|

काठमाडौं : तत्कालीन भुटान सरकारबाट लखेटिएका नेपालीभाषी भुटानीले कष्टकर जीवन बिताएको २६ वर्ष बितिसक्यो। तर, समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदेखाएको भुटानी शरणार्थीको आरोप छ। सन् १९९२ ताका भुटान सरकारले नेपालीभाषी भुटानीलाई दमन गरसँगै उनीहरू भाग्दै नेपालसम्म आइपुगेका थिए।

त्यसताका नेपालीभाषी भुटानीलाई तत्कालीन भुटान राज्यसत्ताले सेनाको प्रयोग गरेर भुटानबाट लखेटेको भुटानी शरणार्थी अगुवाहरू बताउँछन्। त्यसबेला कतिलाई सेनाले गोली हाने, कति महिलालाई बलत्कार नै गरे। त्यो पीडा र दमन सहन नसकेर भुटानी शरणार्थी शरण माग्दै नेपालसम्म आइपुगे।

सन् १९८८ ताका नेपालीभाषी भुटानीलाई चाडपर्व मनाउन पनि बन्देज लगाइयो। नेपालीभाषी भुटानीले आन्दोलन पनि गरे। जनताको शान्तिपूर्ण आन्दोलनलाई दबाउन सैनिक शासननै लगाइएको भुटानी अगुवा शन्तवीर घले बताउँछन्। भुटान सरकारको दमन सहन नसकेका उनीहरू भारतको बाटो हुँदै नेपाल आए। नेपाल आएर सुरुका समयमा उनीहरू झापाको कनकाई माईस्थित बगरमा बसे त्यहाँ बस्दा धेरै भुटानी शरणार्थीको विभिन्न रोगका कारण मृत्यु पनि भयो।

उनीहरूलाई दातृ निकायले हेर्न थालेपछि झापा र मोरङमा शिविर खडा भयो। त्यसबेला दातृ निकालयको सहयोगमा झापाको गोल्धाप, खुदुनाबारी, टिमाई, दमक र मोरङको पथरीमा शनिश्चरे शिविर खडा भयो। तर, अहिले ती शिविर खाली छन्।

सन् २००८ पछि दातृ निकाय शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै क्यानडा, अमेरिकालगायत तेस्रो मुलुकमा पुनर्वास गर्‍यो। त्यसपछि  गोल्धाप, खुदुनाबारी र टिमाईका शिविर दमक र पथरी शनिश्चरेमा गभिए। पथरी शनिश्चरे र दमक पनि पछिल्लो समय सुनसान बनेको छ।

सन् २००८ यता करिब एक लाख १० हजारभन्दा बढी शरणार्थी पुनर्वास भइसकेका छन्। अब दुईवटा शिविरमा गरेर करिब चार हजार पाँचसयको हाराहारीको संख्यामा मात्र शरणार्थी छन्। उनीहरूमध्ये १ हजार ७४१ दर्ताविहीन शरणार्थी छन्। सबैभन्दा बढी समस्यामा परेका शरणार्थी नै दर्ताविहीन हुन्। उनीहरू त न तेस्रो देश जान पाउछन् न शरणार्थीको रुपमा पाइने सुविधा नै पाउछन्। सबै परिवार पुनर्वासमा गएका कारण उनीहरू बिचल्लिमा परेका छन्।

के हो समस्या?

शिविरमा देखिएको मुख्य समस्या पुनर्वास प्रक्रिया हो। पुनर्वास प्रक्रिया खुल्ला गरेसँगै शिविरमा एक्लिएका वृद्धवृद्धा धेरै छन् शिविरमा। उनीहरू स्वदेश फर्कन पाइने आशाले अहिलेसम्म शिविरमा छन्। परिवारका सबै सदस्य तेस्रो मुलुक गएका कारण उनीहरूको बिचल्ली छ। कतिपय त यहीँ कारण डिप्रेसनको शिकार भएका छन्।

अर्को समस्या हो, खाद्यान्न कटौति। अहिले शिविरमा रहेका भुटानी शरणाथीले २८ दिनको लागि ९ किलो चामल मात्र पाइरहेको गरेको शरणार्थी शिविर बेल्डाँगीको शिविर व्यवस्थापन समिति सचिव टीकमराम रसाइली बताउँछन्। भन्छन्,‘खाद्यान्न नुन, तेल, दाल, सब्जी, चिनी, पिठो, आदी पूरै कटौती भएको छ। यस्तै, दैनिक जीवनमा चाहिने अखाद्य सामाग्री साबुन, मट्टितेल र कपडाजन्य सामाग्री पूरै कटौती भयो।’

यस्तै शिविरममा सञ्चालन भएको स्वास्थ्य सेवाको समते कटौती भएको छ। यस्तै गरी शिविरमा सञ्चालन भएका विद्यालयहरूसमेत यस वर्षदेखि सञ्चालन हुन छाडेको उनी बताउँछन्। शरणार्थी समस्याको दीर्घकालीन समाधानको बाटो नखोजि यसरी पाउँदै गरेको सेवा कटैती गर्न नहुने भुटानी अगुवा युवराज सङ्पाङ राई बताउँछन्। उनी भन्छन्,‘भुटान सरकारसँग वार्तागरी दीर्घकालीन समस्या समाधानको पहल नभई रहेको अवस्थामा यसरी सेवा कटौती गर्नु राम्रो होइन।’

के हुन् समाधानका उपाय?

