|

हेटौँडा : प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले देश र प्रदेशका रुपमा विभाजित नभई अघि बढ्नुको विकल्प नभएको बताएकी छन्। प्रदेशसभा बैठकमा विशेष सम्बोधन गर्दै प्रदेश प्रमुख कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुपर्ने बताएकी हुन्।

प्रदेश प्रमुख कोइरालाले आपसी एकता र समझदारी कायम गर्दै विकास र समृद्धिको चरणमा अघि बढ्नुपर्नेमा जोड दिइन्। भ्रष्टाचार, उत्पीडन र असझदारी अन्त्य गर्नु नै अहिलेको मुख्य चुनौति भएको भन्दै उनले जन अपेक्षाअनुसार काम गर्नु प्रदेश सरकारको प्रमुख दायित्व रहेको बताइन्। प्रमुख कोइरालाले भुकम्प गएको तीन वर्ष भइसक्दा पनि ३० प्रतिशत भुकम्प पीडितले मात्रै आंशिक अनुदान पाएको भन्दै उनीहरूलाई यथाशीघ्र छानामुनी ल्याउनु जरुरी रहेकोमा जोड दिइन्। प्रमुख कोइरालाले विकासका लागि सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्य आवश्यक रहेको भन्दै बढ्दो व्यापार घाटा कम गर्नु जरुरी रहेको बताइन्। 

कृषि तथा पशुपालनलाई प्रोत्साहन, स्पष्ट भू उपयोग नीति ल्याई समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिंदै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विकासको व्यवस्थित अवधारणा अघि सार्ने बताइन्। मंगलबार बसेको दोस्रो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा प्रदेश सदस्यको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको पत्र पढेर सुनाएका थिए। 

बैठकमा मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुखको सम्बोधन प्रतिटेवल गरेका थिए भने प्रदेशसभा सदस्य रामेश्वर फुयालले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राखेका थिए। धन्यवाद प्रस्ताव सर्वसम्मत पारित भएको थियो। प्रदेशसभा बैठक बैशाख १३ गते ११ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ। यसअघि आज विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.