|

इनरुवा नगरपालिका सुनसरी जिल्लाको सदरमुकाम हो। विकास निर्माणका दृष्टिले जिल्लाका छवटा नगरपालिकामध्येको पिछडिएको नगरपालिका हो यो। वि.सं. २०४७ मा स्थापना भएको यस नगरपालिकामा हाल १० वडा कायम छन्।

इनरुवा नगरपालिकाको पूर्वमा गढी, पश्चिममा भोक्राहा गाउँपालिका, उत्तरमा रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिका पर्दछन्। दक्षिणमा भने हरिनगरा गाउँपालिका रहेको छ। पूर्व-पश्चिम राजमार्गले छोएको इनरुवा नगरपालिकामा मिश्रित समुदायका मानिसहरूको बसोवास रहेको छ। यद्यपि, इनरुवामा बढी मात्रामा मधेसी मूलका मानिसहरूको बसोवास छ। यस नगरपालिकामा नेपाली कांग्रेसका राजन मेहता नगर प्रमुख छन्। मेहताले निकटतम प्रतिद्वन्द्वी एमालेका पोष्टकुमार नेपाललाई पराजित गर्दै पाँच वर्षका लागि नगरपालिका सम्हाल्ने अवसर पाएका हुन्। उनै नगर प्रमुख मेहतासँग थाहाखबरका सुनसरी संवाददाता अर्जुन सुवेदीले गरेको कुराकानी।

नगर प्रमुखमा निर्वाचित भएको नौ महिना पूरा भएको छ। यो अवधिमा नगरवासीले महसुस गर्ने खालका के कस्ता काम गर्नुभयो?

हो, नौ महिनाजति भयो म निर्वाचित भएको। हामीलाई यहाँका जनताले विजयी गराएका हुन्। जनताको हामीप्रति सहानुभूति छ। जनतामा राम्रो काम जनप्रतिनिधिले गर्छन् भन्ने ठूलो आशा पनि छ। निर्वाचनका समयमा भोट माग्दा हामीले नगरवासीका लागि धेरै वाचा गरेका थियौँ। हामीले गरेका ती नगरवासीका वाचालाई पूरा गर्नु छ। जनप्रतिनिधिविहीन भएको १६ वर्षमा नभएका थुप्रै काम नौ महिनाको अवधिमा हामीले गरिसकेका छौँ। निरन्तर गर्दै जानेछाैँ। हुनत सबै काम देखिने हुँदैनन्। जस्तो : बाटो, नाला, कल्भर्ट बनाउनु, वाइफाई जोड्नु, सोलार जोड्नु, सिसिटिभी क्यामेरा जडान जस्ता काम देखिने काम हुन्। तर अप्रत्यक्ष रूपमा पनि जनसरोकारसँग ‘अट्याचमेन्ट’ भएका धेरै कामहरू हामीले गरिसकेका पनि छाैँ। काम गर्छ भन्ने लक्षण देखाइसकेका छाैँ।

साविकको इनरुवा नगरपालिकामा पाँचवटा गाविस समेटिएका छन्। साविक इनरुवा नगरपालिकाका ८० प्रतिशत बाटाहरू हामीले बनाउन सफल भएका छाैँ। प्राय: नगरको नाली बनाउन सफल भएका छौँ। नगरको बाटो र नाली बनाउने काम नगरपालिकाको आन्तरिक स्रोतबाट नभएर नेपाल सरकारको शहरी विकास मन्त्रालयको केन्द्रीय योजनाअनुसार नै भएको हो। शहरी विकास मन्त्रालयबाट नगरपालिकामा मिसिएका साविकका गाविसहरूको विकासका लागि पनि थप रकम ल्याइसकिएको छ। बाटो र नाला कस्तो बनाउने? नाला बन्ने ठाउँमा मात्र नयाँ बाटो बनाउने र बाटो, ढल, नाली बनिसकेपछि मात्र बनाउने कि भन्ने विषय भने छलफल गरिरहेका छौँ। खानेपानीका सवालमा पुराना पाइपलाइन (२०३२ सालमा निर्माण भएका) विस्थापित गरी नयाँ पाइप जडान गर्ने प्रक्रिया सुरु गरेका छाैँ, जसका लागि टेण्डर प्रक्रिया सुरु भइसकेको छ।  