भुटानी शरणार्थीको पहिलो माग हो स्वदेश फिर्ती। विगत लामो समयदेखि स्वदेश फर्कन पाउनुपर्ने आशा बोकेर धेरै वृद्धवृद्धा पुनर्वास प्रक्रियामा गएका छैनन्। मानवअधिकारको सम्मान गर्दै भुटानी शरणार्थीलाई स्वदेश फर्कने वातावरण बनाइनु पर्ने शरणार्थी शिविर पथरी शनिश्चरेका सचिव चम्पासिंह राई बताउँछन्। उनले भने,‘आफ्नो भुटान देश फिर्तीका निम्ति नेपाल सरकार र युएनएचसिआरले संयुक्त पहल गरी स-सम्मान फिर्ती गराउँनु पर्छ।’

यस्तै, शरणार्थी भएर बस्दाको क्षतिपूर्ती भुटान सरकारसँग शरणार्थीले माग गरेका छन्। उनीहरूले शरणार्थीलाई स्वदेश फर्काएर भुटानमा रोजगारी गर्ने र उद्योग व्यापार तथा व्यवसाय गर्ने वातावरण मिलाउनु पर्ने शरणार्थीको माग छ।

यस्तै समस्याको समाधान नभएसम्म भुटानी शरणार्थीलाई दिइँदै आएको रासन लगायतका सुविधा कटौती नगर्न राईको माग छ। भन्छन्, ‘स्थायी बसोवास, पूर्णअधिकार र कर्तव्य सहितको नागरिकको दर्जा जबसम्म भुटान सरकारले दिँदैन तबसम्म विश्व खाद्य संघ संगठन, साथै संयुक्त राष्ट्रसंघको साथ सहयोग कटौती गर्न पाइँदैन।

यस्तै, शिविरमा धेरै शरणार्थीहरू पुनर्वास प्रक्रियाबाट वञ्चित भएका छन्। विविध कारणले उनीहरू पुनर्वास हुन नसकेका कारण परिवारिक विछोडको पीडामा समेत परेका छन्। यस्तो अवस्थामा पुनर्वासमा जान चाहाने सबैलाई जान दिइनुपर्ने उनीहरूको माग छ। राई भन्छन्,‘पुनर्वास हुन चाहने तर विविध कारणवश रोकेर राखेकाहरूलाई किन जान दिइएको छैन? उनीहरूलाई चाँडो पुनर्वास गराउनु पर्छ।’

यस्तै, दर्ताविहीन शरणार्थीलाई तत्काल परिचयपत्रको व्यवस्था गर्नुपर्ने शरणार्थीको माग छ। अहिले शिविरमा १ हजार ७४१ जना दर्ताविहीन शरणार्थी छन्।

यस्तै नेपालमा नै बस्न चाहनेलाई समेत स्थानीयकरण गराउनुपर्ने शरणार्थीको माग छ। २६ वर्ष नेपाल बस्दा शरणार्थी र स्थानीयबीच संस्कृति सबै मिल्ने भएकाले यहाँ बस्न चाहनेलाई नागरिकता उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ।

यस्तै, स्थानीयकरण गराउँदा जिविकोपार्जनको निम्ति युएनएचसिआरको सहयोगमा नेपाल सरकारले प्रतिव्यक्ति ५० लाख  र प्रति परिवारलाई पक्की घर निर्माण गरिदिनुपर्ने उनीहरूको माग छ। उनीहरूले धनीपुर्जासहित प्रति परिवारलाई पाच कट्ठा जमिन उपलब्घ गराइनुपर्ने मागसमेत गरेका छन्।

भुटानी प्रतिनिधि मण्डलको टोली काठमाडौंमा

भुटानी शरणार्थीको समस्या समाधानको माग गर्दै भुटानी शरणार्थीको टोली काठमाडौं आइपुगेको छ। पटकपटक समस्या समाधानका लागि भन्दै सरकारी निकायमा अपील चढाउँदै अएका उनीहरूले यसपटक पनि समस्या समाधानको माग लिएर सरकारी निकाय धाएका छन्। उनीहरूले गृहमन्त्री रामबहादुर थापा र पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर आफ्ना माग राखेका छन्। 

यस्तै शरणार्थी सम्बन्धि संयुक्त राष्ट्र संघीय उच्च आयोग युएनएचसिआरका नेपाल प्रमुख मिनाको काकुमालाई समेत आफ्ना माग बुझाएका छन्। भेटका क्रममा गृहमन्त्री थापा र परराट्रमन्त्री ज्ञवालीले समस्या समधानमा आफूहरूले पहल गरिरहेको बताएको प्रतिनिधिमण्डलका सदस्यहरूले बताएका छन्। उक्त टोलीमा दमक शिविरका सचिव टीकाराम रसाइली, पथरीका सचिव चम्पासिंह राई र भुटानी अगुवा युवराज सम्पाङ राई रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.