|

काठमाडौं : नेपालमा अझै पनि १२ वटा जिल्लाहरू औलोको उच्च जोखिममा रहेका पाइएको छ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व औलो दिवको अवसरमा बुधबार आयोजना गरेको एक कार्यक्रमा महाशाखाको तथ्यांकअनुसार अझै पनि देशका केही जिल्लाहरू औलो रोगको जोखिममा रहेको पाइएको बताएको हो।

महाशाखाको आव २०७३/०७४ को तथ्यांकअनुसार हाल नेपालमा एक हजार १२८ जना औलो ज्वरोका संक्रमित बिरामी भएको पाइएको छ।

त्यसमध्ये विदेशबाट फर्किएकाहरूमा धेरै औलो देखिएको पाइएको छ। २०७३/०७४ मा औलो देखिएकामध्ये ६३६ जना विदेशबाट आएकाहरूमा औलो देखिएको छ भने स्थानीय ४९२ जना छन्। आर्थिक वर्ष २०७२/०७३ को तथ्यांक हेर्ने हो भने विदेशबाट आएका ४८५ र स्थानीय ५०६ मा अौलो संक्रमण भेटिएको थियो।

महाशाखा प्रमुख डा. केदार सेन्चुरीका अनुसार केही वर्ष अगाडि स्थानीय तहमा देखिने औलोका बिरामी धेरै हुने गरे पनि पछिल्लो समय विदेशबाट आउने औलोका बिरामीको जोखिम बढ्दै गएको बताए।

उनले भने, 'पहिले पहिले स्थानीय खालको औलोको जोखिम धेरै थियो तर हाल आएर आयातीत (विदेशबाट आएकाबाट हुने) औलोको जोखिम बढ्दै गएको छ।' यस्तै, प्रदेश ७ मा औलोको जोखिम धेरै रहेको समेत डा. सेन्चुरीले बताए।

हिमाली जिल्ला पनि देखिन थाल्यो ‍औलो ज्वरो

सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो उल्मूलन गर्ने घोषणा गरे पनि बढ्दो जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरू देखिन थालेका छन्। यसले गर्दा ती क्षेत्रमा पनि औलोको जोखिम रहेको डा. सेन्चुरीको भनाइ छ।

उनले भने, 'तापक्रमकै वृद्धिका कारण तराईका लामखुट्टे विभिन्न माध्यमबाट हिमाली क्षेत्रमा समेत जान थाले र त्यहाँ फोहोर, खाल्डाखुल्डीमा लामखुट्टेको वृद्धि हुन थालेको छ, जसले गर्दा पछिल्लो समय औलोका बिरामी हिमाली जिल्लाहरूमा समेत देखिन थालेको छ।'

नेपालमा सन् २०२५ सम्म औलो उल्मूलन गर्ने रणनीतिअनुसार सन् २०१८-२०२२ सम्मका लागि ग्लोवल फण्डको सहयोगमा ४२ लाख अमेरिकी डलरको सहयोगमा विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन्।

के हो औलो, कसरी बच्ने?

एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने औलो एक प्रकारको सरुवा रोग हो। यसरी एउटा औलो रोगी लामखुट्टेलाई टोक्दा रगतसँगै औलोको परजीवी चुस्ने हुँदा यही परजीवी चुसेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा औलो रोग सर्ने गर्छ।

लामखुट्टेको टोकाइबाट औलो रोग सर्ने हुँदा औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्नुपर्छ। यस्तै, लामखुट्टेको जोखिम नियन्त्रण गर्नका लागि घर वरपर कीटनाशक औषधि छर्कनुका साथै घर वरपर पानी जमेका खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ। शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मह्लम प्रयोग गर्न सकिन्छ। स्प्रे, लिक्विड, म्याट जस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्न सकिन्छ।

घरघर तथा समुदायमा औलोसम्बन्धी जनचेतना फैलाउने, औलो रोगका लक्षणबारे जानकारी दिने, शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने गरेमा औलो रोगबाट बच्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.