‘१३ सय कर्मचारीले स्वेच्छिक अवकास लिए, पेन्सनपट्टा बनिरहेको छ’

|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकतन्त्र र गणतन्त्रको सम्मानका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्। मंगलबार राजधानीमा आयोजित १२औँ लोकतन्त्र दिवसको अवसरमा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्। 

मन्त्री पण्डितले लोकतन्त्रका लागि धेरैले बलिदानी दिएको बताए। ‘०४६ सालको आन्दाेलन र दोस्रो जनआन्दोलन २०६२/०६३ मा म स्वयं सहभागी भएको मानिस हुँ। त्यसैले ममा लोकतन्त्र र गणतन्त्रप्रति ठूलो भरोसा छ’, मन्त्री पण्डितले भने, ‘तमाम व्यक्तिहरू घाइते बन्नुभएको छ। सरकारले जनआन्दोलनका घाइते, शहीद र पीडित परिवारको हकहितको लागि दिँदै आएको सेवा सुविधामा पनि फेरबदल गर्नुपर्छ। यसका लागि म पहल गर्छु।’ 

मन्त्री पण्डितले अधिकार संस्थागत भइसकेकाले आगामी यात्रा समृद्धि भएको भन्दै सबैले एक भएर विकासमा लाग्नका लागि पनि आग्रह गरे। मन्त्री पण्डितले भने, ‘गणतन्त्र स्थापना भएको छ। लोकतन्त्र समृद्धिमा प्रवेश गरेको छ। आगामी बजेट निर्माणमा शहीद, घाइते, बेपत्ता परिवारका लागि उचित किसिमको सेवाका लागि म सुझाव दिनेछु।’

मन्त्री बनेदेखि नै आक्रामक रूपमा काम गर्दै आएका मन्त्री पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई राष्ट्रसेवकको रूपमा नहेरिने चेतावनीसमेत दिए। मन्त्री पण्डितले भने, ‘मन र व्यवहार अलि फरक कुरा हुन्। मन छिटो दगुर्छ, व्यवहार विस्तारै देखिन्छ। हामीले धेरै कामका बारेमा आफूलाई क्रियाशील बनाएका छौँ।’

कर्मचारीको हकमा स्वेछिच्क अवकास लिने व्यवस्था आफूहरूले हटाएको उनको दाबी थियो। ‘नियमितबाहेक अरू कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न। सरकारले खटाएको ठाउँमा काम गर्न जानुपर्छ', उनले भने, 'अहिलेको अवस्थामा सरकारले कर्मचारीलाई पैसा साथमा राखेर घर पठाउन सक्ने स्थिति नै छैन। राष्ट्रसेवकले राष्ट्रको काम गर्नुपर्छ। समृद्धिको अभियानमा साथ दिनुपर्छ।’

मन्त्री पण्डितले अहिलेसम्म एक हजार ३०० कर्मचारीले स्वेच्छिक अवकाश लिएकाको पेन्सनपट्टा दिलाउने काम भइरहेको जानकारी दिए। उनले भने, ‘अब बाँकीको जति पनि निवेदन आएका छन्, तिनीहरूको स्वेच्छिक अवकाश स्वीकृत हुँदैन। नियमितबाहेक अरू कर्मचारीले स्वेच्छिक अवकास पाउनुहुन्न।’ 

मन्त्री पण्डितले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरूलाई भूतपूर्व नेपालीको संज्ञा दिए। उनले त्यस्ता नागरिकलाई नेपालको पैतृक सम्पति बेचेर विदेशमा लैजान नदिने तयारी आफूहरूले थालेको समेत खुलासा गरे। मन्त्रीले भने, ‘विदेशी नागरिक बनिसक्नुभएका पूर्व नेपालीले नेपालको पैतृक सम्पति लिन पाउनुहुन्न।’

ऐतिहासिक जनआन्दोलन शहीद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्यले शहीद परिवारको तर्फबाट संसदमा प्रतिनिधित्व नगराएर राजनीतिक दलहरूले ठूलो गल्ती गरेको गुनासो पोखे। शहीद यमलाल लामिछानेका छोरा द्रोणप्रसाद लामिछानेले लोकतन्त्र दिवसको अवसरमा सरकारले बेवास्ता गरेको बताए। जनआन्दोलनकी अर्की घाइते यमुना श्रेष्ठले सरकारले लोकतन्त्र दिवसलाई उपेक्षा गरेको आरोप लगाइन्। घाइते श्रेष्ठले भनिन्, ‘हामीले धेरैथोक मागेका छैनौँ। हाम्रो माग भनेको समृद्ध मुलुक बन्नुपर्छ भन्ने हो। न्यायोचित समाजको स्थापना, भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने नै हो।’ 

यसै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालले जनआन्दोलनका घाइते मेघराज आचार्य, रमेश राई, यमुना श्रेष्ठ, शहीद पत्नी मैना कार्की, लक्ष्मी राई, शहीद परिवार सदस्य द्रोणप्रसाद आचार्यलाई अभिनन्दन गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.