानेपानी पूर्वाधार पुनर्निर्माण

  • पुनर्निर्माण लक्ष्य- ३२१२
  • पुनर्निर्माण सम्पन्न- ५८१
  • पुनर्निर्माण हुँदै- ७९५

जनशक्ति विकास

  • छोटो अवधिको तालिम लिने- ३५ हजार
  • सबै काम गर्ने गरी तालिम लिने- १६ हजार ६४९

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.