तीन वर्षयता पालभित्र प्रहरी

|

काठमाडौं : २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पले देशका करिब २०० प्रहरी कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने ५७१ मा आंशिक क्षति पुगेको थियो। आंशिक क्षति पुगेका कार्यालय पुनर्निर्माण भए पनि पूर्ण क्षति पुगेका १९६ कार्यालय अझै बनेका छैनन्।

पूर्ण क्षति भएकामध्ये जम्मा तीन कार्यालय मात्रै बनेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपानेले बताए। क्षति भएका कार्यालय नबन्दा प्रहरी पालभित्रै बस्न बाध्य छन्। त्यसको एक उदाहरण हो, काठमाडौं महानगरीय प्रहरी परिसर टेकु।

वैशाख १२ गतेको भूकम्पले वसन्तपुरमा रहेको प्रहरी कार्यालय भत्किए पछि परिसरको कार्यालय टेकुस्थित नेसनल ट्रडिङ लिमिटेडको घरमा बस्दै आएको छ।   भूकम्प गएको तीन वर्ष हुँदा पनि आफ्नै भवन बन्न नसकेपछि महानगरीय प्रहरी परिसर त्रिपालमै बसेर काम गर्न बाध्य भएको हो।

प्रहरीहरूले जाडो र गर्मीको वास्ता नगरी जेनतेन काम गरेपनि थुनुवाको लागि भने धेरै समस्या हुने गरेको छ। पाल नयाँ हुँदासम्म केही सहज भए पनि च्यातिन थालेकाले समस्या हुन थालेको प्रहरीहरूको भनाइ छ। भूकम्प गएको तीन वर्ष बित्दा पनि प्रहरी चौकी पुनर्निर्माण नभएका कारण देशभरका सयौं प्रहरी कार्यालय अझै पालकै भरमा चलेकाछन् ।

‘काठमाडौंकै प्रहरी परिसर टेकुमै त प्रहरीले हरेक काम पाल मुनि बसेर गरेका छन् भने काठमाडौं बाहिरको के हालत होला?’ प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) नेउपानेले भने। ‘प्रहरीको बास त पालमुनि छ, थुनुवाको अवस्था कस्तो होला?, कति कोचाकोच गरेर राखिएका होलान्? नेपाल प्रहरीसँग बजेट अभावका कारण समस्या समाधानको पहल नभएको उनको भनाइ छ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार अहिले पनि देशभरका १९६ प्रहरी कार्यालय त्रिपाल र भाडाको भरमै सञ्चालनमा रहेका छन्। उपत्यकाका मुख्य कार्यालयहरू महानगरीय प्रहरी परिसर र अपराध महाशाखा मात्रै नभएर अरु प्रहरी कार्यालय पनि अझै पाल टाँगेर बस्न बाध्य भएको नेउपानेको भनाइ छ।

भूकम्पको तीन वर्ष बितिसक्दा पनि यसरी प्रहरी कार्यालय पालमुनि बस्दा सुरक्षा चुनौतीदेखि अन्य समस्या भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता नायब उपरीक्षक मोहन थापा बताउँछन्। भूकम्पले क्षति पुर्‍याएका सम्पूर्ण प्रहरी कार्यालय पुनर्निर्माण गर्न र बाँकी प्रहरी कार्यालय निर्माणको लागि प्रहरी प्रधान कार्यालयले करिब २५ अर्ब रकम लाग्ने र अहिलेकै शैलीमा बजेट अभाव भइरहने  हो भने सयौं वर्ष सम्म पनि कार्यालयहरु बन्न नसक्ने डीआईजी नेउपानेको भनाइ छ।

कहाँ कहाँ हुँदैछन् पुनर्निर्माण ?

प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा भवन निर्माणाधीन अवस्थामा छन्। त्यस्तै प्रदेश एकमा २० वटा कार्यालय, प्रदेश तीनमा ६४ वटा, प्रदेश चारमा १२ वटा प्रदेश पाँचमा एक र अन्य गरी १०३ प्रहरी कार्यालय नयाँ निर्माण हुन लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.