|

उदयपुर : संरक्षण अभावमा उदयपुरमा पाइने लौठसल्ला लोप हुँदै गएको छ। उदयपुरको रौतामाई गाँउपालिका नामेटार र भुटारको वन क्षेत्रमा पाइने औषधिको गुण भएको मूल्यवान् लौठ सल्ला संरक्षणको अभावमा लोप हुँदै गएको हो।

भुट्टार नामेटार उच्च पहाडी क्षेत्रमा पर्ने चित्रेथाम जंगलमा लौठसल्ला पाइन्थ्यो। स्थानीयले काठ दाउरामा प्रयोग गरेकै कारण लोप हुँदै गएको हो। ‘सर्वसाधारणले लौठ सल्लाको महत्व बुझाउन कुनै पनि सरकारी निकायले ध्यान दिएनन्,’ स्थानीय टीकाराम शेर्पाले भने, ‘संरक्षणमा कुनै प्रयास नहुँदा लौठसल्ला संकटमा पर्दै गएको छ।’

लौठसल्लाका बारेमा स्थानीयस्तरमा बुझाउन नसकिँदा रौतामाई गापा–२ का वडा अध्यक्ष खगेन्द्र रास्कोटीले बताए। ‘अन्य जातको सल्लोजस्तै मानेर स्थानीयले लौठसल्लाको रूखै काटेर दाउरा बल्छन्,’ अध्यक्ष रासकोटीले भने, ‘यो क्षेत्रमा अन्य रूखविरुवा कम भएकाले पनि लौठसल्लामा सर्वसाधारणले लौठ सल्ला पनि उपभोग गर्न बाध्य भएका छन्।’

पातबाट क्यान्सरको उपचार

आयुर्वेदिक औषाधालय खोलेर बिरामीको उपचार गर्दै आइरहेका स्थानीय वैद्य छेटु शेर्पाले लौठसल्लाको पात नै मूल्यवान् मानिने बताए। ‘क्यान्सरजस्तो प्रणघातक रोगको औषधि निर्माणका लागि सल्लाको पातबाट उत्पादन गरिएको टाक्सोल (तेल) को प्रयोग गरिन्छ’, शेर्पाले भने, ‘चित्रेथामलगायतका जंगलमा पाइने भए पनि पछिल्लो समय लोप हुँदै गएको छ।’ लौठसल्लाको महत्व स्थनीय सर्वसाधरणले नबुभ्mदा संरक्षणमा समस्या भएको शेर्पाको गुनासो छ।

समुद्र सतहदेखि १८ सयदेखि तीन हजार मिटरको उच्च पहाडी क्षेत्रमा पाइने लौठसल्ला उदयपुरमा चित्रेथाम वनमा मात्र पाइने गरेको जिल्ला वन कार्यालयका उदयपुरका सूचना अधिकारी लालबाबु यादवले बताए। ‘उदयपुरको चित्रेथामलगायतका वनमा मात्र लौठसल्ला पाइन्छ,’ उनले भने, ‘लौठसल्लाको रूख काटेर सर्वसाधरणलाई प्रयोग गर्न अहिले प्रतिबन्ध लगाइएको छ।’ पात टिप्न पाइए पनि हाँगा काट्नससमेत प्रतिबन्ध लगाइएको यादवको भनाइ छ।

कस्तो हुन्छ लौठसल्ला?

लौठसल्ला पूर्वदेखि पश्चिमसम्म १८००–३००० मीटर उचाइसम्मका जंगलहरूमा फैलिएको पाइन्छ। खासगरी गोब्रे सल्लोसँग मिसिएर हुर्केको भेटिन्छ। लौठसल्ला लगभग ३० मिटरसम्म अग्लो हुने, फैलिएको हाँगाबिगा भएको सदावहार कोणधारी वनस्पति हो। यसको पात मसिनो, लाम्चो, चेप्टो र बीचमा एउटा नशा भएको, २ देखि ३.५ सेमी लामो र तीन मिटर चौडा भएका हुन्छ।

यसका पातहरू हाँगामा घुमाउरो हुँदै निस्किएका हुन्छन्। पातको माथिल्लो सतह चम्किलो र चिल्लो हुन्छ भने तल्लो सतह केही हल्का हरियो हुन्छ। यसका भाले फूलहरू घिउ रंगका, गोला, साना, डाँठ भएका पात र डाँठको छेउबाट निस्किएका हुन्छन्। यसको फल अलग्गै हुन्छ।

फल काँचोमा हरिया र पाकेपछि राता हुन्छ। बाहिरी भाग गुदीजस्तो हुन्छ जसले बिउको आधाभन्दा बढी भाग छोपेको हुन्छ। यो काश्मिरदेखि वर्मासम्म फैलिएको पाइन्छ र नेपालका विभिन्न पहाडी वन क्षेत्रमा पाइने गरेको छ।

विगत दुई दशकदेखि यो विरुवाले नेपालमा निकै चर्चा पाएको छ। खासगरी छाती र पाठेघरको क्यान्सरमा यसको उपयोगिता प्रमाणित भएपछि नेपालबाट यसको व्यापार तीव्र गतिमा हुन थालेको छ। जसको फलस्वरूप यसको अत्यधिक संकलन हुन गई सरकारले यसको व्यापारमा प्रतिबन्धसमेत लगाउने अवस्था पुग्यो। हाल यसको संकलन गर्न वातावरणीय प्रभाव अध्ययन गरेर मात्र इजाजत दिने गरिन्छ।

संकलनपश्चात् प्रशोधन नगरी विदेश निकासी गर्नसमेत प्रतिबन्ध लगाइएको छ। यसबाट निस्कने अन्तिम उत्पादन टेक्सोल (तबहयी) नै क्यान्सर रोग निको पार्नमा सहयोग पुर्‍याउने रासायनिक तत्व हुने गरेको विज्ञहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.