वर्षमा एक फिल्म, नयाँ प्रतिभालाई मौका

|

काठमाडौं : ‘अब त म निर्मात्री पनि हो नि!’, मुसुक्क मुस्कानसहित केकी अधिकारीले भनिन्। उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ यही शुक्रबार अर्थात् बैशाख १४ बाट प्रदर्शनमा आउँदै छ।

आफ्नो निर्माण तथा अभिनय रहेको फिल्म 'कोहलपुर एक्सप्रेस'को प्रचारमा व्यस्त केकीले फिल्मको कामले एकदमै दौडधुप भइरहेको सुनाइन्। भनिन्, ‘म फिल्मको नायिका मात्र होइन, निर्मात्री पनि हो। त्यसैले पनि दौडधुप निकै नै छ।‘

यस कारण बनिन् निर्मात्री

केकी आफूले फिल्म निर्माण गर्नुमा केही कारणहरू भएको बताउँछिन्। उनी भन्छिन्, ‘आफूले चाहेको कथा दर्शकको माझमा ल्याउने इच्छा सधैँ मनमा थियो र त्यो सपना पूरा गर्नका लागि पनि फिल्म निर्माण गरेकी हुँ।’

फिल्म क्षेत्रमा केकीको छुट्टै 'अट्याचमेन्ट' छ। उनी फिल्म क्षेत्रमा नै केही योगदान गर्न चाहन्छिन्। भन्छिन्, ‘मैले काम गर्ने भनेको फिल्म क्षेत्रमा नै हो। म फिल्म क्षेत्रमा नै केही योगदान दिन चाहन्छु। त्यसैले पनि फिल्म निर्माणमा लागेकी छु।‘

हिरोइनको निश्चित समय हुने बताउँदै केकी भन्छिन्, ‘केही समयपछि हिरोइनले विस्थापित हुनै पर्छ। त्यसैले लामो समयसम्म फिल्म क्षेत्रमा रहनका लागि बाटो बनाएकी हुँ।’

'रिस्क' नलिन कमेडी फिल्म

केकी आफूले चाहेको कथा फिल्ममा देखाउनका लागि फिल्म निर्माणमा हात हालेको बताउँछिन्। तर यस फिल्ममा भने उनले आफूले चाहेको कथा भन्ने आँट गरिनन्। उनी भन्छिन्, ‘पहिलो फिल्ममा नै मैले रिस्क लिन चाहिनँ। कमेडी फिल्म चलिरहेको यो समयमा कमेडी फिल्म बनाउँदा नै राम्रो होला भनेर कमेडी फिल्म बनाएँ।‘

अब निर्माण हुने फिल्ममा भने नयाँ स्वाद पस्किने केकीको योजना छ। भन्छिन्, ‘आगामी फिल्ममा भने मैले पक्कै नयाँ फ्लेवरको फिल्म निर्माण गर्नेछु।‘

तीन लेडी लिडिङ रोलमा

फिल्म 'कोहलपुर एक्सप्रेस'मा तीन नायिका मुख्य भूमिकामा रहेका छन्। प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा फिल्मका मुख्य कलाकार हुन्। फिल्ममा विनोद न्यैपाने पनि मुख्य भूमिकामा रहेका छन् तर विनोदको फिल्म क्षेत्रमा खासै चर्चा छैन।

किन लिड क्यारेक्टरमा तीन हिरोइन? जवाफमा केकी भन्छिन्, ‘यो फिल्म हिरोइनप्रधान फिल्म हो। फिल्मको कथाअनुसार नै हामी तीन लेडी मुख्य भूमिकामा प्रस्तुत छौँ।’ यस फिल्ममा तीन नायिकाले कमेडी क्यारेक्टर निर्वाह गरेका छन्। ‘हरेकजसो फिल्ममा पुरुष पात्रले मात्र कमेडी गर्ने परम्परा यस फिल्मबाट अन्त्य भएको छ’, केकी भन्छिन्, ‘नारीले रुन मात्र होइन, कमेडी गरेर हसाउन पनि सक्छ भन्ने प्रमाण हो- कोहलपुर एक्सप्रेस।’

फिल्म चल्नका लागि मुख्य भूमिकामा पुरुष पात्र नै हुनुपर्छ भन्ने मान्यता गलत भएको केकी बताउँछिन्। ‘के नायिकाले चाहिँ हलसम्म दर्शक तान्न सक्दैनन र?’, उनी भन्छिन्, ‘यदि पुरुष पात्र नै मुख्य भूमिकामा नभएको आधारमा फिल्म असफल हुन्छ भने त्यो रिस्क लिन म तयार भएको हुँ।‘

निर्मात्री बन्न साह्रै गाह्रो

निर्मात्री बन्न धेरै गाह्रो हुने केकी बताउँछिन्। भन्छिन्, ‘नायिका बनेर अरूको प्रोजेक्टमा काम गर्दा शारीरिक रूपमा मात्र दु;ख हुन्थ्यो। तर निर्मात्री बन्दा त मानसिक तनाव धेरै हुने रै'छ।’

आफू निर्मात्री भएपछि केही हदसम्म भए पनि टिमको लिडर भएको र सम्पूर्ण टिम व्यवस्थापन गर्न निकै गाह्रो भएको केकीको अनुभव छ। भन्छिन्, ‘टिमको मान्छेले खाए/नखाएको, सन्चो-बिसन्चो सबै ख्याल राख्नुपर्ने हुन्छ। सम्पूर्ण स्रोत-साधनहरूको व्यवस्थापन गर्न पनि उत्तिकै गाह्रो।

फिल्मलाई लिएर उत्साहित छन् केकी

फिल्मका सार्वजनिक ट्रेलर गीत एकदमै हिट भएका छन्। फिल्मको 'काउ सङ' र कमेडी ट्रेलरलाई दर्शककले रुचाएका छन्। दर्शकबाट पाएको प्रतिक्रियाबाट निकै उत्साहित छन् केकी। भन्छिन्, ‘फिल्मको गीत र ट्रेलरलाई हेरेर दर्शकले फिल्मलाई प्रतीक्षित भनिरहनुभएको छ। त्यसैले पनि एकदमै उत्सहित छु म।’

वर्षमा एउटा फिल्म, नयाँ प्रतिभालाई मौका

केकीले हरेक वर्ष एउटा फिल्म निर्माण गर्ने सोच राखेकी छन्। उनी आफूले निर्माण गर्ने फिल्ममा नयाँ प्रतिभालाई मौका दिने बताउँछिन्। भन्छिन्, ‘म हरेक वर्ष एउटा फिल्म निर्माण गर्नेछु। मैले निर्माण गर्ने फिल्ममा नयाँ प्रतिभावान् व्यक्तिहरूले मैका पाउनुहुनेछ।‘

उनी फिल्म क्षेत्रमा केही नयाँ सोच र प्रतिभा भएको व्यक्ति आएको हेर्न चाहन्छिन्। तर नयाँ व्यक्तिलाई डेब्यु गर्न निकै गाह्रो हुने उनको बुझाइ छ। अब भने उनी आफूले निर्माण गर्ने फिल्मबाट त्यस्ता प्रतिभालाई बाहिर ल्याउने बताउँछिन्। ‘यहाँ धेरै प्रतिभावान् व्यक्तिहरूले मौका नपाएको अवस्था छ’, उनी भन्छिन्, ‘अब मैले निर्माण गर्ने फिल्मबाट त्यस्ता प्रतिभावान् व्यक्तिहरूले मौका पाउनुहुनेछ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.