|

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सत्ता पक्ष, प्रतिपक्ष, मधेसी, पहाडी, हिमाली सबै मिलेर एकपटक विकासका लागि संकल्प गर्ने बेला आएको बताएका छन्।

 ८/१० वर्ष मात्रै देश विकास र सुशासनतिर केन्द्रित भएर लाग्न सकियो भने अन्य देशलाई समेत उछिन्ने सम्भावना रहेको भन्दै दाहालले एकताको संकल्पको खाँचो रहेको औँल्याए।

चितवनको भरतपुरस्थित नेपाल नेत्रज्योति संघको केन्द्रीय साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले ७० वर्षदेखि प्राप्त गर्न नसकेको चिज यतिबेला प्राप्त भएको भन्दै  स्थिरताको सम्भावना मात्रै होइन जगसमेत बसिसकेको दाबी गरे।

उनले भने, ‘कसैलाई कुनै पनि प्रकारको अतिवादतिर जाने अब कुनै ग्राउन्ड छैन, सबै मूलधारतर्फ केन्द्रित हुनुपर्छ।’

 नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने प्रचण्डको जिकिर थियो। नेपाल नेत्रज्योति संघको २५औँ केन्द्रीयसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुरामा होस या चीनका राष्ट्रपति सी जिङ पिङसँगको कुरामा होस मैले भनेको छु तपाईहरु एक्लै विकास गर्छु भनेर बीचमा भएको नेपाललाई छोड्नुभयो भने तपाईंहरुको विकास पूर्ण हुनेवाला छैन।’

पछिल्लो समय दुवै देशसँगको सम्बन्ध थप सुमधुर बन्दै गएको दाहालले बताए। पूर्वप्रधानमन्त्री तथा चितवनबाट प्रतिनिधिसभा सदस्य दाहालले शिक्षा स्वास्थ्य र रोजगारी जनताको नैसर्गिक अधिकार भएको भन्दै सरकारले यसलाई विशेष जोड दिएको बताए।

नेपाल नेत्रज्योति संघले स्वास्थ्य, शिक्षासँगै अनुसन्धानात्मक काम गरिरहेको भन्दै उनले प्रशंसा गरेका थिए। सो अवसरमा प्रदेश सभा सांसदहरु विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्राडा. ईश्वरीप्रसाद ढकाल, शान्ति जोशीलगायतले बोलेका थिए।

संघका केन्द्रीय अध्यक्ष प्राडा. तीर्थप्रसाद मिश्रले नेपालमा १८ अस्पताल र ८४ उपचार केन्द्र मार्फत आँखा उपचार सेवा दिँदै आएको बताए। मिश्रका अनुसार एक वर्षमा ३ लाख ५० हजार हाराहारीको शल्यक्रिया र ३५ लाखलाई सेवा दिँदै आएको छ।

नेपाल नेत्रज्योति संघका कोषाध्यक्ष चिजकुमार मास्केले दुई दिनसम्म हुने विधान अधिवेशन महत्वपूर्ण भएको बताए। यसपटक विधान संशोधन गरेर प्रदेश संरचनामा संघ जाँदै छ । देशभरबाट झन्डै २ सय २५ जना प्रतिनिधिहरु सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.