|

धनकुटा : उद्योग वाणिज्य संघ तथा नेपाल अलैंची व्यवसायी महासंघ धनकुटाको संयुक्त पहलमा धनकुटा नगरपालिका १ हिलेको टिमुरेमा अलैंचीलगायत कृषिजन्य वस्तु भण्डारण गर्ने उच्च क्षमताको शीत भण्डार निर्माण थालिएको छ। ३ करोड २५ लाखको रुपैयाँको लागतमा निर्माण हुने शीत भण्डार आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउनेछ।

धनकुटामा शीत भण्डार निर्माण कार्य लामो समयको पहलपछि सुरु भएको निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश घिमिरेले बताए। उनले अलैंची भण्डारणलाई पहिलो प्राथमिकतामा राखिएको भए पनि मासु बाहेकका सम्पूर्ण कृषिजन्य वस्तु शीत भण्डारमा समावेश गरिने बताए।

शीत भण्डार निर्माणको लागि गैरसरकारी संस्था उन्नति नेपालको ५० प्रतिशत र उद्योग वाणिज्य संघ धनकुटा तथा अलैंची व्यवसायी महासंघको ५० प्रतिशत लगानी रहेको छ। अलैँचीलगायत नगदेबाली तथा तरकारी, फलफूल उत्पादनको उर्वर भूमि भए पनि किसानले उत्पादन गरेका वस्तुहरु सिजनमा मूल्य नपाएर लामो समयसम्म राख्दा खेर जाने समस्या रहेको थियो। अब यो समस्या हट्ने भएको स्थानीयवासी तथा निर्माण समितिका सदस्य गौरब कार्कीले बताए।

अलैंची व्यवसायी महासंघ धनकुटाका अध्यक्ष इन्द्र तितुङले उच्च परिमाणमा कारोवार हुने अलैंचीको बजार र व्यापारलाई लक्षित गरी शीत भण्डार निर्माणपछि अलैंचीको बजार अझ फस्टाउने बताए। शीत भण्डार व्यवस्थापन पक्षले वार्षिक रूपमा ४८ लाख मुनाफा गर्ने अनुमान गरिएको छ।

कृषि क्षेत्रको लागि ठूलो लगानीमा थालिएको कार्य सकारात्मक रहेकोले स्थानीय तहबाट गर्न सकिने जति सहयोग गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए। सुरक्षा आवास, कार्यालय लगायत शीत भण्डारका लागि हाललाई पाँच रोपनी क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.