१५ बेडको जिल्ला अस्पताल इनरुवालाई ५० बेडको अस्पताल बनाउन सफल भएका छाैँ। अस्पतालका भवनहरू निर्माण हुने क्रममा छन्। इनरुवा नगरपालिकामा एउटा मेडिकल अफिसर रहने ठाउँमा चार/चार जना विशेषज्ञ डाक्टरहरू रहने व्यवस्था गरेका छाैँ। अब डेलिभरी र अन्य अप्रेसन गर्न बिरामी धरान या विराटनगर लगिरहनुपर्दैन। त्यो सुविधा हामीले इनरुवामै दिइरहेका छाैँ। कान, घाँटी, छाला, हड्डीका चिकित्सक ल्याएर सेवा दिने गरिएको छ। शिक्षा क्षेत्रतर्फ नयाँ नीति बनाउँदै छाैँ। युवालक्षित प्राविधिक शिक्षाका आकर्षक कार्यक्रम ल्याउँदै छाैँ। यसमा कांग्रेस–एमाले वा अन्य पार्टी भन्ने छैन। हामी जनप्रतिनिधिको नाताले इनरुवामा नगरको विकास निर्माणमा अघि बढिरहेका छाैँ।

जनप्रतिनिधिले नगरपालिका सम्हाले पनि सेवाग्राहीले आफैँ चुस्त दुरुस्त रूपमा सेवा नपाएको गुनासो छ नि! 

त्यस्तो होइन। हामीले नगरपालिकाको सेवा चुस्त दुरुस्त पारेका छाैँ। जन्म दर्ता, मृत्यु दर्ता, बसाइँ सराइ जस्ता नियमित काम कम्प्युटरमा रेकर्ड राख्न थालिसकेका छाैँ। वडावडामै कर लिने व्यवस्थाको थालनी गरिएको छ। १० वटै वडामा कार्यालय खुलिसकेका छन्। सेवाग्राहीको चाप वडा कार्यालयमा हुने गर्छ, जसले गर्दा नगरपालिका सुनसान जस्तो देखिन्छ। यसको मतलब सुनसान देखिनु भनेको काम नहुनु होइन। काम त भइरहेको छ तर नगरपालिकामा हुने भीडभाडचाहिँ अब वडामा देखिन थालेकाे छ। नगरपालिकाको काम सबै सिस्टममा हुन थालेको छ। आर्थिक सहयोग माग्न आउनेको अलिअलि गुनासो भए पनि अन्य सबै काम सिस्टमले चल्न थालेको छ।

सरकारको आर्थिक सहयोग गर्ने कुनै ठोस नीति नभएकाले अप्ठ्यारो परेको छ। त्यसका लागि नगरपालिकाले बिरामी पर्दा उपचार गराउन सहयोग गर्ने, नागरिक स्वास्थ्य बीमा गराउने अभियान थालेको छ। यसले गर्दा पाँच जनासम्मको परिवारले ५० हजार रुपैयाँसम्मको उपचार पाउँछन्। सकेसम्म नगरवासीको काम छिटो–छरितो गराउने, सर्वसाधारणको गुनासो कम गर्नेजस्ता योजना पनि ल्याएका छाैँ।

लामो समयसम्म कर्मचारीले चलाएको स्थानीय तह अहिले जनप्रतिनिधिले चलाउँदा के कस्ता चुनौती सामना गर्नुपरेको छ?  

चुनौती त समाजमा आइ नै रहन्छन्। दैनिक एउटा न एउटा समस्या आइहाल्छन्। आज एउटा समस्याको समाधान हुन्छ, भोलि एउटा घटना घटिरहेको हुन्छ। जनप्रतिनिधिहरूको भने २४ घण्टे ड्युटी हुँदोरहेछ। बिहान उठेदेखि बेलुका नसुतेसम्म राती सुतेको बेला पनि उठेर जनताको समस्यामा जानुपर्ने अवस्था हुन्छ। जानु पनि पर्छ। जनप्रतिनिधि भएपछि जनताप्रति २४सै घण्टा जवाफदेही हुनुपर्छ। त्यसमा कसैसँग सम्झौता गर्न मिल्दैन। 

नगरपालिकालाई साधन स्रोतले सम्पन्न बनायो भने नगरपालिकाको काम भएको बेला आफ्नो बाटो बनाउँछन्। नभएको बेला जनताको काम गरेर आर्य आर्जन हुन्छ। सानासाना कुरालाई दायरा बढाएर हामीले आम्दानीको स्रोत बढाउन रातदिन पहल गरिरहेका छाैँ।

तपार्इं पनि युवा नै हुनुहुन्छ। नगर क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने के कार्यक्रम सुरु गर्नुभएको छ? 

