शव गाड्ने ठाउँको पनि अभाव

|

काठमाडौं : ठूला दुर्घटनामा परी मृत्यु भएका तथा संकास्पद मृत्यु भएकाहरूको फोरेन्सिक परीक्षण (पोस्टमार्टम) गर्न मृतकको शरीरलाई त्रिभुवन विश्वविद्यालय (टिचिङ अस्पताल) फोरेन्सिक विभागमा ल्याउने गरिन्छ।

लामो समयसम्म पहिचान नखुलेका, विविध कारणले आफन्तले नबुझेका शवहरूलाई समेत यहीँ राख्ने गरिन्छ। हाल यस विभागमा गोरखा फुजेल काण्डमा अनसन बस्दाबस्दै मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवदेखि मैना सुनुवारको शवको अवेशषसम्म करिव सात दर्जन शव राखिएको छ।

तर यसरी लामो समयसम्म सुरक्षित तरिकाले राख्नुपर्ने शवहरूलाई राख्ने ठाउँ र फ्रिजरहरूको अभाव हुँदा हाल त्रिभुवन विश्वविद्यालय फोरेन्सिक मेडिसिन विभागमा शव राख्न समस्या देखिएको छ।

पोस्टमार्टमका लागि ल्याउने शवहरूको संख्या धेरै हुनु र बेवारिसे शवको सनाखत नहुने र लामो समयसम्म राख्नुपर्ने हुँदा शव राख्ने ठाउँको अभाव देखिएको हो। यसले गर्दा विभाग आसपास दुर्गन्ध फैलने सम्भावनाका साथै अन्य गम्भीर खालको समस्या देखिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख प्रा.डा. प्रमोद श्रेष्ठले बताए।

उनले भने, ‘विगतमा सनाखत नभएका शवहरू थोरै थिए, जसले गर्दा व्यवस्थापनमा धेरै समस्या थिएन। अहिले शवको संख्या बढ्दै गएको छ भने भएका शव राख्ने फ्रिजर कामै नलाग्ने अवस्थामा छन्, यसले गर्दा समस्या भइरहेको छ।'

भएको फ्रिजर पनि बिग्रिएको अवस्था

मानिसको मृत्यु भएको केही समयभित्रै शवलाई चिसो बनाएर राख्नुपर्छ। तर विभागमा फ्रिजरको अभागका कारण दैनिक आउने शवहरूलाई व्यवस्थापन गर्न अप्ठ्यारो भइरहेको विभाग प्रमुख प्रा.डा. श्रेष्ठ बताउँछन्।

ठूला दुर्घटनामा मृत्यु भएकाबाहेक सामान्य अवस्थामा हाल विभागमा विविध कारणले मृत्यु भएपछि पोस्टमार्टमका लागि दैनिक हाल विभागमा १० शव आउने गरेको प्रा.डा. श्रेष्ठले बताए। उनले भने, 'ठूला दुर्घटनाको बेलाबाहेक हाल दैनिक १० शव आउने गर्छन् तर हामीसँग यी शव अट्ने पनि फ्रिजर छैन। विभागसँग २० वटा शव राख्ने फ्रिजर छन्, जसमध्ये तीनवटा बिग्रिएर बसेका छन्, तीनवटा फ्रिजरमा जम्मा छवटा मात्रै शव राख्न मिल्छ।'

२० वटा फ्रिजरसहित दुईवटा कोल्ड रुम रहेको विभागमा हाल दुईवटा कोल्डहरूमा लामो समयसम्म सनाखत हुन नसकेका ६५ वटा शवहरू छन्। त्यही पनि कोल्ड रुम बेलाबेलामा बिग्रँदाखेरी विभाग वरपर दुर्गन्ध फैलने गरेको समेत डा. श्रेष्ठले बताए। उनका अनुसार भएका उपकरणहरू २५ वर्ष पुराना भइसकेका छन्।

उनले भने, 'सनाखत नभएका र लामो समयसम्म राख्नुपर्ने शवहरूलाई नै सुरक्षित राख्न अप्ठ्यारो हुनुका साथै दैनिक आउने शव राख्ने ठाउँको समेत हामीलाई अप्ठ्यारो छ। कहिलेकाहीँ एकै पटक धेरै शव आउँदा शव राख्नै समस्या छ।'

विभागका लागि भूकम्पका बेला रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आइसिआरसी)ले दिएका ५० वटा शव राख्न मिल्ने एउटा फ्रिजर पनि बिग्रिएको छ। शून्य डिग्री सेल्सियस तापक्रम हुनुपर्ने फ्रिजर बिग्रिएका कारण १८ डिग्री सेल्सियस तापक्रम हुने गरेको छ। यसले सबै शवहरू कुहिन्छन्। विभागमा पोस्टमार्टम गर्ने कक्षको समेत अभाव रहेको प्रा.डा. श्रेष्ठले बताए। उनले भने, 'एकातिर शवलाई सुरक्षित तरिकाले राख्न समस्या छ भने अर्कोतिर पोस्टमार्टम गर्ने ठाउँको अभाव छ।  एउटा शवलाई पोस्टमार्टम गर्न कम्तीमा पनि दुई घन्टा लाग्छ। पोस्टमार्टम गर्ने टेबल जम्मा तीनवटा छन्।'

 शव गाड्ने ठाउँको पनि अभाव

विभागलाई हाल भएका शवहरूलाई सुरक्षित रूपमा राख्न समस्या छ भने अर्कोतर्फ शव गाड्ने ठाउँको समेत अभाव रहेको विभाग प्रमुख प्रा.डा. श्रेष्ठले बताए। वर्षौंसम्म पहिचान नभएका शवहरू भविष्यमा आफन्तहरू खोज्न आएमा बुझाउनुपर्ने हुँदा यस्ता शवहरूका अवशेषहरूलाई जमिनमुनि गाडेर राख्नुपर्ने हुन्छ। यसले गर्दा शव गाड्ने ठाउँ आवश्यक हुन्छ तर हाल विभागलाई यस्ता खालका शवका अवशेषहरू गाड्ने ठाउँको समेत अभाव रहेको प्रा.डा. श्रेष्ठले बताए।

उनले भने, 'हामीले हाम्रो विभाग अगाडिको चार आना जग्गामा यस्ता शवहरूको अवशेष गाडेर राख्ने गरेका थियौँ अब उक्त ठाउँमा अस्पतालले भवन बनाउने तयारी गरेको छ। यसले गर्दा हाल शवका अवशेषहरू गाडेर राख्ने ठाउँको समेत अभाव छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.