|

सुर्खेत : मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा बेलायतको अन्तराष्ट्रिय विकास नियोग (डिएफआईडी)ले लिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको कार्यक्रममा डिएफआईडीले उक्त रोड निर्माण गर्ने घोषणा गरेको हो।

ग्रामीण पहुँच कार्यक्रम अन्तरगत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने बताएको हो। ६५ किलोमिटर लामो यो सडकले मुगुको रारा–छायाँनाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिकाको देउली गाउँलाई जोड्ने छ।

बेलायत सरकारको रु २ अर्ब २४ करोड लागतमा निर्माण हुन लागेको यो सडकले भौतिक पूर्वाधारमा कमजोर रहेको कर्णाली प्रदेशको विकासमा टेवा पुग्ने अपेक्षा कर्णाली प्रदेशकका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले व्यक्त गरे। शाहीले हिमालका दुई जिल्ला जोड्ने लिंक रोड निर्माण पश्चात् ग्रामीण भेगका नागरिकहरुलाई आवत–जावत गर्न सहज हुने उनले बताए। 

बेलायत सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम सन् २०१३ बाट सुरु भएको हो। मुगु, हुम्ला, कालिकोट र बाजुरामा नयाँ सडक निर्माणको घोषणा र जुम्ला तथा दैलेखसहित १० जिल्लाहरुमा स्थानीय सडकहरुको मर्मत सम्भार भइरहेको डिएफआईडीले जानकारी दिएको छ। 

सडक निर्माणपश्चात ग्रामीण क्षेत्रका व्यापारिक मार्ग मुगु–हुम्लालाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्ने विश्वास कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाको छ। भौतिक पूर्वाधारको विकास नगरेसम्म अन्य क्षेत्रको विकास गर्न नसकिने भएकाले सरकारले बाह्य लगानी भित्राउने खालका नीतिहरु निर्माण गर्न लागेको मन्त्री ज्वालाले बताए ।

मुगु–हुम्ला लिंक रोड आसपासमा जनघनत्व न्यून रहेकाले सडक निर्माणमा तिव्रता दिन प्रविधि र श्रमिक दुवै विधिको प्रयोग गरिने डिएफआईडीका नेपाल प्रमुख रुरिक मार्सडेनले जाकारी दिए। मुगु–हुम्ला लिंक रोड निर्माणको क्रममा दैनिक छ हजारलाई रोजगार सिर्जना हुनेछ भने ८ हजार परिवारको आम्दानीमा टेवा पुग्ने बताइएको छ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्री, सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री नन्दसिंह बुढा, कृषि मन्त्री विमला केसी, हुम्ला जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावत, मुगु जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाय, छायाँनाथ–रारा नगरपालिकाका मेयर हरिजंङ्ग शाही, चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई लगायतको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.