मैले युवालाई सबैभन्दा पहिला सफा र स्वस्थ युवा बनाउन स्वास्थ्य बीमाको कार्यक्रम लागू गरेको छु। युवा वैदेशिक रोजगारमा आकर्षित नहोस् भन्ने सोच राखेको छु। यदि वैदेशिक रोजगारमा जान चाहेमा पनि प्राविधिक शिक्षा लिएर मात्र जाओस् भन्ने सोचको प्रेरणा जगाउन थालेको छु। प्राविधिक शिक्षामा जोड दिएको छु। ड्राइभिङ शिक्षा लिन प्रोत्साहन गरेको छु। तालिमको व्यवस्था मिलाएको छु। अहिले घरघरमा, टोलटोलमा सहकारी, युवाद्वारा सहकारी संचालन भन्ने कार्यक्रम ल्याइएको छ। छ महिनापछि इनरुवामा १०० वटा बढी नयाँ सहकारी हुनेछन्। सहकारीमा हजारौँ युवाले रोजगारी पाउनेछन्। यसले गर्दा उनीहरूको आर्थिक, शारीरिक, भौतिक र शैक्षिक उन्नति हुनेछ। सबैभन्दा बढी युवा पिँढीलाई सहकारीमा आकर्षित गरेर अघि बढ्ने योजना छ। 

जिल्लाको सदरमुकाम भएर पनि इनरुवा बजार अस्तव्यस्त छ।  बजार व्यवस्थित गर्न के योजना छ? 

बजार व्यवस्थित गर्न सर्वप्रथम त पार्किङ छैन। पार्किङको व्यवस्था गर्छौं। हामीसँग सार्वजनिक शौचालय छैन। यसका लागि रणनीति बनाउँदै छौँ। ठाउँ हेर्दै छाैँ। बजारको बाटो चौडा गर्नु छ। व्यवस्थित पनि गर्नु छ। त्यसका लागि पहल पनि भइरहेको छ। हिजोका जनप्रतिनिधिले इनरुवा बजार व्यवस्थित गर्न सोचेनन्। इच्छाशक्ति पनि भएन, जसले गर्दा यस ठाउँको विकास हुन सकेन। त्यही भएर अहिले जनताले हामीलाई निर्वाचित गरेका छन्। हामी राजनीतिशास्त्री त होइनौँ तर पार्टीले नगर बनाउने कामको जिम्मेवारी दिएको छ। जनताले पनि विश्वास गरेका छन्। जनताले गरेको विश्वासमाथि चाहिँ खरो उत्रन सक्ने हाम्रो क्षमता हुनुपर्छ। हामी त्यसका लागि अहोरात्र खटिरहेका छाैँ। अब व्यवस्थित इनरुवा, हराभरा इनरुवा र नगरवासीको माग पूरा हुनेछ। व्यवस्थित शहर बनाइनेछ।

नगरपालिकामा विभिन्न राजनीतिक विचार भएका व्यक्तिहरू निर्वाचित भएका छन्। अन्य दलहरूसँगको सहकार्य कस्तो छ? 

एकदमै राम्रो छ। एकदमै सजिलो छ। अहिले त कांग्रेस, वाम गठबन्धन, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी चारवटा पार्टी छन्। चारवटा पार्टीभित्र हिजोको संयन्त्रमा बस्ने र हिजो राजनीतिक दलको हैसियतमा रहेर काम गरेका साथीहरू छन्। धेरै राम्रो सम्बन्ध छ। खासगरी एमालेका साथीहरूले विकास निर्माणको सवालमा कोहीसँग सम्झौता नगर्ने, दलीय स्वार्थमा नहिँड्ने र अरू दलहरूले पनि त्यही भनेका छन्।

हामीले साझा सहमति गरेका छाैँ। इनरुवालाई व्यवस्थित शहर बनाउने र कृषि शहर बनाउनेमा दलको एजेन्डाभन्दा पनि जनसमुदायलाई सम्बोधन हुने एजेन्डा लिएर अघि बढ्नेछाैँ।

स्थानीय तहलाई कानुन बनाउने अधिकार पनि दिइएको छ। नगरपालिकाले बनाउने ऐन कानुनको कामचाहिँ के हुँदै छ? 

