बैठकमा पदाधिकारी मनोनीत नहुने

|

काठमाडौं : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पाँच वर्षभित्र कांग्रेसलाई सुदृढ गर्नका लागि ‘रोड म्याप’ तयार पारेर अघि बढ्नुपर्ने माग उठेको छ। केन्द्रीय सदस्यहरूले निश्चित मार्गचित्र बनाएर अब पनि कांग्रेसलाई सुधार नगरे पछुताउनुपर्ने बताएका छन्।

जारी केन्द्रीय समिति बैठकको १०औँ दिन बुधबार पनि सधैँ जस्तै चुनावको हारका बारेमा समीक्षा भएको छ। स्थानीय तहको निर्वाचनबाट नै पार्टीको हारको ‘साइरन’ बजिसकेको अवस्थामा नेतृत्वले केही गर्न नसक्नु कमजोरी रहेको केन्द्रीय सदस्यले बताएका छन्। बदलिएको चुनावी चित्रलाई बदल्ने गरी कांग्रेस बदलिन नसक्दा पराजयको तीतो अनुभव गर्नुपरेको धारणा आइरहेको छ।

गत चैत ९ गतेदेखि सुरु भएको बैठक पार्टी नेता खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गते स्थगित भएको थियो। त्यसपछि बैशाख ९ गते सुरु बैठक १०औँ दिन पुग्दा अन्तिम चरणमा पुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनले भने, ‘अब केही नेताले धारणा राख्न बाँकी छ। सम्भवत: भोलिसम्म बैठक सकिन सक्छ। हाम्रो योजना पनि त्यही हो तर बोल्ने क्रम लामो भएमा पर्सिसम्ममा सकिन्छ।’

बुधबारको बैठकमा नेता विमलेन्द्र निधि, शंकर भण्डारी, महेश आचार्य, विश्वप्रकाश शर्मालगायतले धारणा राखेका छन्। उनीहरूले चुनावमा हारको कारण पहिल्याउँदै अब कांग्रेस सुदृढीकरणको बाटोतर्फ अघि बढ्नुपर्ने धारणा राखेका थिए। 

पार्टी प्रवक्ता शर्माले बैठकमा कांग्रेस सुधारको आफ्नो रोड म्याप प्रस्तुतसमेत गरे। उनले पराजयका विभिन्न छ कारण देखिएको बताए। उनले भने, ‘कांग्रेसको २००७ पछिको लक्ष्य आज पूरा भएको छ। अब हिँड्ने बाटो के हुन्छ भनेर मैले रोड म्यापमा उल्लेख गरेको छु। सँगै अबको सन्दर्भमा अबको लक्ष्य पनि प्रस्तुत गरेको छु।’ पार्टी सुधारका लागि कांग्रेसको अबको संगठनको रूपान्तरणका लागि १३ वटा लक्ष्य रोड म्यापमा अघि सारेको उनको भनाइ छ।

उनले भने, ‘आगामी दिनका लागि पार्टीमा सुधार गर्न १३ लक्ष्य र त्यसलाई पूरा गर्न चार दर्जन बढी प्रक्रियाका विषयमा मैले कार्यदिशा प्रस्तुत गरेको छु।’ बैठकले सबैबाट प्राप्त भएका धारणाहरूका आधारमा साझा दस्तावेज तयार पार्ने प्रवक्ता शर्माको भनाइ छ। उनले भने, ‘बैठकले सबैका धारणालाई समेटर एउटा साझा दस्तावेज तयार पार्छ, जसले देशव्यापी रूपमा ऊर्जा दिनेछ।’ 

बैठकले महासमिति बोलाउने

कांग्रेसमा पार्टी केन्द्रीय समितिभन्दा उच्च निकाय हो, महासमिति। उक्त समितिले पार्टी संचालनका लागि विधि-विधान तयार गर्ने गर्छ। पार्टीले चुनावमा हार व्यहोरेपछि महासमितिको बैठक बोलाउन कांग्रेस नेताहरूले दबाब दिएका थिए। युवा नेताहरूले त पार्टी नेतृत्वले तत्काल महासमिति बैठक बोलानुपर्छ भन्दै लिखित प्रस्ताव नै दिए।

यो केन्द्रीय समितिको बैठकले महासमितिको बैठक बोलाउने प्रवक्ता शर्मा बताउँछन्। भन्छन्, ‘मैले लिखित रूपमा पेस गरेको मार्गचित्रमा पनि उल्लेख गरेको छु। कांग्रेसको आगामी काम भनेकै महासमितिदेखि महाधिवेशनसम्म जाने एक खण्ड र महाधिवेशनदेखि महानिर्वाचसम्म जाने अर्को खण्ड गरी दुई खण्डमा जाने योजना बनाउनुपर्छ। केन्द्रीय समितिको यही बैठकले मिति र स्थानसम्म तोक्छ।’

बैठकमा पदाधिकारी मनोनीत नहुने​

नेपाली कांग्रेसको १३औँ महाधिवेशन सकिएको दुई वर्षभन्दा बढी समय बितिसकेको छ। तर अहिलेसम्म सभापति शेरबहादुर देउवाले पदाधिकारीमा तीन जना र केन्द्रीय सदस्यमा चार जना मनोनीत गर्न सकेका छैनन्। सभापति देउवाले अझैसम्म पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री र एक उपमहामन्त्री मनोनीत गर्नुपर्नेछ। यस्तै, तीन खुला सदस्य र एक दलित सदस्यसमेत मनोनीत गर्नुपर्नेछ।

तर यस बैठकमा पदाधिकारी मनोनयनको विषयले प्रवेश नपाउने भएको छ। पार्टीका प्रवक्ता शर्माले यस बैठकमा पदाधिकारी मनोनयनको प्रस्ताव पेस नहुने बताए। उनले भने, ‘यो बैठकमा पदाधिकारी तथा सदस्य मनोनितका लागि मनोनयन प्रस्ताव पेस हुँदैन। त्यसका लागि सभापतिज्यूले अर्को बैठक बोलाउनहुनेछ।’

प्रवक्ता शर्माले यस बैठकमा सबै केन्द्रीय सदस्य भएकाले विधानत: पदाधिकारी मनोनीत नहुने बताए। उनले भने, ‘पदाधिकारी मनोनीत गर्न निर्वाचित केन्द्रीय सदस्य चाहिन्छ। यहाँ मनोनीत, आमन्त्रित सबै हुनुहुन्छ। त्यस कारण यो बैठकमा पदाधिकारीको मनोनयन प्रस्ताव पेस हुँदैन। सभापतिज्यूले छिट्टै र्को बैठक बोलाउनुहुनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.