|

चितवन :  चितवनको भरतपुर महानगर र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौं घर डेंगु पोजेटिभ रहेको पाइएको छ। यहाँ सञ्चालन भएको डेंगु सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानका क्रममा यस्तो पाइएको हो। गएको फागुन २८ देखि चैत ३ गतेसम्म जिल्लाको भरतपुर महानगरपालिका,कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइएको थियो।

सो अभियान (सर्वेक्षण)को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले खोजी अभियान चलाइएको क्षेत्रका घर हेर्दा ५ दशमलव २८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताए। कुनै पनि घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्युपा भेटिए उक्त घर डेंगु पोजेटिभ सूचीमा राखिन्छ।

उनका अनुसार राप्ती,कालिका नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका सात हजार ३०६ वटा घरमा स्वयंसेविका खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो। उक्त अभियानका क्रममा ३८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताए।

भरतपुर महानगरपालिकाको चार हजार ६०५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको केसीले बताए। स्थानीयले घर वरपर सरसफाइमा ध्यान दिने कुनै पनि भाँडाकुडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्दा रोगबाट बच्न सकिन्छ।

पछिल्लो तथ्यांकअनुसार चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म एक हजार १६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ। यो बीचमा मकवानपुरका एक व्यक्तिको डेंगुले ज्यान लिएको थियो। मुख्यगरी एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.