ऐन बनाएका छैनौँ। हामीले हतार गरेको पनि छैन। धेरै नगरपालिकाले ऐन बनाएर राजपत्रमा प्रकाशन गरिसके तर यसका लागि हामी राय सल्लाह गर्दै छाैँ। एउटा अनुभवको आदानप्रदान गर्दै छाैँ। प्रदेश सरकारको काम कस्तो किसिमले हुन्छ। त्यो हिसाबले हामी बनाउनेछाैँ। किनभने हामीले एक किसिमको कानुन बनाउँला, प्रदेश सरकारसँग बाझिएला। त्यस कारण प्रदेश सरकारको कानुन पर्खेर बसेका छाैँ। त्यहीअनुरूप हामी जान्छौँ।

इनरुवा क्षेत्रमा वर्षाको बेला बाढीले स्थानीयलाई निकै सताउने गर्छ। यो समस्या समाधान गर्न के गर्दै हुनुहुन्छ? 

योचोटि यस्तो किसिमले हामीले ढल निर्माण गरिसक्यौँ। जस्तोसुकै बाढी आए पनि समस्या हुँदैन। अब कोसी नै तीन ठाउँमा फुट्यो भने त भन्न सक्दिनँ। सामान्यतया: खहरे खोलाबाट आउने बाढी इनरुवाले मज्जाले थेग्छ। ठूलठूला ड्रेन बनाएका छौँ। इनरुवालगायत आसपासको पानी सिधै सुनसरी खोलामा जान्छ। सबै नालीहरूको पानी लेभलिङ गरेर पानी कता बग्छ, त्यतैबाट मोडेर हामीले समस्या समाधान गर्न खोजेका छौँ। यहाँसम्म भनौँ, प्राकृतिक प्रकोपको बारेमा त भन्न सकिँदैन के होला होला तर सम्भावित खतराहरूका लागि हामी तयार भएर बसेका छौँ।

इनरुवा तरकारी पकेट क्षेत्र र अन्नबाली उत्पादनको भण्डार मानिन्छ। किसानलाई प्रोत्साहन हुने के कार्यक्रम ल्याउनुभएको छ? 

हो, इनरुवा कृषि ‘हव’ नै हो। यो नगरपालिकालाई कृषि उत्पादनमा जोड दिएनौँ भने कृषिजन्य वस्तु, पशुजन्य वस्तुमा यसलाई अगाडि बढाएनौँ, लगानी गरेनौँ भने विकासका निम्ति कुनै उपाय छैन। इटहरीमा १०० रुपैयाँ पर्ने तरकारी इनरुवामा २५ रुपैयाँमा बिक्री गर्नुपरेको छ। यहाँको समस्या भनेको उत्पादन भएको सामान सम्बन्धित ठाउँसम्म पुर्‍याउने नै हो। यातायात व्यवसायीमा मात्र सिन्डिकेट होइन, कृषि, तरकारीमा पनि सिन्डिकेट छ। धेरै ठूलो समस्या छ। यहाँका व्यापारी सिधै इटहरी गएर तरकारी बेच्न सक्ने अवस्था छैन। इटहरी गयो भने त्यहाँ बिक्री गर्ने ठाउँ नै पाउँदैन। त्यहाँका व्यापारीले बस्ने ठाउँसमेत दिँदैनन्। यहाँका व्यापारीलाई म इटहरी र धरान लगेर बिक्री गर्न भनेर सल्लाह दिन्छु।

किसानले उत्पादन गरेको तरकारी इनरुवामा थोक बजारमा लगेर बिक्री गर्नुपर्ने अवस्था छ। त्यसमा पनि उनीहरूले लगाएको दाममा बेच्नुपर्नेछ। अब बाहिर लगेर बिक्री गरी सिन्डिकेट तोड्नुपर्नेछ। त्यही भएर अहिले वडा- १० मा कृषि थोक बिक्री केन्द्र बन्दै छ। सवारी साधनसहितको बिक्री केन्द्र हुनेछ अनि हामी इटहरी, धरान र काठमाडौंको भाउ बुझ्छौैँ। उचित भाउ दिएर किसानको तरकारी हामी किन्छौँ। कृषि बोर्ड गठन गर्छौं। छुट्टै अफिसर राखेर इटहरी, धरानलगायतका स्थानमा स्टोर सेन्टर राखेर बिक्री गर्छौं। १० वटै वडामा थोक बिक्री केन्द्र स्थापना गरी काम अघि बढाउँनेछौँ। कुन वडाको जमिनमा के उत्पादन हुन्छ, त्यहीअनुसार उत्पादन पनि गर्ने योजना छ। 

