|

पर्वत : मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङ बोक्सीखोलामा चौँरीको आलो रगत पिउनेको भीड लागेको छ। 

थुप्रै औषधिको प्रयोग, आयुर्वेदिक उपचारबाट समेत निको नभएकाहरूको रोग पनि चौँरीको आलो रगत पिएपछि निको हुने विश्वासका साथ मुस्ताङका आसपासका म्याग्दी, बाग्लुङ, पर्वत, कास्कीलगायतका जिल्लाहरूबाट मानिसहरू रगत पिउने मेलामा पुगेका हुन्। 

पर्वतको फलेवास नगरपालिकाका बुद्धिबहादुर क्षेत्रीले धेरै ठाउँमा जाँच गराउँदा पनि आफ्नो पेटको रोग ठीक नभएका कारण चौँरीको रगत पिउनकै लागि आफू मुस्ताङ पुगेको बताए। उनले भने, ‘सबै रोग निको हुन्छ भन्ने हल्ला सुनेको थिएँ, त्यही भएर रगत पिउन आएको हुँ, अब निको हुन्छ कि के गर्छ, हेरौँ।’

मेलामा तन्नेरीदेखि वृद्धसम्म रगत र चौँरीको मासु खानका लागि पुग्ने गरेका छन्। धौलागिरी चौँरी समूहका सचिव भीमप्रसाद थकालीका आनुसार एकै दिनमा ५०० बढीले रगत पिएका छन्। चौँरीपालक कृषक समूहका ९०० चौँरीलाई आलो रगत निकाल्नका लागि मेलामा लगिएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष रगत पिउनका लागि जाने सर्वसाधारणको संख्या धेरै देखिएको छ।

उच्च हिमाली क्षेत्रमा रहेका खर्कहरूका यार्सागुम्बा, नीरमसीलगायतका बहुमूल्य जडिबुटीहरू खाएका चौँरीको तातोतातो रगत पिएमा गानोगोला, तुस, अपच, नसासम्बन्धी रोग, हाडजोर्नीसम्बन्धी समस्या, चिसोका कारण हुने रोगहरू निको हुनुका साथै शारीरिक स्फुर्ती र यौन उत्तेजना बढ्ने विश्वास छ।

एक चौँरी गाईबाट १५ देखि २५ गिलास र बढीमा ४० देखि ६५ गिलाससम्म आलो रगत निकाल्ने गरिन्छ। एक गिलास रगतको मूल्य २०० रुपैयाँ पर्ने गरेको छ। चौँरी गाईलाई खुट्टा बाँधेर घाँटीमा फलामको सानो र तिखो हतियारले सानो प्वाल पारेर रगत निकाल्ने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.