|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया पार्टी कमिटीमा कसको कति संख्या रहने भन्ने विषयमा गएर अल्झिएको छ। एकताका लागि धेरै विषय टुंगिए पनि मुख्य मानिएको संगठनको संरचनामा कुन पार्टीबाट कति संख्या रहने भन्ने विषयमा गएर अल्झिएको हो।

माओवादीले सम्मानजनक एकता खोजेको छ। त्यो सम्मानजनक भनेको एमाले र माओवादीबाट पार्टीका कमिटीहरुमा बराबरी हुनु हो। तर, अहिले पनि एमाले सम्मानजनक एकता गर्न तयार छैन। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा एकता सम्मानजनक हुने बताएका थिए। तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तामा भने उनी बराबरी दिन तयार छैनन्। 

पार्टी एकताका लागि बनेको सांगठनिक कार्यदलले पार्टीको केन्द्रीय समिति २९९ सदस्यी राख्न प्रस्ताव गरेको छ। त्यहीअनुसार एकता संयोजन समितिको बैठकले पनि त्यसमा कसको कति संख्या रहने भन्ने विषयमा छलफल अघि बढाएको थियो। तर, कार्यदलले यी विषय टुंगो लगाउन नसकेपछि दुई अध्यक्षलाई टुंगो लगाउने जिम्मा दिएको थियो। अध्यक्षहरुको बारम्बारको बैठकले पनि खासै केही प्रगति गर्न सकेको छैन।

गत बैशाख ९ मा बसेको माओवादी केन्द्रको ‘हेडक्वाटर’ बैठकमा प्रचण्डले कसको कति संख्यामा सदस्य राख्ने भन्ने विषयमा कुरा मिल्न नसकेको ब्रिफिङ गरेका थिए। माओवादीका एक केन्द्रीय कार्यालय सदस्यका अनुसार अन्य विषय क्रमश टुंगो लाग्दै गएको भए पनि संख्याको विषयमा भने दुई अध्यक्षबीच सहमति हुन सकको छैन। ७ बैशाखमा बसेको दुई अध्यक्षको बैठकले सम्मानजनक एकताको सहमति गरे पनि ८ गतेको बैठकले अन्तिम रूप दिन नसकेको ती नेता बताउँछन्। भन्छन्,‘अध्यक्षले बैठकमा भनेअनुसार ७ गतेको दुईजनाको बैठकमा केन्द्रीय समिति चार सयदेखि ४१० सम्मको बनाउने र त्यहाँ माओवादीका दुई सय र एमालेका दुई रहने सहमति भएको थियो। ८/१० जनाचाहिँ एमालेले केही नेता व्यवस्थापन गर्ने गरी सहमति भएको अध्यक्षले जानकारी गराउनुभयो।’

तर, पछिल्लो समय यो विषयबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली हटेपछि एकता प्रक्रिया अझै अल्झिएको ती नेता बताउँछन्। भन्छन्,‘फेरि ८ गते बसेको बैठकमा चाहिँ ओलीजीले मान्नु भएनछ। उहाँले पार्टीबाट व्यापक दबाब दिएको भनेर २९९ नै कायम गरेर अघि बढ्नुपर्ने प्रस्ताव राख्नुभएछ। जसमा हामी (माओवादी)बाट ९९ र एमालेबाट २०० रहने गरी ओलीजीले प्रस्ताव गर्नुभएको छ।’

बराबरीको हैसियतमा एकता नभएमा सहभागी हुन माओवादीलाई निकै मुस्किल गर्ने ती नेता बताउँछन्। माओवादीमा संर्घष गरेका नेता धेरै हुँदा व्यवस्थापन गर्न पनि कठिन हुने उनको भनाइ छ। भन्छन्,‘माओवादीमा जनयुद्धदेखि दुःख र संघर्ष गरेका नेता धेरै छन्। यसकारण ९९ मा अटाउन गाह्रो हुन्छ।’ 

माओवादीका नेताहरुमा अब घटुवा भएर बस्ने अवस्था नरहेको ती केन्द्रीय कार्यालय सदस्य बताउँछन्। ‘एमालेमा त धेरै नेताहरु व्यवसाय गरेर आएका छन्। उनीहरु धनी पनि छन्। तर, माओवादीमा त जनयुद्ध लडेर आएका छन्। उनीहरुले भएको सबै सम्पत्ति पार्टीलाई जनयुद्धका लागि बुझाएका छौँ’,उनले भने,‘यस्तो अवस्थामा हामी गाउँ फर्किने अवस्था पनि रहन्न। अब यतिका वर्ष राजनीतिमै संघर्ष गरियो अब घटुवा हुन हुँदैन। बरु व्यवसाय भएका एमालेका नेतालाई त खासै असर गर्दैन।’

पार्टी एकतामा चुनाव चिह्न र प्रस्तावनामा जनयुद्ध राख्ने/नराख्ने भन्ने विषयमा त्यति समस्या नहुने ती नेताले बताए। उनले भने,‘चुनाव चिह्न त दुई पार्टीले आआफ्नै भन्छ। यो स्वाभाविक हो। यसमा खासै विवाद आउँदैन। मिलनबिन्दु निस्कन्छ।’ यस्तै, जनयुद्धको विषयमा पनि त्यति धेरै विवाद गर्नु ठाउँ नरहेको ती केन्द्रीय कार्यालय सदस्यको भनाइ छ।

उनले भने,‘हामीले संघर्ष गरेर जनयुद्ध गरेकै हौँ। त्यही जनयुद्धको जगमा ०६२/०६३ मा जनआन्दोलन पनि भयो। यसैले देशमा परिवर्तन आयो। यसमा एमालेले पनि बुझेको छ। त्यसकारण यसमा पनि खासै विवाद आउँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.