कर्णाली प्रदेशकै पहिलो रोजगार/स्वरोजगार मेला

|

दैलेख : दैलेखको गुराँस गाउँपालिकाले बेरोजगार युवाहरुको तथ्यांक संकलनका लागि स्वरोजगार मेला संचलान गर्ने भएको  छ। गाउँपालिकाले कर्णाली प्रदेशकै पहिलो रोजगार/स्वरोजगार मेला संचालन गर्ने भएको हो। 

बेरोजगारी समस्या हल गर्ने उद्देश्यले गाउँपालिका भरका बेरोजगार युवाहरुको उपस्थितिमा मेला संचालन गर्न लागेको हो। मेलामा बेरोजगार बस्नुको कारणबारे स्पष्ट हुनेगरी युवालाई फर्म भर्न लगाइनेछ। फर्ममा बेरोजगार बस्नुको कारण के हो? के काम गर्न सक्षम हो? कति योग्यता छ? लगायत कुराहरु समेटिएको हुनेछ भने त्यस फर्म भरे पश्चात् बेरोजगारी युवाहरुको तथ्यांकका साथै बेरोजगारी समस्या हल गर्न योजना निर्माण गर्न सकिने गाउँपालिकाले जनाएको छ। 

मेला ८ वटै वडा समेटिनेगरी तीनवटा क्षेत्र तोकिएको छ। जसमध्ये वडा १, २ र ३ युवाहरुको लागि पातिकाल्ना, वडा नम्बर ४ र ५ को घोडाबासमा मेला संचालन हुने छ। त्यस्तै, वडा नम्बर ६, ७ र ८ को धरमपोखरा बजारमा मेलाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। 

मेलाको व्यवस्थापन र प्रचार प्रसारका लागि गाउँपालिकाका उपाध्यक्ष दीपा विसीको संयोजकत्वमा छ सदस्यीय समितिसमेत गठन गरिएको छ। जसको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्ल र कर्ण बहादुर थापा छन्। साझेदार संस्था एभरेष्ट क्लव दैलेखको तर्फबाट टेकराज आचार्य र यज्ञराज थापा रहेका छन् भने पत्रकार टेकराज केसीलाई समितिमा राखिएको छ।  

स्वरोजगार मेला भनेर नाम दिइए पनि यो सामग्री प्रदर्शन गर्ने तथा स्टल राख्नेगरी गरिने मेला नभएको संयोजक विसीले जानकारी दिइन्। 

आगामी पाँच वर्षभित्र गुराँस गाउँपालिकाबाट बेरोजगारी समस्या न्यूनिकरण गर्नेगरी यो मेला आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए। ‘हामी पाँच वर्षभित्र गुराँस गाउँपालिकाबाट बेरोजगारी समस्या न्यूनिकरण गरी समृद्ध र हेर्न लायक गाउँपालिका बनाउने अठोट लिएका छौँ,’ उनले भने ‘त्यही अनुरुप बेरोजगारी युवाहरुको संख्या कति छ र के काम गर्न चाहान्छन् त्यसको तथ्यांक संकलन गर्न चाहान्छाैँ, त्यसकारण यो मेला आयोजना गरेका हौँ।

अध्यक्ष वलीले जिल्ला तथा जिल्ला बाहिर रहेका रोजगारदाता संस्थाहरुलाई मेलामा सहभागि हुन आग्रह गरेका छन्। रोजगार सूचना केन्द्रका रोजगार अधिकारी अमित केसीले स्वरोजगार हुन के गर्ने भन्ने विषयमा काउन्सिलिङ दिइने भन्दै मेलामा सबै युवाहरु सहभागि हुनुपर्ने बताए। बेरोजगार युवाहरुको स्वरोजगार मेला वैशाख १९ गतेदेखि २२ गतेसम्म संचालन हुने जनाइएको छ।

मेलामा सहभागि भई आफू बेरोजगारी बस्नुको कारण के हो? र के काम गर्न योग्य हो, सोको बारेमा जानकारी दिन आ–आफ्नो क्षेत्रमा हुने मेलामा सहभागि भई सुनौलो अवसर लिन गाउँपालिकाले आग्रहसमेत गरेको छ। मेला गुँरास गाउँपालिका र एभेरेष्ट क्लव दैलेखको संयुक्त आयोजनामा संचालन हुन लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.