|

उदयपुर उदयपुरको साविकको गाउँ विकास समितिमध्ये रूपाटार परिचित गाविस हो। रूपाटार सबैतिर डाँडैडाँडाले घेरिएको उपत्यकाजस्तै छ। त्यही रूपाटार गाविसमा ठानगाउँ, इनामे, लेखगाउँ र ओख्ले जोडेर ताप्ली गाउँपालिका बनेको छ। सोही गाउँपालिकाको केन्द्र पनि रूपाटारमा नै पर्छ।

नौ वर्षअघि नै ग्रामीण सडक जोडिएपछि रूपकी परी मानिने रूपाटारको सिँगारिँदै गएको हो। एक वर्षअघि भएको संघीय संरचनाले रूपाटारको रूपलाई थप सिँगारिदिएको छ। तैपनि बेहुली झैं चिरिच्याट्ट भने बन्न सकेको छैन। उदयपुरको दोस्रो ठूलो बजार कटारीसँग रूपाटार निकट छ। कटारी मात्रै होइन, रूपाटार-ओख्ले हुँदै कटारी नगरपालिकाकै बेतेनीमा सिद्धिचरण लोकमार्गबाट जोडिएर घुर्मी हुँदै काठमाडौंलगायतका देशका ठूला शहरसँग प्रत्यक्ष सम्पर्क छ। एक दशक पहिलेसम्म विकट पहाडी गाविसको रूपमा परिचित रूपाटार अहिले ताप्ली गाउँपालिकाको केन्द्र बनेपछि नयाँ जोश र जाँगरका साथ रूपको लाली लगाउने प्रयास गरिरहेको छ।

किरात इतिहाससँग जोडिएको रूपाटार

उदयपुर जिल्लाको पश्चिम-उत्तर सुनकोसी नदीको गढतिरमा पर्छ रूपाटार। महाभारत पर्वतको काख खोटाङ जिल्लाको सीमानामा पर्ने पहाडी खोँचको सुगम ठाउँ हो रुपाटार। यो ठाउँको ऐतिहासिकता किरात समुदायसँग जोडिएको छ। रूपाटार स्मारिका–२०६९ मा शिवहरि राईले लेखेअनुसार विगतको रूपाटार नेपालको किरातकाल पतनपछि लोग्दिनी किरातका छोराहरू नाप्पाछा, रोपाछा, गौरुपाछामध्येका रोपाछा थिए। ठानागाउँको थाले पन्डा थाल बजाउँथे रे! थाम खर्कको ढ्याङ्ग्रे ढयाङ्ग्रो बजाउँथे रे! आदमाराको ढाले ढोल बजाउने डमडम तिल्केटारमा ताली बजाउँथे रे। दिया थुम्कामा दियो बाली झलमल्ल बनाई रूपाटारमा रोपाराज रूपारानी नाच्थे रे। छमछम मादलेमा मादल बज्दा बिजुवाका झाँक्री मुन्धुम मन्त्र जप्थे रे, यारी वारिपारि भन्ने मुखयुक्तिहरू छन्। 

रोपाराजा र रूपारानी प्रभावशाली मानिन्छन्। रोपाराजा रूपारानीका दरसन्तानपछि शत्रुको आक्रमणबाट पराजित भएका हुन्। सोही आक्रमणबाट बच्न भागदौड भयो। आफ्नो फौजको साथ दाजुभाइ राजकुमारहरू सायमी र होपामी रोपाछा कोही किरातहरू यारी खोलैखोला भाग्दै गए। भाग्दै जाँदा भाइ होपामी तावाखोला शिरमा घाइते भई श्रीमतीका साथ रुन्चे भन्ज्याङका पहरामा लुकीछिपी बसे।

