|

भक्तपुर  : वि.सं २०७२ सालको महाविनाशकारी भूकम्पले क्षति पुर्‍याएका भक्तपुरका सम्पदाहरुको पुनर्निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका जर्मन विकास बैंक (केएफडब्लु) पछि हटेको छ।

सम्पदा पुनर्निर्माण कार्यको प्रक्रियाका सम्बन्धमा भक्तपुर नगरपालिका र दातृ निकायबीच सहमति हुन नसक्दा केएफडब्लु आफ्नो प्रतिबद्धताबाट पछि हटेको हो। सम्पदा पुनर्निर्माण काय अन्तर्राष्ट्रिय टेन्‍डरबाट गर्ने कि स्थानीय उपभोक्ता समितिमार्फत गर्ने भन्ने विषयमा विवाद भएपछि केएफडब्लु सहयोग गर्ने प्रतिबद्धताबाट हात निकालिएको हो। 
दातृ निकाय केएफडब्लुले सम्पदा पुननिर्माणको कार्य अन्तर्राष्ट्रिय टेन्‍डरमार्फत गर्नुपर्ने अडान राख्दै आएको थियो। यता, भक्तपुर नगरपालिकाले भने स्थानीय उपभोक्ता समितिमार्फत स्थानीय सिप र ज्ञानको प्रयोगमार्फत गर्नुपर्ने अडान राख्दै आएको छ। 
जर्मन राजदूत रोलाण्ड सेफरले बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भेटवार्ता गर्दै केएफडब्ल्युमार्फत हुने सहयोग हाललाई बन्द हुने जानकारी दिए। उनले सम्पदा पुननिर्माण गर्ने सहयोगबाट हात निकालले पनि भक्तपुरमा विकास निर्माणकार्यमा जर्मनको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे। 
राजदूत सेफरले परियोजना सञ्चालनमा केएफडब्ल्यु र भक्तपुर नगरपालिकाबीच देखिएका असमझदारीहरुमध्ये पुजारी मठको पुनर्निर्माणमा स्टिलको रड प्रयोग र कंक्रिट ढलान गर्न नहुने, उपभोक्ता समितिमार्फत पुनर्निर्माण कार्य गर्ने, र भक्तपुर दरबारक्षेत्रका ऐतिहासिक सम्पदाहरु पुनर्निर्माण गर्दा अन्तर्राष्ट्रिय टेन्‍डर गर्दा समस्या हुने विषयमा भक्तपुर नगरपालिकाको अडान केएफडब्ल्युले स्वीकार्न नसकेको जानकारी दिए।

भक्तपुर र जर्मनी सरकारबीच प्रगाढ सम्बन्ध रहेको भन्दै राजदूत सेफरले नगरको हितमा कुनै पनि बखत सहयोग गर्न जर्मन सरकार तयार रहेको बताए। उनले सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रियस्तरमै छलफल गरी सहयोग गर्ने विश्वास व्यक्त गरे। 

भक्तपुर नगरपाकिलाका प्रमुख सुनिल प्रजापतिले नपाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणको कार्य भइरहेको जानकारी दिए। उनले भने, ‘उपभोक्ता समितिमार्फत कार्य हुँदा संरचना बलियो हुने, संरचनाप्रति स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रूपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय कार्य हुन्छ।’

स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पाँचतले मन्दिर, ५५ झ्याले दरबार, भैरवनाथ मन्दिरलगायत धेरै सम्पदाहरु सयौँ वर्षसम्म जस्ताको तस्तै रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज सञ्‍चालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधिको प्रयोगबाट बलियो र भूकम्पप्रतिरोधी भवन निर्माण गर्ने विषय अध्यापनसमेत गराइरहेको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.