विद्यालय जाने प्रत्येक बालिकालाई साइकल: अध्यक्ष

|

जनकपुरधाम : प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले अभिभावकविहीन बालिकाको अभिभावकत्व ग्रहण गरेका छन्। ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत धनुषाको मिथिला आधारभूत विद्यालय कचुरीले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्री राउतले मिथिला विहारी नगरपालिका – ८ लक्ष्मीनियाँकी कुमारी दासको अभिभावकत्व ग्रहण गरेका हुन्। 

कार्यक्रममा मुख्यमन्त्री राउतका अतिरिक्त प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले श्रवण कुमार मल्लिक, मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले प्रिति कुमारी महरा र उप–मेयर अनिता साहले अम्विका मल्लिकको अभिभावकत्व ग्रहण गरेका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको विशेष योजना ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत सहयोग गर्न सबै पक्षसँग अपील गर्दै छोरालाई शिक्षित बनाइए एक जना मात्र शिक्षित हुने तर छोरीलाई शिक्षित बनाइए पूरै परिवार शिक्षित हुने भएकालाई छोरी शिक्षालाई विशेष प्राथमिकतामा प्रदेश सरकारले राखेको बताए। उनले अशिक्षाकै कारण समाजमा हिंसालगायतका कुरितिहरु व्याप्त रहेकाले त्यसलाई अन्त गर्न समेत शिक्षामा जोड दिनुपर्ने बताउदै राउतले दलित बालिकाहरुको लागि सरकारले शिक्षा विमा योजना, दिवा खाजा योजना सहितका गृहकार्य गरिरहेको बताए।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले शिक्षा नै विकासको मुख्य आधार भएकोले प्रदेश सरकार विशेष योजनासहित बालाबालिकालाई शिक्षित बनाउने अभिभाराका साथ अभिभावक, विद्यालय र समाजलाई समेत उतिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए। 

वडा अध्यक्ष जिवछ यादवको अध्यक्षतामा भएको कार्यक्रममा मिथिला विहारी नगरपालिकाको मेयर अनिल कुमार यादवले बालिकाहरुको लागि नगरपालिकाले समेत विशेष प्याकेज ल्याएको बताए। उनले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार रुपैयाँ प्रदान गरिनुका साथै विद्यालय जाने प्रत्येक बालिकालाई साइकल उपलब्ध गराउने घोषणासमेत गरे। उनले प्रदेश सरकारले घोषणा गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई सफल बनाउन काँधमा काँध मिलाएर अघि बढने प्रतिबद्धतासमेत व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.