|

 धनकुटा : जब सार्वजनिक बिदाको दिन आउँछ, तब धनकुटामा सुन्ने गरिन्छ, आज ‘ल्याण्डफिल्ड साइड’ घुम्न जाने हो? धनकुटामा आजकल धेरै सुन्ने गरिएको शब्द हो यो। हुन त ल्याण्डफिल्ड साइड शब्द सुन्नेबित्तिकै सहज रुपमा बुझ्ने कुरा हो। 'ल्याण्डफिल्ड साइडमा झिँगा भन्केर गन्हाइरहेको फोहोरको डंगुर होला भन्ने जो सुकैले पनि सोच्ने कुरा हो, मास्कबिना छिर्न सकिँदैन।' 
धनकुटा नगरपालिकाले निर्माण गरेको ल्याण्डफिल्ड साइडको बारेमा यी सबै कुरा असत्य हुन् भनी परिणत गरिसकेको छ। त्यहाँ झिँगा भन्किने त परको कुरा माहुरी र पुलतीहरु नाच्छन्। फोहोरको गन्ध आउनुको सत्ता बगैँचाका वास्नादार फूलहरूको सुगन्ध आउँने स्थलका रुपमा परिणत गरिसकेको छ।

बजारबाट करिब पाँनसय र गाउँबाट करिब एकसय ५० मिटरको दूरीमा रहेको ल्याण्डफिल्ड साइडको विषयमा बस्तीबाट हालसम्म कुनै गुनासो आएको छैन। यो हुनुमा ल्याण्डफिल्ड साइड व्यवस्थित हुनु नै हो।
धनकुटाको पहिचान बनाएको सल्लेरी वनको बीचमा रहेको ल्याण्डफिल्ड साइडको वरिपरि बगैँचा बनाइएको छ। धनकुटा आउने जो–कोही पनि सल्लेरी वनको फूलबारी पार्कमा रमाउन जान चाहन्छन। धनकुटा नगरपालिकाले ल्यान्डफिल साइडलाई फूलबारीमा परिणत गरेको छ। जहाँ ४५ जात भन्दा बढी फूलका बोट छन्। 
०६६ सालदेखि ०७० सालसम्म जम्मा भएको फोहोर कुहिएर मलको रुप लिएपछि यस स्थानलाई फूलबारीका रुपमा विकास गरिएको वातावरण शाखा अधिकृत उपेन्द्र खनालले जानकारी दिए। उनले भने ‘पहिले फोहोरको डंगुर थुप्रिएरको थियो,’ अहिले ‘यही स्थानमा फूलबारी बनाइएपछि धेरैको आकर्षणको केन्द्र बनेको छ।’
बस्तीबाट अवरोध नहोस् भनेर दुर्गन्ध कम गर्ने तरिका अपनाएको कारण अहिले यो स्थितिमा आईपुगेको खनालले बताए। नपाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोर नपाले नै सङ्कलन गर्ने व्यवस्था मिलाएको छ। 
फोहोरको दुर्गन्ध अन्त्य गर्न र घरमै फोहोर व्यवस्थापन गर्न नपाले तीनवटा तरिका अपनाएको खनालले जानकारी दिए। पहिलो घरपालुवा जनावरले खाने फोहोर सङ्कलन गरेर व्यवस्थापन गर्ने, दोस्रो मल बन्नाउन मिल्ने वस्तुलाई  कुहाएर घरकै कौशीखेती वा फूलबारीमा प्रयोग गर्ने र तेस्रो सम्भव हुनेले प्रांगारिक मल तथा गड्यौला खेती गरेर मल बिक्री गर्ने रहेको योजना अनुसार सरसफाई गर्दै आएको खनालले बताए। खनालले भने ‘फोहोर व्यवस्थापन गरेर उर्जा उत्पादन गर्ने कुरा भन्नु भन्दा पनि गरेर देखाउँदा सबैलाई सन्देश जाने रहेछ।’