एउटा वडालाई एउटा चिजको विशेष हव बनाउने योजना पनि रहेको छ। सरकारी बैंकहरूलाई कृषि क्षेत्रमा लगानी गर्नुहोस् भनेर हामी आह्वान गर्नेछौँ। हामीले कृषि मेला लगाउन खोज्दै छौँ। यो मेला तुरुन्तै लगाइनेछ। भैँसी सुन्दरी प्रतियोगिता गर्दै छौँ। यसका लागि हामीलाई पहिलो पुरस्कारका लागि अढाई लाख रुपैयाँको भैँसी उपहार पनि दिने टुंगो लागिसकेको छ। पशुपालनलाई प्राथमिकता, पशु हाटको व्यवस्थापन र कार्यान्वयनको पाटोमा पनि अघि बढ्नेछौँ। यस्तै, इनरुवामा सीमान्तकृत त्यसमा पनि शहरी गरिवको बसोवास छ। उनीहरूलाई लक्षित गरेर कस्तो किसिमको कार्यक्रम लैजाँदा जीवनस्तरमा सुधार हुन्छ। त्यहीअनुसारको कार्यक्रम ल्याउने योजना पनि रहेको छ। 

इनरुवालाई आर्थिक रूपमा सबल बनाउन तथा नगरपालिकाको आय स्रोत बढाउने के योजना छ? 

हाम्रो सुपर मार्केटमा झन्डै सयवटा कोठा छन्। साना सुपर मार्केटहरूलाई भत्काउने र ठूला सपिङ कम्प्लेक्सको निर्माण गर्ने योजना छ। हटियामा एक–दुई दिन लाग्ने बजारलाई सातै दिन लगाउँछौँ। एक ठाउँमा मात्र थोक कृषि बिक्री केन्द्र छ। त्यसलाई हामी तीनदेखि चार ठाउँमा विस्तार गर्दै छौँ। कृषकको उत्पादनलाई यहाँबाट बाहिर लैजाने र नगरपालिकाले कर बढाउने होइन, एक व्यक्तिसँग मात्र नभएर सबै व्यक्तिसँग थोरैथोरै कर लिने र करको दायरा बढाउने रणनीति लिएका छौँ। अर्को कुरा, इनरुवा नगरपालिकालाई साधन स्रोतले भरिपूर्ण बनाउने भनेर लागेका छौँ। 

मैले आफू चढ्ने र उपप्रमुखले चढ्ने गाडी खरिद गरिन्। वडा अध्यक्षले चढ्ने मोटरसाइकल खरिद गरिन् तर नगरपालिकाको विकासको योजनालाई पूरा गर्न जेसिवी खरिद गर्ने र ट्रिपर किन्न टेण्डरसमेत दिने कार्यक्रम छ। नगरपालिकालाई साधन स्रोतले सम्पन्न बनायो भने नगरपालिकाको काम भएको बेला आफ्नो बाटो बनाउँछन्। नभएको बेला जनताको काम गरेर आर्य आर्जन हुन्छ। सानासाना कुरालाई दायरा बढाएर हामीले आम्दानीको स्रोत बढाउन रातदिन पहल गरिरहेका छाैँ।

यहाँको कार्यकालको बाँकी चार वर्षको अवधिमा इनरुवा नगरलाई कस्तो बनाउने सपना देख्नुभएको छ? 

नगरका सबै ठाउँमा ढल, नाला र पक्की बाटो हुन्। नगरवासीको पाइला हिलो र धूलोमा टेक्न नपरोस्। ग्राभेल नभएको ठाउँमा ग्राभेल होस्। पानीको निकास होस्। सर्प र कीराले नटोकून्। बिजुली बत्तीको पोल लागोस्। खानेपानीको राम्रो व्यवस्था होस्। हस्पिटलमा नगरवासीले राम्रो उपचार पाऊन्। बालबालिकाले राम्ररी विद्यालयमा पढ्न पाऊन्। यहाँ ढुंगा, गिटी, खोला, बालुवा, जंगल, जुटीबुटी केही छैन। जंगली जनावर छैनन् तर हामीसँग यहाँ ठूलो कृषियोग्य जमिन छ। कृषियोग्य जमिन प्रयोग गर्न प्याकेज कार्यक्रम लागू गर्दै छौँ। सिँचाइको सुविधा पुर्‍याउन डिप बोरिङ, ट्युव वेल, मोटरको व्यवस्था गरेर किसानको उत्पादनलाई प्राथमिकता दिने र उत्पादन भएको वस्तुलाई बजारमा राम्रो मूल्य पाउने ठाउँमा पुर्‍याइदिने ढंगले लागेका छाैँ। इनरुवाको मुख्य एजेन्डा नै स्वच्छ सफा, हराभरा र कृषियोग्य र बसोवासयोग्य इनरुवा भन्ने मूल नारा छ। त्यसैअनुरुप हामी काम गरिरहेका छाैँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.