एक लाख प्रतिव्यक्ति आम्दानी, ३० खर्बको जिडिपी

|

काठमाडौं : सरकारको आधिकारिक तथ्यांक राख्ने निकाय राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपालको आर्थिक स्थिति कस्तो रहन्छ भन्ने विषयमा गरेको चित्रण सार्वजनिक गरेको छ। मुख्यतया कुल गार्हस्थ उत्पादन, कुलगार्हस्थ उत्पादनमा कुन क्षेत्रको योगदान कति, प्रतिव्यक्ति आम्दानी तथा त्यसको बचतको विषयमा तथ्यांक सार्वजनिक गरिएको हो।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले नेपालको अर्थतन्त्र सकरात्मक दिशातर्फ (हरियो संकेत) देखाएको छ। तर, करिब एक महिना अघि अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको श्‍वेतपत्रले ठीक उल्टो नकरात्मक दिशातर्फ अझ भन्ने हो भने ट्रायकबाहिर (रातो संकेत) देखाएको थियो।

अर्थमन्त्रीले सार्वजनिक गरेको श्‍वेतपत्रलाई आधार मान्ने हो भने नेपालको अर्थतन्त्र निकै कमजोर रहेको देखिन्छ। ती विषय अझै बहसका विषय भइरहेका छन्। यद्यपि, अर्थमन्त्री खतिवडाले श्‍वेतपत्रमा नकारात्मक कुरा मात्र समावेश गरिएको बताएको स्पष्टोक्ति दिएका थिए।

साथै श्‍वेतपत्रपछि अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै ६ प्रतिशतको आर्थिक वृद्धि कायम हुने संशोधित प्रक्षेपण गरेको थियो। झन्‍डै अर्थ मन्त्रालयले गरेको प्रक्षेपणअनुसार नै तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर हुने अन्तिम प्रक्षेपण निकालेको छ।

तथ्यांक विभागको प्रक्षेपण अनुसार चालु आथिर्क वर्षमा आधारभूत मूल्यमा २६ खर्ब ९३ करोड तथा चालु मूल्यअनुसार उपभोक्ताको मूल्यमा ३० खर्ब सात अर्ब २४ करोड ६० लाख रुपैयाँ पुग्ने तथ्यांकमा आधारित अनुमान गरिएको छ। यो गत आर्थिक वर्षको भन्दा ५.८९ प्रतिशतले वृद्धि हो।

नेपालीको प्रति व्यक्ति आम्दानी भने निकै बढेको देखिएको छ। गत वर्ष ८६६ डलर झन्‍डै ८६ हजार ६०० रुपैयाँ रहेको प्रतिव्यक्ति आम्दानी चालु आर्थिक वर्गमा १३८ डलर अर्थात् झन्‍डै १३ हजार ८०० रुपैयाँले वृद्धि हुने अनुमान गरिएको छ। जसअनुसार चालु आर्थिक वर्षमा नेपाली प्रतिव्यक्ति आम्दानी एक हजार चार डलर अर्थात् १ लाख चार हजार रुपैयाँ पुग्ने देखिएको छ। त्यसो त गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा ११८ डलर प्रतिव्यक्ति आम्दानी बढेको थियो।

अर्थमन्त्री खतिवडाले जुन क्षेत्रमा नेपालको अर्थतन्त्र कमजोर रहेको चित्र प्रस्तुत गरेका थिए। तथ्यांक विभागको तथ्यांकले ती क्षेत्रमा सामान्यत सुधार भएको देखिएको छ। सबैभन्दा बढी उत्पादनमलक क्षेत्रमा नेपालको अर्थतन्त्रको योगदान चालु आर्थिक वर्षमा बढ्ने गएको तथ्यांक विभागले दखाएको छ। ८.०४ प्रतिशतको वृद्धिदर कायम गरेको छ।

यसको मुख्य कारण अपेक्षाभन्दा १६७ मेगावाट बढी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको कारण देखिएको छ। त्यस्तै, निर्माण क्षेत्रले गति लिएको पर्यटन क्षेत्रमा राम्रो सुधार देखिएको लगायतका तथ्यांक विभागले राखेको छ। जबकि अर्थमन्त्री खतिवडाले यी क्षेत्रमा ठूलो नकरातम्क प्रभाव केलाएका थिए।

कुन क्षेत्रको कति वृद्धिदर

तथ्यांक विभागले १५ वटा विषयमा तथ्यगत विश्‍लेषण गरेको छ। जिडिपीमा सबैभन्दा बढी प्रभावपर्ने कृषिको योगदान गत वर्षको तुलनमा २.७२ प्रतिशतले मात्रै वृद्धि भई २७.१० प्रतिशतको योगदान रहने देखिएको छ।