दाजु सायमी फौजका साथ रातारात भाग्दै भारतको बिहार राज्यको सहर्सा जिल्लाको त्रिवेणी भन्ने ठाउँमा शरण लिई बसोबास गरेको बताइन्छ। सायमीका दरसन्तानहरू हालसम्म सो ठाउँमा छँदैछन्। यता होपामी घाइतेकीे श्रीमतीबाट जंगलमा रहँदा बस्दा बच्चा जन्मेछ। जंगल पहरामा बच्चा रोएको सुनी बाटो हिँड्ने मानिसहरूआश्चर्यमा झाँक्री रोएको भनेछन्। हालसम्म पनि त्यस ठाउँलाई रुन्चे भन्ज्याङ नामाकरण गरिएको छ। त्यो बच्चाको नाम न्वारनमा साइपाती नाम राखेछन्। साइपाती भन्ने ठाउँ पनि त्यो रुन्चे भन्ज्याङसँगै रहेको सानो खोल्साको नाम छ।

सोही ठाउँमै साइपाती रहँदा बस्दा घरजम गरी उसको पनि छोरा जन्मेछ। साइपातीको छोराको नाम भीमसेन राखिएछ। भीमसेन नाबालक हुँदा साइपातीको मृत्यु भएछ। सोही बखत किरातहरूको खाइ न पाइ न केही दरसन्तानलाई फिर्ता दिने सम्झौता शाह वंशहरूले दिने निर्णय भएछ। सोह्रै कट्टी चार किल्लाको पगरी भीमसेन किरातलाई भीमसेन राई भन्ने उपाधिसाथ हालको बाँसबोटे बुत्कुमा किपटपाइ चलाइ खाने तिनै भीमसेन राईका सन्तानहरू छन्। सायमी र होपामीलाई आक्रमण कसरी भयो भन्ने एकिन छैन।

पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई दूधकोसी वारिपारिका माँझ किरातको पहाडको किरात सरदारहरू तथा राजाहरूलाई गोप्य रूपबाट आफ्ना फौजदारी आक्रमण गर्दै जाँदा धेरै किरातहरू पराजित भएको भनिन्छ। मूलघाट तारेका फौजहरू हलेसी हुँदै रूपाटार समेत ध्वस्त पारेको बताइन्छ। रूपाटार आदिम किरात संस्कार संस्कृतिले पनि किरातहरूको मुख्य थलो मान्दै आइएको छ। किरात संस्कार संस्कृतिसँग जोडिएको रूपाटार मानिन्छ। किरातहरूका छोरा वा छोरीको जन्म भएपछि वा गर्भमा भए पनि पानी देउ भनि नागराजाको भाकल प्रचलन थियो। 

नागराजा रानीलाई पानी देउको फूल टिप्ने पण्डा झिकाई नयाँ रुमाल र अक्षता भेटी पण्डाको हातमा दिर्ई पण्डाले फूल टिपेर ल्याएपछि लिपपोत गरेको चोखो घरको मँझेरीमा विजयुवाले फूल अक्षता पण्डालाई फिँजाउन लगाई सुँगुरको पाठो बाँधी जाँड रक्सी समेत चढाई धामी र पण्डाले जो जसको घरमा पूजा छ। शिशुको आयु नागराजाले दिएको भन्दछन् र त्यो प्रसाद खाईपिई गर्दै बखान गर्छन्। राजदहको कालिराजा नागदेउ रूपाटारको रूपारानी रोपारजाको बखान गर्दै पूजा समाप्त गर्छन्। सोही पुजाको आधारमा किरात संस्कार संस्कृतिसँग जोडिएर रुपमाटार भएको भन्ने कथन छ। जुन किम्बदन्ती रोपाराजा र रूपारानीसँग जोडिन्छ। अहिले त्यही रूपाटार रुपको रानी हुँदै गएको छ।

