|

इलाम ः थ्री स्टारको जीतसँगै इलाममा जारी चौथो अन्तर्राष्ट्रिय माई भ्याली गोल्ड कपको सेमिफाइनलको समीकरण पूरा भएको छ। थ्री स्टारसँग पुलिस ट्राइ ब्रेकरमा ४-३ गोल अन्तरले पराजित भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। 

निर्धारित ९० मिनेटमा दुवै टिमबाट १-१ गोल भएको थियो। त्यसपछि थपिएको अतिरिक्त १५ मिनेटमा समेत दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय ट्राइ ब्रेकरबाट गरिएको थियो। पुलिसले खेलको २७औँ मिनेटमा अग्रता लिएको थियो। नीरकुमार राईको पासलाई सदुपयोग गर्दै रजिन सुब्बाले सहजै जाली चुमाएका थिए।

पहिलो हाफमा १-० ले पछि परेको थ्री स्टार दोस्राे हाफमा भने खेलमा फर्कियो। थ्री स्टारले ७३औँ मिनेटमा जवाफी गोल फर्कायो। डी बक्सबाहिर पाएको फ्री किकको अवसरलाई सदुपयोग गर्दै थ्री स्टारका रजिन धिमालले दाहिने बार च्याप्दै सहजै जाली चुमाएका थिए। 

ट्राइ ब्रेकरमा थ्री स्टारका कप्तान निराजन खड्का, विमल घर्तीमगर, रजिन धिमाल र रूपेश केसीले गोल गरे। सुनिलको बलको प्रहार भने पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरे। पुलिसका तर्फबाट भने रजिन सुब्बा, तेज तामाङ र दिनेश राजवंशीले मात्र गोल गरे। सुमन लामा र हेम तामाङको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ठ बचाउ गर्दै टिमलाई अघिल्लो चरण उक्लिन मद्दत गरे।

ट्राइ ब्रेकरमा २ गोल सेभ गरेका थ्री स्टारका गोलरक्षक न्यौपाने घोषित हुँदै नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरे। माई भ्याली गोल्ड कपको दुवै भेटमा थ्री स्टार पुलिसमाथि हाबी भएको छ। पहिलो सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी आमने सामने हुँदै छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.