त्यस्तै, मत्स्यपालन गत वर्षको तुलनामा ७.४२ प्रतिशतले वृद्धि भई ०.४९ प्रतिशतको योगदान पुग्ने देखिएको छ। खानी तथा उत्खनन क्षेत्रको उत्पादन गत वर्षको तुलनामा १०.४६ अंकले वृद्धि भई जिडिपीमा ०.६२ प्रतिशतको योगदान रहने अनुमान गरिएको छ।

उद्योग क्षेत्रमा ८.०४ प्रतिशको वृद्धिदर कायम हुने अनुमान गरिएको छ भने विद्युत् ग्यास तथा खानेपानी क्षेत्रमा ५.८२, निर्माण क्षेत्रमा ७.६० थोक तथा खुद्रा व्यापारको योगदान १३.२६ प्रतिशतको रहने अनुमान गरिएको छ। होटल तथा रेष्टुरा क्षेत्रको उत्पादन गतवर्षको तुलनामा ९९.७७ प्रतिशतले वृद्धि भई जिडिपीमा २.०५ प्रतिशतको योगदान रहने अनुमान गरिएको छ। यातायात तथा सञ्‍चार क्षेत्रको ७.९७, वित्तीय मध्यस्थता ६.३३ रियलस्टेट तथा व्यवसायिक सेवा ११.३७ प्रतिशत रहने अनुमान गरिएको छ। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको योगदान २.८८, शिक्षाको ७.१७, स्वास्थ्यको १.६८ र अन्यको योगदान ४.९० प्रतिशत रहने अनुमान गरिएको छ।

सुधारात्मक कि नकरात्मक अर्थतन्त्र

सरकारले चालु आर्थिक वर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरेको थियो। संशोधित अनुमानअनुसार ६ प्रतिशतको लक्ष्य हो। तर, नेपालका दातृ निकाय विश्‍व बैंक र एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा क्रमश ४.६ र ४.९ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर कायम नहुने दाबी गरेका छन्।

यद्यपि, अर्थमन्त्रालयले गरेको प्रक्षेपणभन्दा तथ्यांक विभागको प्रक्षेपण ०.११ प्रतिशत कम छ। वर्तमान आर्थिक स्थिति र गत वर्ष एकै पटक ठूलो अंकको आर्थिक वृद्धि गरेको कारण विज्ञहरू ५.८९ प्रतिशको आर्थिक वृद्धि सकारात्मक रहेको बताएका छन्।

मुलत: कृषि क्षेत्रबाहेकका क्षेत्रमा जिडिपीमा वृद्धिदर राम्रो रहेको देखिएको छ। कृषि क्षेत्रमा धानको उत्पादन घट्न गएको कारण कम भएको तथ्यांक विभागले उल्लेख गरिएको छ।

श्‍वेतपत्र जारी गर्ने क्रममा चालु आर्थिक वर्षको आर्थिक स्थिति तहसनहस भएको चित्र अर्थमन्त्री खतिवडाले देखाएका थिए। तर, तथ्यांक विभागको चित्र भने आशावादी देखिएको छ। अर्थ मन्त्रालयले आफ्नै किसिमले गरेको होला। देशको उत्पादकत्व, उत्पादन स्थिति आर्थिक वृद्धिलगायतका विषयमा तथ्यांक विभागको तथ्यांक नै आधिकारिक हुन्छ' विभागका महानिर्देशक सुमन अर्यालले भने, 'अर्ब अर्थ मन्त्रालयले पनि यही तथ्यांकलाई आधार मानेर कुरा गर्ने हो।' उनले आर्थिक स्थिति सुधारोन्मुख रहेको र उत्पादनमूलक क्षेत्रमा सकरातम्क योगदान रहनु पनि राम्रो पक्षको रूपमा लिएका छन्।

गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाकै बढी भएकोमा चालु आर्थिक वर्षमा दक्षिण एसियाकै कम हुने विश्‍व बैंक र एसियाली विकास बैंकको प्रक्षेपण रहेको छ। तर, तथ्यांक विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर पाकिस्तानको भन्दा बढी भएता पनि अन्य देशको तुलनामा कम हुने देखिएको छ। पाकिस्तानले चालु आर्थिक वर्षमा ५.६ प्रतिशको आर्थिक वृद्धि प्रक्षेपण गरेको छ। पाकिस्तानबाहेकका राष्ट्र भने नेपालको भन्दा बढी आर्थिक वृद्धि गर्ने प्रक्षेपण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.