आम्दानीको नयाँ स्रोत अपनाउँदै नगरपालिका
‘मिसाए फोहोर, छुट्याए मोहोर’ भन्ने नारालाई अघि सार्दै धनकुटा बजार सो क्षेत्रबाट संकलित फोहोरबाट नयाँ आम्दानी पत्ता लगाएको छ। नपाले स्थानीय घरबाट निस्क्ने विभिन्न फोहोरहरु संकलन गरी सड्ने वस्तुलाई  ‘एरोविक कम्पोस्टिङ’ मल बनाई दुई देखि बाह्र रुपैयाँ प्रतिकिलो विक्री गरिरहेको नपाको वातावरण शाखा प्रमुख खनालले जानकारी दिए।
वातावरणीय प्रभाव मूल्याङ्कनमा पटक पटक मुलुककै उत्कृष्ट बन्न सफल नपाले नगर क्षेत्रबाट मात्र दैनिक १० टन फोहोर संकलन गरी व्यवस्थापन गरी आम्दानी गरीरहेको छ। यसरी संकलित फोहोरबाट छुट्याइएका वस्तु बक्री गरेर नपाले वार्षिक एक लाख साठी हजार भन्दा बढी आम्दानी गरिरहेको तथ्याङकमा उल्लेख छ। बजारबाट निस्कने फोहोरलाई व्यवस्थित गरि स्वच्छ र हराभरा नगरको परिकल्पना गर्दै नगरपालिका र स्थानिय विकास मन्त्रालय जगेडा कोषको साझेदारीमा करिब चार करोड रुपैयाँको लागतमा ल्यान्डफिल निर्माण गरिएको थियो। 

धनकुटा–६ सल्लेरीमा रहेको यो ल्याण्डफिल्ड साइटले मुलुककै दोस्रो सफा नगरका रुपमा लगातार दुई वर्ष नेपाल सरकारबाट ७ र १० लाख रुपैयाँ पुरस्कार समेत लएको थियो।
नपाले पछिल्लो समय ल्याण्डफिल्ड साइडबाट नपाले वार्षिक ४० हजार राजस्व उठाइरहेको छ। फोहोरमैला व्यवस्थापन केन्द्रका संयोजक कौशल थापाका अनुसार ल्याण्डफिल्डबाट पुनः प्रयोग हुने सामान टिपेर प्रशोधन गरी थप आम्दानी भैरहेको जानकारी दिए। यो कार्यले गर्दा  ल्याण्डफिल्ड साइडमा १० स्थानियले रोजगारीको अवसर समेत प्राप्त गरी सकेको छ। 
३० रोपनी क्षेत्रमा फैलिएको ल्याण्डफिल्ड साइड ०६६ सालमा निर्माण गरिएका थियो। यो ल्यान्डफिल्डले सो क्षेत्रबाट संकलन  गरिएको फोहोरलाई ४५ वर्षसम्म धान्न सक्ने दाबी नपाले गरेको छ। 
आन्तरिक पर्यटनमा वृद्धि
धनकुटा नगरपालिकामा कुहिएको फोहोर घरैमा व्यवस्थापन गर्नुपर्ने र नकुहिने फोहोर नपाको ट्याक्टर आएपछि मात्रै सडकमा निकाल्न पाइने नियम छ। 
पछिल्लो समय ल्याण्डफिल्ड साइड पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ। धनकुटा नगरपालिकाको पर्यटन शाखाका प्रमुख विकास अधिकारीका अनुसार बैशाख महिनामा मात्रै करिब २५० समूह ल्याण्डफिल्ड साइड हेर्न आएका छन। जसमा धेरै जसो स्थानीय तहका जनप्रतिनिध र कर्मचारीहरु आएका छन। 

हालै मात्रै चितवनको रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दवाडीले धनकुटा बाट केही पाठ सिक्न आएको बताइन। उनले कुहिने फोहोर घरमै व्यवस्थापन र नकुहिनेको ल्याण्डफिल्डमा व्यवस्थापनका बारेमा जानकारी लिएको र अब रत्ननगरमा पनि धनकुटाको सिको गर्ने उपप्रमुख दवाडीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.