|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा ५७ प्रतिशत महिला घरमै सुत्केरी हुने एक तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ५७ प्रतिशतले घरमै सुत्केरी गराउने गरेको पाइएको हो। 

निजी तथा सरकारी अस्पतालमा गएर अघिल्लो वर्ष १४ सय ३३ जनाले स्वास्थ्य संस्थामा  सुरक्षित रूपमा सुत्केरी गराएका थिए। यसमध्ये सरकारी अस्पतालमा एक हजार १४४ र निजी अस्पतालमा २८९ जना थिए। 

 तथ्यांकलाई आधार मान्दा जिल्लाकै स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या जम्मा २१.७ प्रतिशत रहेको जिल्ला स्वाथ्य कार्यालयका प्रमुख डाक्टर पुमावती थापाले बताइन्।  ‘राजधानीसँग नजिकै रहेको जिल्ला भएकाले केहीले अन्यत्रका स्वास्थ्य संस्थामा लगेर सुत्केरी गराएको संख्या बढी छ’ उनले भनिन्, ‘धुलिखेलमा ५२३, काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ३८, पाटन अस्पतालमा ७२ र बनेपाको शिर मेमोरियलमा ४४ महिलाले सुरक्षित रूपमा सुत्केरी गराएका थिए।’

जिल्लामा ३४ 'बर्थिङ सेन्टर' छन्। यी बर्थिङ सेन्टरमा २ सय ९१ ले सुरक्षित सुत्केरी गराएका थिए। त्यस्तै प्राथामिक स्वास्थ्य केन्द्र जलवीरे १८, बाह्रबिसे ४६ र प्राथामिक स्वास्थ्य केन्द्र मेलम्चीमा १४८ जनाले सुरक्षित सुत्केरी गराएको छ। चौतारा अस्पतालमा भने जम्मा ६१ जनाले मात्रै सुरक्षित रुपमा सुत्केरी गराएका थिए।तीमध्ये नियमित स्वास्थ्य जाँच गर्नेमा एकमात्रै महिला रहेको अस्पतालले जानकारी दिएको छ।

सिन्धुपाल्चोकमा ९७ प्राथामिक स्वास्थय केन्द्र भए पनि जम्मा ३० वटामा मात्रै बर्थिङ सेन्टर रहेको छ। भौगोलिक विकटताका कारण गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउन समस्या भएको छ। घरमै सुत्केरी हुँदा सिन्धुपाल्चोकमा बर्सेनि धेरैको मृत्यु हुने गरेको छ। शल्यक्रिया गर्नुपर्ने सुत्केरीहरुका लागि जिल्ला अस्पतालमा सबै सुविधा भए पनि 'ब्लड बैंक' नहुँदा समस्या थपिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.