|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको मुख्य चुनौती स्रोत साधनको उपयोग भएको बताएका छन्। कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले आयोजना गरेकाे ‘कर्णालीमा समावेसी विकास र सामाजिक न्याय’ सम्बन्धी  कार्यक्रममा मुख्यमन्त्री शाहीले अव कर्णाली प्रदेशको सम्भावनाको चर्चा गरेर समय खेर फाल्ने बेला नभएको बताए।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशकाे  विकासका सम्भावनाबारे एक्सन प्लानसहित कार्यान्वयनमा जाने बेला भएको बताए। मुख्यमन्त्री शाहीले भने, ‘मानव विकासका हरेक सूचकांकमा कर्णाली प्रदेश पछाडी रहेको अवस्थामा अब सधैँ अरुलाई दोष दिएर हुँदैन। सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पुरा गरे मात्र प्रदेशको विकास हुन्छ।’ 

प्राकृतिक स्रोत र साधनमा धनी भएर पनि गरिबीको परिचय दिनुपर्ने वाध्यात्मक अवस्था कर्णालीवासीकाे छ मुख्य मन्त्री शाहीकाे भनाई छ। उनले कर्णाली सरकारले विज्ञहरूलाई प्रदेशको सम्पत्तिका रुपमा लिइरहेकोले सरकारलाई ठोस योजना र रोडम्याप दिनको लागि आग्रह गरे। कुनै पनि विकासलाई फेसनका रुपमा नलिई उत्पादनमा कति प्रभाव राख्छ त्यही अनुसार विकास र पूर्वाधार निर्माणमा प्राथमिकता दिने सरकारको तयारी रहेको पनि मुख्यमन्त्री शाहीले जानकारी दिए।

अव आउने आर्थिक वर्षमा केन्द्रले दिने बजेट १४ अर्बाैको हुने तर त्यो अपुग हुने भएकाले कर्णालीलाई खर्बौको बजेट आवश्यक रहेको शाहीले बताए। कर्णालीलाई बजेट र पूर्वाधार विकासका लागि केन्द्र सरकारले विशेष प्राथमिकता दिनुपर्ने पनि शाहीको भनाई छ। ‘विशेष रुपमा बजेटको व्यवस्था केन्द्रले नगर्ने हो भने विशेष अधिकार दिनुपर्छ। लगानी कर्ताहरू प्रदेश सरकारले जति पनि जुटाउन सकिन्छ। तर केन्द्रले विशेष अधिकार दिनुपर्छ’ मुख्यमन्त्री शाहीले भने।

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले आवश्यकताको पहिचान गरी प्रदेश योजना बनउनुपर्ने बताए। कर्णालीमा जनसंख्याको आधारमा नभई भूगोलको आधारमा बजेट विनियोजन गरिनुपर्ने माग गरे। ‘तराईमा एक करोड बजेटले एकदश किलोमिटर सडक कालो पत्रे हुन्छ भने कर्णालीमा त्यही बजेटले एक किलोमिटर सडक कालो पत्रे हुँदैन। त्यही भएर बजेट समानुपातिक रुपमा भूगोलको आधारमा विनियाेजना गर्नुपर्छ।’ शाहीले भने।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकारकर्मी गौरी प्रधानले यस अघि कर्णालीको दोहन र शोषण भएको भन्दै अव कर्णालीमा भएका स्रोत साधनको उच्चतम प्रयोग गरेर विकास गर्नुपर्ने बताए। यसैबीच मुख्यमन्त्री शाही शनिवार विहान सुर्खेतको घण्टाघर चोकमा भएको सरसफाई कार्यक्रममा सहभागी भएका थिए। कर्णाली प्रदेश सरकारले प्रत्येक महिनाको एकगते र १५ गतेलाई श्रम दिनको रुपमा मनाउने निर्णय गरे अनुसार सरसफाई कार्यक्रममा सहभागी भएका हुन्।

श्रमको सम्मान गर्ने बानी वसाल्नका लागि श्रम दिनका रुपमा प्रत्येक महिनाको  एक गते र १५ गतेलाई मनाउने निर्णय गरिएको शाहीले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.