|

अछाम : विश्वको सबैभन्दा सानो प्रजातिको गाई भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ। प्रदेश नम्बर ७ को पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने उक्त जातको गाई लोप हुने अवस्थामा पुगेको छ। अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकाले यस गाईलाई स्थानीयवासीले नौमुठ्ठे गाई भन्ने गरेको जिल्ला पशुसेवा कार्यालय अछामका पशु चिकित्सक झनकदत्त ढुंगानाले बताए।

‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिन्छ, केही गाई पोखराको गाईभैंँसी फाराममा पनि पालिएका छन्,’ उनले भने, ‘लोपोन्मुख प्रजाति भएकाले यसको बीर्य संकलन गर्ने उद्देश्यले, पशु प्रजनन महाशाखा खुमलटारमा पनि यो गाईको साढे पालिएको थियो। यो गाईको संख्या ज्यादै कम भएको र कृषकले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ।’ 

साँफेका कालुसिंह कुँवरका अनुसार यस गाईलाई दिइने घाँसपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ। राम्रोसँग स्याहार सुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्नसक्छ। ‘यसको दूध निकै पोषिलो पनि हुन्छ,’ उनले भने, ‘१५० किलो तौल भएको यो गाईले दुईदेखि तीन मानासम्म दूध दिनु भनेको हजार किलो तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै बढी हो।’ अछामका विभिन्न गाउँ तथा बस्तीमा रहेका नौमुठ्ठे गाईको संख्या ४४७ मात्र रहेको तथ्यांक जिल्ला पशुसेवा कार्यालय अछामसँग छ।

यो गाई अछाममा मात्र पाइने भए पनि पछिल्लो समय छोरीको विवाहमा दाइजोस्वरूप दिने चलनले गर्दा अन्य जिल्लामा समेत पाइन थालेको छ। सानो हुने भएकाले पाल्न सहज हुने मानिन्छ। यस प्रजातिका गाईहरूले एक बेतमा करिब २०० लिटरसम्म दूध दिन्छन्। धार्मिक पर्व तथा तीर्थब्रतमा यसको आवश्यक मानिन्छ। यस प्रजातिको गाईको दूध तथा गहुँतलाई औषधिजन्य रूपमा पनि लिइन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.