|

बाँके : नेपालगञ्ज नाकाबाट अवैध रुपमा सुनचाँदी भित्रिने गरेको खुलासा भएको छ। बाँके प्रहरीले नेपालगञ्जमा सुनचाँदी पसल गर्दै आएका सुनचाँदी व्यवसायी सोनु राईलाई अवैध सुनचाँदीसहित पक्राउ गरेपछि नेपालगञ्ज नाकाबाट अवैध रुपमा सुनचाँदी भित्रिने गरेको खुलासा भएको हो।

राईको साथबाट २१ किला छ सय २७ ग्राम चाँदी र चार सय ग्राम सुनका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ। राईले नेपालगन्ज उपमहानगरपालिका–२ एकलैनीस्थित सोनु राई सुनचाँदी पसलबाट सुनचाँदीको कारोवार गर्दै आएका थिए।  राईको पसलबाट प्लाष्टिकमा चाँदीले बेरेको १५ थान बाला र फलाममा चाँदीले बेरेको एक थान बालासमेत बरामद गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङले बताए। 

राईको सुनचाँदी पसलबाट बरामद भएको गरगहना भारतबाट अवैध रुपमा ल्याइएको उनले बताए। भारतका विभिन्न ठाउँबाट अवैध रुपमा सुनचाँदी नेपालगञ्ज भित्र्याएर देशका अन्य जिल्लामा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

‘भारतबाट ल्याएर अवैध रुपमा सुनचाँदी व्यवसाय गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा खरिद गरेको वील र अन्य कुनै कागजात फेला परेन,’ उनले भने, ‘सोनुले भारतबाट ल्याएर नेपालगञ्ज र अन्य जिल्लामा सुनचाँदीका गहना पठाउने गरेको अनुसन्धानले देखाउँछ।’

नेपालगञ्ज नाका भएर आउजाउ गर्न र नेपाल तथा भारतका शहरमा पुग्न सजिलो हुने भएकोले भारतबाट अवैध रुपमा सुनचाँदी ल्याएर विक्रि वितरण गरेको खुल्न आएको बाँकेका प्रहरी प्रमुख तामाङले बताए। ‘नेपालगञ्जबाट पटक–पटक अवैध सुनचाँदी बरामद हुनुले सुनचाँदी ओसारपसार गर्नका लागि नेपालगन्ज नाका सहज भएको बुझिन्छ,’ उनले भने।

६ महिनाअघि पनि बाँके प्रहरीले नेपालगञ्जबाट ठूलो परिमाणमा अवैध सुनचाँदी बरामद गरेको थियो। प्रहरीले चाँदीका मुर्ती र गहना पनि बेलाबेलामा पक्राउ गर्दै आएको छ। 

पक्राउ परेका सुनचादी व्यवसायी राईलाई थप अनुसन्धानका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.