|

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार पर्यटकको रोजाइमा पर्न थालेको छ। कृष्णसारको अवलोकनका लागि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ। 

निकुञ्जको अर्जुनी सेक्टरका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार चालु आर्थिक वर्षको चैतसम्म झण्डै एक हजारभन्दा बढी पर्यटकले कृष्णसार अवलोकन गरेका छन्। यसै अवधिमा विभिन्न विद्यालयका १५० जनाभन्दा बढी विद्यार्थीले समेत अवलोकन गरेका छन्। यस्तै, तीन दर्जनभन्दा बढी विदेशी पर्यटक कृष्णसार हेर्न पुगेका छन्।

शुक्लाफाँटा नगरपालिकाले समेत कृष्णसारको प्रचारप्रसार तथा प्रवरद्धनका लागि योजना अघि बढाएको छ। आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन होमस्टे सञ्चालनसँगै सडकको स्तरोन्नतिलाई अघि बढाउने योजना अघि सारेको छ।

नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष जगतबहादुर सिंहले कृष्णसार संरक्षित क्षेत्र नजिकैको मध्यवर्ती क्षेत्रमा पर्यटकलाई लक्षित गर्दै पार्क, अत्याधुनिक खेलकुद मैदान निर्माण गर्ने योजना रहको बताए। उनले पर्यटक आवागमनलाई सहज बनाउन सडकको कालोपत्रे गर्ने काम सुरु भैसकेको बताए।

बढ्दै संख्या 

०६९ असोजमा नेपालगन्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जावलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुर स्थानान्तरण गरिएको थियो। हाल कृष्णसारको संख्या बढेर ६४ पुगेको छ।

वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्या बढ्दै गएको बताइएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीका अनुसार कृष्णसारका वयस्क भाले २२, पोथी २०, अर्धवयस्क भाले सात, पोथी छ र एक सातादेखि पाँच महिनासम्मका पाठापाठीको संख्या नौ रहेको छ। यस क्षेत्रमा गत वर्षको यसै अवधिमा कृष्णसारको संख्या ४५ थियो। जसमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको संख्या १५ रहेको थियो।

स्याहार–सुसारमा ध्यान

कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि दिँदै आइएका निकुञ्ज कार्यालयले जनाएको छ। अतिरिक्त खानाको व्यवस्था गरेका कारण कृष्णसारको संख्या बढेको अधिकृत चौधरीले बताए।

कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चारवटा पोखरी र दुई वटा छहारी घर निर्माण गरिएका छन्। संरक्षित क्षेत्रभित्र खानाको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको छ। 

कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि २५ हेक्टर क्षेत्रफलमा ग्याबिन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ। चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकून् भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चौधरीले बताए। उनका अनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत छाडिने गरिएकाले बाह्य जनावर त्यस क्षेत्रमा जान डराउने गर्दछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीशिकारले गर्दा केही समययता लोप हुने सँघारमा पुगेको छ।

नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै ३०० वटा बर्दिया खैरापुरमा रहेको बताइएको छ। एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाडौंको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ। घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रंगको हुन्छ। यसले छ छ महिनामा बच्चा जन्माउने गर्दछ। वयस्क नभएसम्म भाले र पोथीको रं खैरो हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.