सबै शवको अस्थायी चिहान

|

काठमाडौं : तीन वर्ष अगाडि २०७२ बैशाख १२ को भूकम्पमा मृत्यु भएर टिचिङ अस्पतालमा राखिएका शवहरूमध्ये ३१ वटा शवको अझै सनाखत भएको छैन।

हाल सनाखत नभएका ३१ शवहरूलाई शिक्षण अस्पताल हाताभित्रै अस्थायी चिहान बनाएर राखिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. प्रमोद श्रेष्ठले बताए।

उनले भने, 'भूकम्पको बेलामा यहाँ आएकामध्ये ३१ वटा शवको अझै सनाखत भएको छैन, कालान्तरमा शवको पहिचान खुलेमा आफन्तलाई बुझाउनुपर्ने हुन्छ। यसले गर्दा हामीले अस्पताल परिसरमै ती शवहरूको अवशेषलाई व्यवस्थित गरेर गाडेर राखेका छौँ।'

हाल ती शवहरूको अवशेषलाई पोकापोका पारिएका छुट्टाछुट्टै ट्याग नम्बर टाँसेर टिचिङकै हातामा रहेको खाली जग्गामा कोड नम्बरसहित गाडेर अस्थायी चिहान बनाएर राखिएको डा. श्रेष्ठले बताए। डा. श्रेष्ठले भने, 'सरकारले जलाइदेऊ भनेको थियो, हामीले मानेनौँ, कालान्तरमा शवको पहिचान खुल्यो र आफन्तले शव खोजे भने यही अवशेष दिन्छौँ।'

भूकम्प गएको ११ महिनापछि (२०७३ चैत ५ गते)सम्म पनि यी शवहरूको सनाखत नभएपछि यी शवहरूलाई व्यवस्थित रूपले फरेन्सिक मेडिसिन विभाग अगाडिको खाली चार आना जग्गाको एक छेउमा एल आकारमा गाडेर राखिएको समेत डा. श्रेष्ठले जानकारी दिए।

उनले भने, 'कुनै दिन मृतकका आफन्त शव खोज्दै आउनुभयो भने दिनुपर्छ भनेर हामीले सुरक्षित तरिकाले शवका अवशेषहरू गाडेर राखेका छौँ। गाड्दा एकले अर्को शवलाई छोएको छैन।’ 

एल आकारमा गाडेर राखिएको छ शव

शवलाई अंग्रेजी अक्षर एल आकार बनाएर गाडेर राखिएको छ। यसरी राखिएको प्रत्येको प्रत्येक शवहरूको  खाडल पाँच फिट गहिरो खनिएको छ, जसमा एक शवले अर्को शवलाई छोएको छैन। १६ वटा ठाडो लाइनमा र १५ वटा तेर्सो लाइनमा राखिएको छ। हरेक शवसँगै फलामको नम्बर प्लेट राखिएको छ। यस्तै, सहजै पहिचान गर्नका लागि जमिनमाथि फलामको रडमा स्टिलपातामा कुँदेको नम्बर प्लेट पनि राखिएको छ ।

सबै शवहरूका आआफ्नै कोड नम्बर

मृतका आफन्तले लिएर आएको एन्टिमोटम डाटा र फरेन्सिक विभागले मृतकको बारेमा राखेको डाटा मेल खाएर सनाखत हुन सकोस् भनेर विभागले गाडेको ठाउँमा गएर खोज्दा पहिचान गर्न सक्ने गरी सबै शवहरूलाई कोड नम्बरको आधारमा विवरण राखेको छ।

त्यसका लागि आफ्नो मान्छेले कस्तो कपडा लगाएको थियो, कस्तो वर्णको थियो, उसको उचाइ कति थियो, पुरुष वा महिला के हो, कुनै औँलाको छाप र अन्य रेर्कडहरू भए सोहीका आधारमा पहिचान गर्न सकियोस् भनेर विभागले ३१ वटा शवको छुट्टाछुट्टै डिएनए र औँठा छाप ल्यावबाट बनाई सुरक्षित राखेको छ। सबै शवहरू कोड नम्बरका आधारमा राखिएको छ। १०१ देखि क्रमश: १३१ सम्म कोड नम्बर राखेर व्यवस्थित रूपमा गाडिएको छ।

यसरी राखिएका शवहरूको कुनैको ढाडको हड्डी, कुनैको हात खुट्टा राखिएको समेत डा. श्रेष्ठले बताए। यसरी राखिएका शवमध्ये दुई महिना अगाडि एक जना अमेरिकी र एक जना फ्रान्सेली नागरिको शव पहिचान भएर आफन्तलाई शवको अशेष बुझाइएको समेत डा. श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.