बैठक भोलि सकिँदै

|

काठमाडौं : चुनावी समीक्षाका लागि ११ दिनदेखि बसिरहेको कांग्रेस केन्द्रीय समिति बैठक अन्य दिनभन्दा बिहीबार अलिक फरक रह्यो। अरू दिन धेरै केन्द्रीय सदस्यले चुनावको समीक्षा र आगामी दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा धाराणा राख्थे तर बिहीबार भने दुई केन्द्रीय सदस्यलाई आफ्नो धारणा राखिसक्नसमेत समय अपुग भयो। सधैँ जस्तै बिहान ११ बजे सुरु भएको केन्द्रीय समिति बैठकमा बेलुका ७ बज्न लाग्दासम्म पनि दुई जना केन्द्रीय सदस्यले धारणा राखिसकेनन्। 

बैठक सुरु हुनेबित्तिकै कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले आफ्नो धारणा राखे। उनले पार्टीभित्र आपसको लडाइँका कारण कांग्रेसले चुनावमा पराजय भोग्नुपरेको धारणा राखे। उनले कांग्रेसले यहाँसम्म आइपुग्दा धेरै उपलब्धि हासिल गरेको र केही कमजोरी पनि भएको भन्दै कमजोरीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने धारणा राखे। उनले करिब तीन घण्टा लगातार भनाइ राखे। 

त्यसपछि सुरु भयो कांग्रेसमा लामो समयपछि फर्किएका नेता तथा आमन्त्रित केन्द्रीय सदस्य विजयकुमार गच्छदारको भाषण। उनले आफ्नो विषय राख्ने क्रममा चुनावको समीक्षा गर्नुभन्दा विगतमा आफू कांग्रेसमा रहँदाको स्मरण गरे। कांग्रेसको राजनीतिमा चार दशक बिताएर एक दशकअघि पार्टी छाडेका गच्छदार चुनावअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेससँग केही चुनाव एकीकरण भएको नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहेका नेता गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बैठकमा सहभागी छन्। 

चुनावको समीक्षा बैठकमा सहभागी नेता गच्छदारले २०३३ पछिको नेपाली कांग्रेसको भूमिका र राजनीतिक घटनाक्रमको चर्चा गरेका थिए। बैठकमा गच्छदारले पहिलादेखिको पार्टीको समीक्षा गरेको कांग्रेस नेता डा. प्रकाशशरण महतले बताए। उनले भने, ‘उहाँले निकै लामो बोल्नुभयो। उहाँले अहिलेको मात्र कुरा गर्नुभएन, इतिहासकै कुरा गर्नुभयो। अहिलेको कुरामा त भर्खर पुग्दै हुनुहुन्छ।’

उनले लामो समयसम्म यसरी आफ्नो स्मरण राखिरहँदा धेरै केन्द्रीय सदस्यहरू दिक्क भएर बैठकबाट बाहिरिइरहेका थिए। एक केन्द्रीय सदस्यले बैठकबाट बाहिरिँदै भने, ‘उहाँ (गच्छदार)ले इतिहास कोट्याउनुभयो। बैठको विषयमा कुरै राख्नुभएन, म त इरिटेट भएर निक्लेको।’ 

त्यही क्रममा बाहिरिएका कांग्रेस नेता डा. रामशरण महतले भाषण लामो भएकाले आफू निक्लिएको प्रतिक्रिया दिए। उनले भने, ‘गच्छदारजीको भाषण लामो भयो। मेरो काम पनि पर्‍यो। उहाँ खास विषयमा प्रवेश गर्नुभएन र म निक्लिएको हुँ।’ 

गच्छदारले पार्टीको इतिहासभन्दा पनि आफ्नो इतिहासका बारेमा धेरै चर्चा गरेको कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले बताए। बैठक सकिनुभन्दा एक घण्टाअघि निक्लिएका श्रेष्ठले बैठक कतिबेला सकिन्छ भन्ने पत्रकारको प्रश्नमा भने, ‘गच्छदारजी इतिहास कोट्याउँदै हुनुहुन्छ। यति टाइम लाग्छ त भन्न सकिँदैन। उहाँले पार्टीको इतिहासभन्दा पनि बढी व्यक्तिगत चर्चा गर्नुभयो।’ 

सभापति शेरबहादुर देउवा निकट मानिएका उनले धेरै देउवाको चर्चा गरेको बताइएको छ। यति गर्दा पनि उनको भाषण सकिएन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उनले भोलि (शुक्रबार) पनि आफ्नो धारणा राख्नेछन्। उनले भने, ‘उहाँले निकै लामो इतिहासका कुरा गर्नुभयो। बल्ल विषयमा आउनुभएको छ। भोलि बिहान बस्ने बैठकमा चाहिँ सक्नुहुन्छ।’

तर गच्छदारले यति लामो भाषण गर्नु स्वाभाविक रहेको प्रवक्ता शर्मा बताउँछन्। भन्छन्, ‘आजको बैठकको रोचक पक्ष के रह्यो भने दुई जना नेताले मात्र बोल्नुभयो। यो स्वाभाविक पनि हो। नेपाली कांग्रेसको निकै लामो समयपछिको समीक्षा बैठक, फेरि गच्छदारजी पनि लामो समयपछि पार्टीमा फर्किनुभएको, त्यस कारण उहाँले ऐतिहासिक विषय राख्नुभएको छ।’ 

११ दिनदेखि जारी बैठक शुक्रबार भने सकिनेछ। प्रवक्ता शार्माका अनुसार शुक्रबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीदादेवी यादवले आफ्नो धारणा राखेपछि बैठक सकिनेछ। शर्माले भने, ‘भोलिको दिन बोल्न पनि कम छ। भोलि हामी एउटा सहमतिसहितको निर्णय गरेर बैठक सक्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.