यसरी मुहार फेर्दै छ रूपाटार

रूपाटारबाट बसाइँ सरेर अन्यत्र जानेको संख्या एक दशअघि उच्च थियो। अहिले त्यो संख्या घट्दै गएको छ। सडक सञ्जालसँग नजोडिएका बेला खोटाङको दक्षिणी भेगबाट मकै,धानजस्ता अन्न खरिद गर्न रूपाटार आइ पुग्नुपर्ने बाध्यता थियो। रूपाटारमा अझै पनि अन्न प्रशस्त उत्पादन हुन्छ। रूपाटारबाट ताप्ली गाउँपालिकाको सबै वडासम्म अहिले ग्रामीण सडक पुगेको छ। धान, मकै, कोदोको अलावा रूपाटारको प्रख्यात कालो मासको दाल अहिले पनि खोटाङ, ओखलढुङ्गा र कटारी हुँदै जिल्लाबाहिर निकासी भइरहेको कृषकहरू बताउँछन्।

स्थानीयले रूपाटार क्षेत्रबाट सञ्चालन हुने गरी आधा दर्जन बोलेरो जीप भित्र्याएका छन्। स्थानीयले रूपाटार सफारी नामक यात्रुवाहक बस सञ्चालनमा ल्याएपछि रूपाटार झनै परिचित बन्दै गएको छ। यारीखोला रूपाटारका लागि महत्वपूर्ण खोला हो। जसले रूपाटारमा प्रशस्त धान फलाउन सिंचाई मात्र गरेको छैन, लघु जलविद्युतले रूपाटारलाई झलमल्ल बनाइदिएको छ। सुनकोसी किनारसँग जोडिएको रूपाटारको कुमलटार बजार व्यापारिक रुपमा परिचित हुँदै गएको छ। सुनकोसीको माछा खान पाइने बजारले जिल्लामा परिचित कुमलटार नजिकैबाट राईघाटको झोलुंगे पुलले छिमेकी जिल्ला खोटाङमा अन्न पुराउन र ल्याउन पनि सहज छ।

प्रसूतीगृहसहितको स्वास्थ्यचौकीले स्वास्थ्य सेवा प्रदान गरेकाले महिलाहरू स्वास्थ्य चौकीमा बच्चा जन्माउन थालेका छन्। महेन्द्ररत्न माविजस्ता जिल्लामा चर्चित शैक्षिक संस्थाले रूपाटारको शैक्षिक अवस्थामा भूमिका खेलिरहेको छ। प्रशस्त अन्न उत्पादन हुने रूपाटारमा हाइब्रिड मकै उत्पादनदेखि अनार खेती समेत हुने गरेको छ।

रूपाटारमा ठकुरी, राई, क्षेत्री, बाहुन र अन्य जातिले बसोवास गर्दै आएका छन्। ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापा गाउँपालिकाको  केन्द्र रूपाटारले चम्काउँदै लगेको बताउँछन्। ‘जसरी एक दशकमा रूपाटार विकसित हुँदै गएको छ,’ उनले भने, ‘त्यसरी नै ताप्ली गाउँपालिकाको विकासे योजनाको गाइड लाइनको रुपमा रूपाटार गर्ने गरी योजना बनाएको छ।’

पर्यटकीय नगरीमा कहिले बन्छ?

नजिकै सुनकोसी नदी र वरिपरि उच्च डाँडाकाँडाले घेरेकाले रूपाटारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने ओख्लेका शिक्षक तोपबहादुर ज्यु ठकुरी बताउँछन्। ‘सुनकोसी नदीमा र्‍याफ्टिङको व्यवस्था गर्नुपर्छ भने डाँडाकाँडाबाट प्यारागल्याडिङको व्यवस्थापन गर्न जरुरी छ’ ठकुरीले भने, ‘बेतेनी भन्ज्याङदेखि रूपाटारको सडकलाई पक्की बनाउन जरुरी छ।’ यता गाईघाटबाट आउने सडक ताप्ली गाउँपालिकामा आएर कटारीको सडकसँग जोडिने भएकाले दुवै सडकबाट रूपाटार आउन सहज हुनुपर्ने उनको तर्क छ।

ताप्ली गापाको रूपाटार र ताप्ली पोखरीलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न एकसाथ स्थानीय सरकार लाग्नु पर्ने शिक्षक ठकुरीको भनाइ छ। रूपाटारमा यातायात पुगे पनि कच्ची सडक भएकाले सर्वसाधरण मारमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.