|

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालयले वेमौसममा पनि भैंसीमा गर्भधारण गर्ने प्रविधिको विकास गरेको छ। पशु प्रजनन् प्रविधि विभागले वेमौसममा भैंसीमा गर्भधारण गराउन थालेको अनुसन्धान सफल भएको हो। 

चैतदेखि असार मध्यसम्म भैंसीमा गर्भधारणको हिसाबले वेमौसम मानिन्छ। जस अनुसार सो विभागले गत वर्षको असार २ गते आठ वटा भैंसीमा गराएको गर्भधारणबाट पाँच वटा भैंसी ब्याएका छन्। ती भैंसी चैत २९ गतेदेखि वैशाख १० गतेसम्म ब्याएका हुन्।

मुख्य अनुसन्धानकर्ता प्रा.डा. भूमिनन्द देवकोटाका अनुसार सन् २०१३ बाट निरन्तर गरिएको अनुसन्धानबाट यो सफलता मिलेको हो। यस वर्ष विश्वविद्यालयका सात भैंसी र एक जना किसानको भैंसीमा परीक्षण गरिएको थियो। जसबाट विश्वविद्यालयका चार र किसानको एक भैंसी व्याएका हुन्।

देवकोटाका अनुसार साउनदेखि मंसिरसम्म भैंसीको प्रजनन्को हिसाबले सबैभन्दा उपयुक्त मौसम मानिन्छ। पुसदेखि फागुनसम्मको समयलाई मध्यम र त्यसपछिको समय पूर्ण सुख्खा एवं गर्भधारणका लागि अनुपयुक्त मानिन्छ। 

देवकोटाको टोलीले भैसीको न्यून प्रजनन क्षमताको समयमा प्रजनन क्षमता बढाउनका लागि गरेको अनुसान्धान सफल गरेको हो। नेपालमा भैसी पालन गर्ने कृषकहरु एउटै मौषममा मात्र भैसीको गर्भाधारण हुने र प्रजनन हुने समस्याले पीडित छन्। 

अनुसन्धान सफल भएपछि आज विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा देवकोटाले यो अनुसन्धानले नेपालमा भैसीको उत्पादन, उत्पादकत्व बृद्धी गर्न सहयोग पुग्ने बताए। 

१० वर्ष अघि जापानबाट पशु प्रजनन् प्रविधिमा विद्यावारिधि गरी नेपाल फर्किदा देवकोटाले भैंसीको परीक्षण गर्ने अल्टासाउण्ड उपकरण लिएर आएका थिए। त्यसपछि सोही अल्ट्रासाउण्ड मेसिनबाट भैंसीको पाठेघरको ओभरी हेरेर हर्माेन परीक्षण गरी अनुसन्धान गरिंदै आएको छ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा आईपी ढकालले रामपुरमा भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न पहल भइरहेको बताए। 

उनले ब्राजिलमा मुर्रा भैंसीले एक बेतमा पाँच हजार लिटरसम्म दूध दिने गरेको भए पनि नेपालमा दुई हजार लिटर हाराहारी मात्रै दूध उत्पादन हुने भन्दै दूधको मात्रा बढाउने र सबै मौसममा दूध दिने गरी अनुसन्धान गर्नुपर्ने बताए।

सो अवसरमा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपति र पशु पोषण विभागका प्रमुख प्रा.डा.नवराज देवकोटाले सरकारले अनुसन्धानमा बजेट नदिँदा सोचे अनुरुप काम गर्न नपाए पनि आन्तरिक बजेटबाट अनुसन्धानलाई अगाडि बढाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.