|

चितवन : भरतपुर महानगरसहित चितवनका अन्य नगरपालिकाकाको बजार क्षेत्रका घरहरु डेंगु पोजेटिभ रहेको पाइएको छ। फागुन र चैतमा यहाँ सञ्चालित डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो। गत फागुन २८ देखि चैत ३ सम्म जिल्लाको भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो। 

उक्त अभियानको प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले खोजी अभियान चलाइएका क्षेत्रका घरहरु हेर्दा ५.२८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताए। 

उनका अनुसार राप्ती, कालिका नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका ७ हजार ३०६ वटा घरमा स्वयंसेविकाहरु खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो। अभियानका क्रममा ३८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताए। यहाँका कुल २८ हजार १४७ भाँडा खोजी अभियान चलाउँदा ६८८ भाँडामा लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ। 

स्थानिय तहसँगको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु रोग फैलनबाट रोक्न चलाएकोे अभियान प्रभावकारी भएकाले निरन्तरता दिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

गर्मी मौसम बढ्न थालेकाले डेंगु रोग पनि फैलन सक्छ। विभिन्न क्षेत्रका घर डेंगु पोजेटिभ देखिएकाले सावधानी अपनाउनुपर्ने विज्ञहरु सुझाव दिन्छन्। रोेग लाग्नुभन्दा पहिले नै नियन्त्रणका उपाए सुरु गर्नुपर्छ भनेर स्थानीयलाई सचेत गराउँदै घरघरमा गएर डेंगु रोग, यसको सर्ने कारण र सावधानी अपनाउने विषयमा जानकारी दिने, लामखुट्टेका लार्भा भए नभएको हेर्ने, फेला परेमा नष्ट गर्ने गरिएको थियो। 

अभियानको प्रतिवेदनमा राप्ती र कालिका नगरपालिकामा डेंगुको बढी संक्रमण पाइएको छ। राप्ती नगरपालिकाको १ हजार ८०५ घरमा खोजी गर्दा १४९ घर पोजेटिभ फेला परेको छ। कालिका नगरपालिकाको ८९६ घरमा खोजी गर्दा ९३ घर पोजेटिभ देखिएको छ। 

यस्तै, भरतपुर महानगरपालिकाको ४ हजार ६०५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको छ। भरतपुर महानगरका १५ हजार ३७० भाँडा परीक्षण गर्दा ४३० भाँडामा लार्भा र प्यूपा फेला परेकाले थियो। 

पछिल्लो तथ्यांकअनुसार चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्म १ हजार १६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ। यसबीचमा मकवानपुरका एक व्यक्तिको डेंगुले मृत्यु भएको थियो। 

पछिल्लो २ महिनामा भने डेंगु देखिएको छैन। मुख्यगरी साउनदेखि कात्तिकसम्म बढी संक्रमण हुने भएपनि विगतका वर्षहरुमा वैशाख, जेठ र असारमा समेत डेंगु संक्रमण भएको थियो।

नेपालमा सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु देखिएको थियो। २०१० अर्थात आर्थिक वर्ष २०६७÷६८ सालमा चितवनमा महामारी फैलिँदा पाँच जनाको मृत्यु भएको थियो।

यसरी बच्न सकिन्छ

पानी परेर पुनः सुख्खा हुँदा डेंगुको संक्रमण बढ्न सक्छ। तर, बेलैमा सावधानी अपनाए डेंगु रोग संक्रमण हुनबाट जोगिन सकिन्छ। यसका लागि  घर वरपर सरसफाइमा ध्यान दिने, भाँडाकुँडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्नु पर्दछ।

जमेको पानीमा संक्रमित एडिस एजेप्टाई जातको लामखुट्टे हुर्किने भएकाले त्यसबाट डेंगु लाग्छ। एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने डा. भोजराज अधिकारीले बताए। यसको खास उपचार नभएकाले लक्षणअनुसार चिकित्सकले उपचार गर्ने उनको भनाइ छ।

डेंगु सार्ने लामखुट्टेले फालिएका टायर, प्लाष्टिकका भाँडा, अण्डाको खबटा, भाँडाका बिर्काे, गमला, एसी र फ्रिजको पानी जम्ने स्थानमा बस्ने र बच्चा हुर्काउने गर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.